मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १५ बुधबार ०८:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

४८ हजारभन्दा बढीले पाए डेढ खर्ब पुनर्कर्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १५ बुधबार ०८:५९:००

कोभिडसम्बन्धी नीतिगत सहुलियतलाई निरन्तरता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण गत आर्थिक वर्षको अन्त्यदेखि दिइएको नीतिगत सहुलियतहरूलाई निरन्तरता दिने जानकारी दिएका छन् । राष्ट्र बैंकले भर्चुअल रूपमा आयोजना गरेको बैंकको ६६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । 

गभर्नर अधिकारीले भने, ‘कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैरपरम्परागत, लचिलो एवं सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गरिनेछ ।’ कोभिड–१९ को संक्रमणबीच राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको अधिकारीले बताएका छन् । 

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेसा, व्यवसायको पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था गरेको थियो । पुनर्कर्जाको ७० प्रतिशत रकम साना ऋणीहरूलाई प्रदान गर्ने र दश मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरूलाई विशेष पुनर्कर्जा उपलब्ध हुने व्यवस्थासमेत गरिएको छ । हालसम्ममा कुल १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको छ ।

एकमुष्ट प्रदान गरिने पुनर्कर्जा क, ख र ग वर्गका संस्थालाई दुईपटक गरी कुल ९२ अर्ब ३८ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको हो । एकमुष्टतर्फ प्रवाह भएको पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले छानेका ३५ हजार ५ सय ५४, लघु, घरेलु तथा साना उद्यमलाई गएको छ ।  त्यस्तै, २ हजार ३३ वटा विशेष पुनर्कर्जा र १० हजार ९ सयभन्दा बढीले र साधारण पुनर्कर्जा पाएका छन् । 

यसरी प्रवाह भएको पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाबाट कम्तीमा पाँच ऋणीलाई समेट्नुपर्ने व्यवस्थाअनुसार कुल ५ सय १९ भन्दा बढी स्थानीय तहका बैंक तथा वित्तीय संस्थाका ऋणीसम्म पुगेको छ । ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिने पुनर्कर्जा २८ वटा लघुवित्त वित्तीय संस्थामार्फत लगानी भएको छ । कुल १० अर्ब २३ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको हो । ग्राहक ऋणीअनुसार यस बैंकबाट प्रदान गरिने २० करोड रुपैयाँसम्मको पुनर्कर्जा भने फागुन मसान्तसम्म २ सय ८१ ऋणीले प्राप्त गर्ने गरी ३९ अर्ब ५६ करोड रुपैयाँबराबरको पुनर्कर्जा स्वीकृत भएको छ ।  

पुनर्कर्जाको तुलनामा व्यावसायिक निरन्तरता कर्जामा भने व्यवसायीहरूको चासो कम देखिएको छ । फागुन मसान्तसम्म व्यावसायिक निरन्तरता कर्जाबमोजिम ५ वटा वाणिज्य बैंकमार्फत २० ऋणीलाई २० करोड ८७ लाख रुपैयाँ कर्जा प्रदान भएको छ ।