सार्कसम्बद्ध पाँच मुलुकसँग चीनको भिडियो बैठक, नेपाललाई थप नौ करोडबराबरको सहायता घोषणा

मंगलबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

चीनले नेपाललाई कोभिड– १९ विरुद्धको लडाइँका लागि करिब नौ करोड २० लाख रुपैयाँ (५० लाख चिनियाँ मुद्रा)बराबरको सहायता दिने घोषणा गरेको छ । दक्षिण एसियाली पाँच मुलुक नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका परराष्ट्रमन्त्रीहरूसँग चिनियाँ परराष्ट्रमन्त्रीले मंगलबार गरेको भिडियो कन्फ्रेन्स बैठकका क्रममा यो घोषणा भएको हो । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपालका लागि यो घोषणा गरेका हुन् । 

चिनियाँ परराष्ट्रमन्त्री यीले गत वर्ष नेपाल, पाकिस्तान र अफगानिस्तानका परराष्ट्रमन्त्रीहरूसँग भिडियो बैठक आयोजना गरेका थिए । त्यसक्रममा उनले कोभिड– १९सँग सामना गर्ने उपायबारे जानकारी दिएका थिए । यसपटक पनि कोभिड– १९ को दोस्रो लहरले पछिल्ला दिनमा भारतको जनजीवन नराम्ररी प्रभावित पारेपछि चीनले भारतवरिपरिका देशसँग सम्बन्ध विस्तार गरिरहेको छ । दक्षिण एसियाली भुटान, भारत, माल्दिभ्सबाहेकसँग चीनले छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । भुटान र माल्दिभ्स भारतसँग अत्यन्तै नजिक छन् भने सीमा विवाद तथा वेलावेलामा सीमामा हुने सैनिकहरूबीचको तनावका कारण चीनसँग भारतको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ । 

चीनले कोभिडविरुद्ध खोपका लागि यसअघि आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । चिनियाँ मन्त्री यीले नेपाललाई चीनले थप नौ करोड २० लाख रुपैयाँबराबरको खोप वा नेपालले मागेको सहायता उपलब्ध गराउने वचनबद्धता दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार