दुई–तीन सातालाई पुग्ने अक्सिजन भण्डारण र सीधै बिरामीको बेडसम्म वितरण गर्न सकिने प्लान्ट वीर, पाटन, पोखरा र धरानजस्ता ठूला अस्पतालमा बिग्रिएको एक वर्ष, सिलिन्डर प्रयोग गर्दा दिनमा तीनपटकसम्म फेर्नुपर्छ, अभाव हुने भन्दै तत्काल कम्तीमा ३० हजार सिलिन्डर आयात गर्न सरकारलाई उद्योगीको सुझाब
......
महामारीविरुद्ध सारा विश्वले संघर्ष गरेको यो एक वर्षमा नेपाल सरकारले न बिग्रिएका अक्सिजन प्लान्ट बनाएको छ, न पर्याप्त सिलिन्डरको जोहो गरेको छ । अक्सिजन उत्पादनमा आत्मनिर्भर भए पनि अस्पताल–अस्पताल पुर्याउन सिलिन्डर अभाव हुने देखिएको छ । उद्यमीहरूले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न सुझाब दिएका छन्, तर नियमित प्रक्रियाबाट आयात गर्दा यसका लागि करिब दुई महिना लाग्ने देखिएको छ ।
नेपालमा पूर्व झापादेखि पश्चिम नेपालगन्जसम्म अक्सिजन उद्योग छन् । ती उद्योगले नेपाललाई आवश्यक अक्सिजन आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् । तर, अक्सिजन होइन, सिलिन्डर अभाव हुन सक्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघको भनाइ छ । खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले अधिकांश सिलिन्डर बाटोमै हुन्छन्, बिरामीको सेवामा थोरै मात्र सिलिन्डर लगाउन सकिने उद्योगीहरूको भनाइ छ । ‘सिलिन्डर अभावले समस्या हुन सक्ने देखेर तत्कालै आयातका लागि सरकारलाई सुझाब दिएका छौँ,’ संघका अध्यक्ष गौरव सारडाले नयाँ पत्रिकासँग भने ।
उद्यमीहरूका अनुसार अहिले अक्सिजन उत्पादन गर्ने पाँच ठूला उद्योगसँग करिब १२ हजार र अन्य १६ उद्योगसँग करिब दुई हजारका दरले अक्सिजन सिलिन्डर छन् । यसरी देशमा करिब ९० हजार सिलिन्डर सञ्चालनमा छन् । तर, यसको निश्चित लेखाजोखा अहिलेसम्म भएको छैन ।
संघले स्वास्थ्य मन्त्रालयलाई तत्काल ३०–४० हजार थान सिलिन्डर आयात गर्न सुझाब दिएको छ । कोभिडको महामारी बढ्दै गएको अवस्थामा अक्सिजनको चरम संकट हुन सक्ने भन्दै उद्योगीले सहज आपूर्तिका लागि सिलिन्डर आयात गर्न सरकारलाई सुझाब दिएका हुन् ।
तरल अक्सिजन खाना पकाउने ग्यासजस्तै बुलेट (ट्यांकर)मा ल्याउने हो, त्यो केमिकलबाट बन्ने हो । यस्तो अक्सिजन एकैपटक ल्याएर अस्पतालको प्लान्टमा खन्याएपछि दुई–तीन सातालाई पुग्छ । प्लान्टबाट बेडसम्म जोडिएको प्रणालीबाट बिरामीलाई अक्सिजन पुग्ने भएकाले यो सेवा विश्वसनीय हुन्छ । तर, देशका प्रमुख अस्पताल वीर, पाटन, पोखरा र धरानमा यस्ता प्लान्ट एक वर्षअघि नै बिग्रिएका हुन्, सरकारले बनाएको छैन । सिलिन्डर भने छिटो–छिटो फेर्नुपर्छ, अब धेरै अस्पतालमा त्यसैको भर गर्नुपर्ने अवस्था छ ।
हाल काठमाडौंमा आठ र काठमाडौंबाहिर १२ गरी २० उद्योग सञ्चालनमा रहेको संघले जनाएको छ । काठमाडौंका उद्योगमा प्रतिदिन आठ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ, देशभरमा भने २० हजार सिलिन्डर प्रतिदिनको क्षमता छ । यो उत्पादनले करिब सात हजार बिरामीलाई २४सै घन्टा अक्सिजन दिन सकिन्छ ।
‘कोभिडले ग्रसित बिरामीलाई दिनमा तीन सिलिन्डरसम्म पनि अक्सिजन आवश्यक पर्न सक्छ, २० हजार सिलिन्डरले सात हजार बिरामीलाई सेवा दिन सकिन्छ,’ एक उद्योगी भन्छन्, ‘तर अक्सिजन सकिनासाथ जोडिहाल्न अर्को सिलिन्डर तयार नहुन सक्छ, बाटोमै हुन सक्छ । अर्को अस्पतालमा हुन सक्छ । त्यसमाथि नियमित अक्सिजन लिएका बिरामीलाई पनि अक्सिजन दिनुपर्ने हुन्छ । पर्याप्त सिलिन्डर भएमा मात्र हरेक अस्पतालमा स्टक राख्न सकिन्छ ।’
अक्सिजन सिलिन्डर आयातका लागि उत्पादकदेखि आपूर्तिकर्तासम्मको सूचीसमेत सरकारलाई उपलब्ध गराइसकेको सारडाले बताए । ‘समस्या अक्सिजन उत्पादनमा होइन, अक्सिजन सिलिन्डरमा हुन सक्छ,’ उनले भने, ‘हामीले स्वास्थ्य मन्त्रालयलाई सिलिन्डरको अभाव रहेको भन्दै आयात गर्न आग्रह गरिसकेका छौँ । मन्त्रालयले गम्भीर कदम चाल्ने आश्वासन दिएको छ ।’
सामान्यतः नेपालमा चीन र भारतबाट अक्सिजन सिलिन्डर आयात हुन्छ । सामान्य प्रक्रिया अपनाएर आयात गर्दा दुई महिनासम्म लाग्ने व्यवसायीहरू बताउँछन् । ‘अक्सिजन आयात गर्दा भारतबाट सजिलो हुन्छ, तर अहिले त्यहाँबाट आयात गर्न समस्या छ,’ एक आयातकर्ताले भने, ‘अहिलेचाहिँ चीनबाट आयात गर्दा सजिलो हुन्छ, तर सामान्य प्रक्रियाबाट आयात गर्दा दुई महिनासम्म लाग्न सक्छ, त्यसैले सरकारले आपत्कालीन रणनीति बनाएर आयात गर्नुपर्छ ।’
शंकर ग्यास उद्योगका सञ्चालक शम्भु भण्डारी पनि अक्सिजनको अभाव नहुने बताउँछन् । उनी त भारतबाट अझै पनि तरल अक्सिजनसमेत आउने विश्वास गर्छन् । ‘भारतले अक्सिजन आयातमा पूर्ण रूमा रोक लगाएको होइन, नियन्त्रण मात्र गरेको हो, त्यसैले केही मात्रामा भारतबाट पनि आउँछ । बाँकी स्वदेशी उद्योगले धान्छौँ,’ उनले भने, ‘अक्सिजन उत्पादन गर्न वातावरणको हावा चाहिने हो, बाँकी बिजुली भए पुग्छ । तर, सिलिन्डर भने कम नहोस् भनेर हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण जेठ–असारमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । उच्च बिन्दुमा पुग्दा दैनिक ११ हजार संक्रमित हुने अनुमान गरेको छ । त्यसवेला सक्रिय संक्रमितको संख्या सात लाख पुग्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम भन्छन्, ‘पुरानो भेरियन्ट कुल संक्रमितमध्ये ८० प्रतिशत सामान्य लक्षण भएका १५ प्रतिशत लक्षण भएका र पाँच प्रतिशत गम्भीर अवस्थामा पुग्ने अनुमान विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको थियो । तर, यो नयाँ भेरियन्ट भएकाले कस्तो अवस्थामा पु¥याउँछ कसैले भन्न सकेको छैन । कतिलाई अक्सिजन दिनुपर्छ भनेर अनुमान गर्न पनि गाह्रो छ,’ उनी भन्छन् ।
तर, संक्रमण जुनसुकै अवस्थामा पुगे पनि अक्सिजन अभाव नहुने डा. गौतमको दाबी छ । ‘अहिले धेरै अक्सिजनको कुरा उठेको छ । नेपालमा चाहिनेजति अक्सिजन देशभित्र उत्पादन हुन्छ, यो विषयमा हामीले उद्योगहरूसँग पर्याप्त छलफल गरिसकेका छौँ,’ उनको भनाइ छ ।
उद्योगीहरूले अक्सिजन सिलिन्डरमा लाग्दै आएको भन्सारदर घटाउन, अन्तःशुल्क हटाउन तथा मूल्य अभिवृृद्धि हटाउन माग गरेका छन् । हाल अक्सिजन ग्यासको सिलिन्डरमा १५ प्रतिशत भन्सार महसुल, पाँच प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको संघले जनाएको छ । संघले सिलिन्डरमा भन्सार महसुललाई एक प्रतिशतमा झार्न तथा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर नलगाउन माग गरेको अध्यक्ष सारडाले बताए । ‘हामी तीन दशकभन्दा लामो समयदेखि यस उद्योगमा छौँ । तर, सरकारले हालसम्म हामीलाई देखेन, हामीलाई सुनेन,’ उनले भने, ‘यस उद्योगलाई अत्यावश्यक उद्योगका रूपमा व्यवहार गरिनुपर्छ भनेका छौँ ।’
संघले घर वा उद्योगमा अक्सिजन सिलिन्डरको अनावश्यक स्टक नराख्न अपिल गरेको छ । गम्भीर बिरामीलाई अक्सिजन उपलब्ध गराउन सिलिन्डरको अभाव हुन सक्ने भन्दै संघले स्टक नराख्न आग्रह गरेको हो । ‘नेपालमा अभाव हुनेबित्तिकै स्टक राख्ने प्रवृत्ति छ,’ एक उद्योगीले भने, ‘चामल–दाल स्टक राखेजसरी अक्सिजन स्टक राख्न भएन, सिलिन्डरलाई चलायमान बनाउनुपर्छ ।’
अक्सिजन ग्यास गम्भीर बिरामीका लागि मात्रै नभई औद्योगिक उत्पादनमा समेत खपत हुन्छ । स्टिल, सिमेन्ट, हाइड्रो र वेल्डिङलगायतका उद्योगमा अक्सिजनको प्रयोग हुन्छ । कोभिड महामारीको जोखिम बढ्दै गएको अवस्थामा अक्सिजन अभावले संकट निम्तिन सक्ने भन्दै तत्काललाई अक्सिजनको औद्योगिक खपत बन्द गर्नुपर्ने वितरकहरूले बताएका छन् । ‘अहिले पनि उद्योग तथा कलकारखानामा अक्सिजन आपूर्ति भइरहेको छ,’ एक वितरकले भने, ‘मान्छेको जीवन बचाउन अक्सिजन सिलिन्डर जगेर्ना गरिराख्नुपर्छ, त्यसैले अहिलेलाई अक्सिजनको औद्योगिक खपत रोक्नु वा कम गर्नुपर्छ ।’
......
सिलिन्डर पर्याप्त भए दैनिक ३० हजार बिरामीलाई अक्सिजन दिन सकिन्छ : नारायणदत्त तिमल्सिना, महासचिव, नेपाल अक्सिजन उत्पादक संघ
नेपालमा अक्सिजन कति उत्पादन हुन्छ ? कति उद्योग छन् ?
देशभर करिब २० वटा अक्सिजन उद्योग छन् । काठमाडौं उपत्यकामै आठवटा उद्योग चालू अवस्थामा छन् । तीनवटा बन्द छन् । कतिपय उद्योगमा दुईवटा प्लान्ट पनि छन् ।
कोरोना संक्रमितलाई अक्सिजन अत्यावश्यक छ । महामारी सुरु भएको झन्डै डेढ वर्ष हुँदै छ । सरकारले उद्योगीहरूसँग कत्तिको समन्वय गरिरहेको छ ?
महामारी बढ्न थालेपछि मात्रै मानिसले अक्सिजन उद्योगका विषयमा चासो दिएका हुन् । यसअघि सरकार, मिडिया, नागरिक समाज कसैले पनि अक्सिजनका विषयमा चासो देखाएका थिएनन् । अघिल्लोपटक लकडाउन भएकै एक वर्षभन्दा बढी भइसक्यो । तर, सरकारले त्यसबीचमा कहिल्यै पनि मुलुकमा अक्सिजन प्लान्ट पनि छन्, जनताको स्वास्थ्यका लागि ती अत्यावश्यक छन् भनेर चासो राखेन । दिल्लीमा अक्सिजन नपाएर ठूलो संख्यामा बिरामीको मृत्यु हुन थालेको समाचार आएपछि मात्रै सरकारले अक्सिजनबारे चासो देखाएको हो । हालै स्वास्थ्य मन्त्रालयका सचिवज्यूले आफ्नो कार्यालयमा बोलाएर अक्सिजनका विषयमा चासो राख्नुभयो ।
अघिल्लोपटकको लकडाउनमा अक्सिजन उद्योगहरूले पास माग्दासमेत नपाउने अवस्था थियो । हाम्रा कर्मचारी थुनिने गरेका थिए । सरकारले फ्रन्टलाइन कर्मचारीलाई सबैभन्दा पहिला खोप दिने भन्यो । तर, अक्सिजन उद्योगमा काम गर्ने कर्मचारीलाई फ्रन्टलाइनमा कार्यरत कहिल्यै मानिएन । यस क्षेत्रमा काम गर्नेहरूलाई सुरक्षा दिनुपर्छ भनेर कहिल्यै सोचिएन । अक्सिजन उद्योगमा काम गर्ने हामीहरूले अहिलेसम्म पनि खोप लगाउन पाएका छैनौँ । जनतालाई कसरी बचाउन सकिन्छ भनेर भनेर हामीले २४सै घन्टा प्लान्ट चलाएर काम गरिरहेका छौँ । तर, राज्यले कहिल्यै पनि अक्सिजन उद्योगलाई देखेन ।
संक्रमणले भयावह रूप लिँदै छ, तर हाम्रा अस्पतालहरूमा भएका धेरै अक्सिजन प्लान्ट अहिले बन्द छन् । यस्तो अवस्थामा पनि सरकारले उद्योगीसँग समन्वय गरेन ?
कहिल्यै गरेन । अहिले आएर बल्ल स्वास्थ्य मन्त्रालयमा जान पाइयो । हामीले उद्योगहरूलाई राज्यले बिजुलीमा अनुदान देओस्, डिमान्ड चार्ज छुट गरोस् भनेका छौँ । बाहिरबाट सिलिन्डर आयात गर्दा छुट दिइयोस् भनेका छौँ । मेडिकल क्षेत्रका अन्य व्यवसायलाई आयकर र भ्याटमा छुट र अनुदान सहयोग दिइएको छ । त्यस्तै, ऋण अनुदान, कामदारको सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा पनि सहयोग दिइएको छ । अक्सिजन उद्योग मेडिकल लाइनमा नपर्नेजस्तो लागेर हो कि किन हो सरकारबाट हामीले कुनै सहयोग पाएका छैनौँ ।
भारतमा अक्सिजनको ठूलो अभाव भइरहेको छ । हाम्रोमा पनि त्यस्तै अवस्था होला कि भन्ने चिन्ता छ । तपाईंलाई कस्तो लाग्छ ?
नेपाल अक्सिजनमा आत्मनिर्भर छ । नेपालमा अक्सिजनको बजार अभाव भएर औद्योगिक घरानाहरूले समेत अक्सिजन प्लान्ट बन्द गरे । तर, बजार हुँदो हो त ती उद्योग बन्द हुने थिएनन् । अहिले महामारी आएका कारण मात्रै माग उच्च भएको हो । सरकारले भारतबाट आउने लिक्विड अक्सिजन बन्द गर्ने हो भने नेपाली उद्योगहरूले पर्याप्त मात्रामा अक्सिजन उत्पादन गर्न सक्छन् । त्यसो हुँदा सरकारले लिक्विड अक्सिजन आयात बन्द गरी स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्छ । सरकारले सिलिन्डर आयातमा भन्सार छुट दिने भन्ने कुरा सुन्नमा आएको छ ।
नेपाली उद्योगको क्षमता कति छ ?
हाम्रो सगरमाथा अक्सिजन नेपाल प्रालिको क्षमता दुई सय ५० क्युबिक मिटर प्रतिघन्टा हो । अहिले हामीले २४सै घन्टा उद्योग चलाइरहेका छौँ । यसरी हामी सानो–ठूलो औसत मिलाएर दैनिक आठ सयदेखि साढे ८ सय सिलिन्डर उत्पादन गर्छौँ ।
काठमाडौं उपत्यकाका आठवटा उद्योगले दैनिक ६ देखि सात हजार सिलिन्डर उत्पादन गर्छन् । मुलुकभरका सबै उद्योगको क्षमताको तथ्यांक मसँग पनि छैन । तर, औसतमा मुलुकभर २० वटा उद्योग रहेछन् भने दैनिक ६ सय सिलिन्डर उत्पादन गरे भने पनि १० देखि १२ हजार सिलिन्डर अक्सिजन प्रतिदिन उत्पादन हुन्छ ।
तर, सबै उद्योग पूर्ण क्षमतामा नचलेका हुन सक्छन् । खासगरी उपत्यकाबाहिरका उद्योगहरू पूर्ण क्षमतामा चलेका छैनन् होला । त्यसो हुँदा हाल उत्पादन भइरहेको सिलिन्डर संख्या फरक पर्न सक्छ ।
तर, पछिल्लो समय भारतमा बढी अक्सिजन खपत भइरहेको र अभावसमेत भइरहेकाले मानिसले अक्सिजन भण्डार गरेर राख्ने गरेको पनि देखिन्छ ।
नेपालमा भारतबाट पनि अक्सिजन आयात हुँदोरहेछ । भारतबाट हुने आयात र हाम्रो उत्पादनबीचको सन्तुलन कस्तो छ ?
भारतबाट ट्यांकमा तरल (लिक्विड) अक्सिजन ल्याउने हो । त्यसरी लिक्विड ल्याएर खासगरी अस्पतालहरूले त्यसलाई अक्सिजनको फर्ममा लैजान्छन् । भारतबाट महिनाको दुईदेखि तीन ट्यांकर (प्रतिट्यांकर २० हजार लिटर) यस्तो अक्सिजन आउने गरेको मेरो जानकारीमा छ । त्यसरी भारतबाट लिक्विड आयात गर्न दिइरहनु भनेको नेपालका उद्योगहरूलाई बन्द गर भन्नु हो । वारिका अस्पताल र पारिका अक्सिजन मिलाएर नेपाली उद्योगलाई विस्थापन गर्न खोजिएको हो । नेपाली उद्योगलाई जोगाउने हो भने भारतबाट लिक्विड अक्सिजन आयात बन्द हुुनुपर्छ ।
हामीले प्रक्षेपण गरेको अवस्थामा नेपालको फुल क्यापासिटीले कतिजना संक्रमितलाई अक्सिजन दिन मिल्छ ?
सात क्युबिक लिटरको एउटा सिलिन्डरले बिरामीको अवस्था हेरी दुईदेखि तीन दिनसम्म पुग्छ । त्यसो हुँदा नेपाली उद्योगको उत्पादन क्षमता उपयोग हुँदा एकै दिन ३० हजार बिरामीलाई सेवा दिन सकिन्छ ।
तर, सरकारसँग अहिले बिरामी कति छन्, र तीव्र रूपमा बढेको खण्डमा कति बढ्न सक्छ भन्ने तथ्यांक हुनुपर्छ । त्यसअनुसार कति सिलिन्डर चाहिने हो, त्यसअनुसारको योजना सरकारले बनाउनुपर्यो ।
सबै सिलिन्डर अस्पताल वा उद्योगमा नहुन सक्छन् । खाली सिलिन्डर गाडीमा हुन्छन्, भर्न जानुप¥यो, त्यसैले बजारमा भएका आधा सिलिन्डर मात्र सेवामा प्रयोग हुन्छन्, त्यो सन्तुलन कसरी मिल्छ ?
हामीसँग भएकामध्ये २० प्रतिशत मात्रै गोदाममा हुन्छन् । बाँकी सिलिन्डरहरू अस्पताल, डिपो, डिलरमा वा उत्पादनमा रहन्छन् । त्यसो हुँदाज जति छिटो सिलिन्डर उद्योगमा पुगे र रिफिलिङ गर्न पायो, त्यति नै धेरै आपूर्ति गर्न सकिने अवस्था हुन्छ । त्यसो हुँदा सबैले अक्सिजन प्रयोग गरिसकेपछि सिलिन्डर घरमा राख्ने होइन कि तत्कालै उद्योगलाई उपलब्ध गराउन हुन म आग्रह गर्न चाहन्छु । समयमा रिफिलिङ गर्न पाइएन भने एकैपटक ३० हजार बिरामीलाई पुग्ने गरी अक्सिजन पु¥याउन सकिन्न ।
नेपाली उद्योगसँग कतिजति सिलिन्डर होलान् ?
हाम्रो उद्योगसँग १४ हजार सिलिन्डर थिए । अन्य उद्योगसँग पनि यस्तै–यस्तै संख्यामा सिलिन्डर हुन सक्छन् । कोहीसँग थोरै होला, कसैसँग धेरै होला । औसतमा एउटा उद्योगसँग १० हजार सिलिन्डर हुँदा पनि नेपालमा दुई लाख सिलिन्डर हुन सक्छन् । थोरैमा पनि एक लाख सिलिन्डर नेपाली उद्योगसँग छ ।
अहिले सरकारले २५ हजार थान नयाँ सिलिन्डर ल्याउन दिने भनेको छ ? यसले के फरक पार्छ ?
स्वास्थ्यसचिवज्यूले भन्सार छुट गरिदिन्छौँ, भ्याट छुटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिदिन्छौँ । एक प्रतिशत भन्सारमा थप सिलिन्डर आयात गर्नुस् भन्नुभएको छ । त्यसका लागि सस्तो ऋणका लागि राष्ट्र बैंकमा समेत पत्राचार गरिदिन्छौँ भनेर सचिवज्यूले भन्नुभएको छ ।
तर, नयाँ सिलिन्डर ल्याउन समय लाग्छ । कम्तीमा पनि डेढ महिना लाग्छ । त्यसो हुँदा सरकारले सहजीकरण गरेर छिटोभन्दा छिटो नयाँ सिलिन्डर ल्याउने व्यवस्था गर्नुपर्छ ।
सरकारले अबको केही महिनामै तीन लाख संक्रमित पुग्ने प्रक्षेपण गरेको छ । त्यस्तो अवस्था आयो भने बिरामीलाई पु¥याउन सकिन्छ त ?
त्यसो गर्न गाह्रो हुन सक्छ । अक्सिजन प्लान्टहरू मर्मत–सम्भार पनि गर्नुपर्छ । त्यसो हुँदा २४सै घन्टा एउटै गतिमा उत्पादन हुँदैन । एकैपटक धेरै बिरामी हुँदा सबैलाई अक्सिजन पुर्याउन गाह्रो हुन सक्छ ।
सरकारले औद्योगिक क्षेत्रमा प्रयोग हुने अक्सिजनलाई बन्द गर्नुपर्छ । अहिले महामारीको अवस्थामा सबैभन्दा पहिला बिरामीलाई अक्सिजन उपलब्ध गराउनुपर्छ भनेर औद्योगिक खपतलाई बन्द गरियो भने अक्सिजनको अभाव होला कि भन्नुपर्दैन । किनभने उद्योगमा दिनको १५ सयदेखि दुई हजार सिलिन्डर खपत हुन सक्छ । त्यसलाई पनि बिरामीकहाँ ल्याउने व्यवस्था गर्नुपर्छ ।
भारतको तस्बिर देखेर नेपाली जनता र सरकार पनि आत्तिएका छन्, नेपालको अवस्थाबारे के भन्न सकिन्छ ?
त्यस्तो अवस्था नेपालमा नआउला भन्न सकिन्न । हाम्रोमा सिलिन्डरको संख्या थोरै नै छ । राज्यले अनावश्यक क्षेत्रमा पनि लगानी गरिरहेको छ । यो अत्यावश्यक सामग्री हो । सरकारले सरकारी अस्पतालमा मात्रै सिलिन्डर किनेर दियो भने पनि हामी रिफिलिङ गरिदिन्छौँ । सरकारले कम्पनीहरूलाई सिलिन्डर किनेर दिनुपरेन, अस्पताललाई किनिदिए पुग्छ । सरकारले उद्योग खोल्ने होइन, निजी क्षेत्रले त्यो गर्छ । तर, अस्पतालहरूमा पर्याप्त सिलिन्डर हुने व्यवस्था सरकारले गर्नुपर्छ । त्यति मात्रै होइन, भएको सिलिन्डरलाई मुभमेन्ट गराइरहने दायित्व पनि सरकारको हो । अक्सिजन उद्योग अहिले पनि घाटामा छन् । सरकारले यति काम गरिदियो भने उद्योगहरूलाई पनि सहयोग हुन्छ ।
......
औषधि र अक्सिजनको सहज आपूर्तिका लागि एक साता धैर्य गर्न भारतको आग्रह
पर्शुराम काफ्ले/नयाँ पत्रिका
नेपालमा लिक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन आग्रह गर्दै सरकारले शुक्रबार भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक साता धैर्य गर्न अनुरोध गरेको छ ।
नेपालमा भारतको झारखण्डस्थित लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट मासिक एक सय ५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो । शंकर अक्सिजन ग्यास प्रालिले आयात गर्ने गरेको थियो । तर, पछिल्लो समय आन्तरिक खपतलाई मध्यनजर गर्दै केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको जानकारी भारतीय उद्योगले दिएको थियो । अहिले लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएको छ ।
नेपालमा संक्रमण तीव्र गतिमा बढ्न थालेपछि हाल मौज्दात रहेको अक्सिजन र सिलिन्डरले नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासले अक्सिजनका लागि पहल गरिरहेका छन् । लिक्विड अक्सिजन, सिलिन्डर, रेमडिसिबिरलगायतका औषधिको आपूर्तिमा सहजीकरण गरिदिन सरकारले कूटनीतिक च्यानलमार्फत भारतलाई औपचारिक आग्रह गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि यसबारे भारतीय समकक्षी डा. हर्षवर्धनसँग कुराकानी गरेका छन् ।
‘हामीले लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर तथा अत्यावश्यक औषधिलगायतको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन औपचारिक रूपमा कूटनीतिक नोटमार्फत शुक्रबार आग्रह गरेका छौँ । अहिले लिक्विड अक्सिजन र सिलिन्डरको आपूर्ति हाम्रो उच्च प्राथमिकतामा छ,’ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग भने, ‘हाम्रो आग्रहलाई भारत सरकारले सकारात्मक रूपमा लिएको पाएका छौँ । अक्सिजनको आपूर्ति चाँडै हुने वातावरण बन्नेमा हामी आशावादी छौँ ।’
स्रोतका अनुसार भारतले एक सातामा नेपालका लागि अक्सिजन र सिलिन्डर आपूर्तिका लागि कानुनी बाटो खोलिदिने आश्वासन दिएको छ । दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग समन्वय गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमितलाई आवश्यक पर्ने रेमडिसिबिर औषधि बंगलादेशबाट पनि ल्याउने तयारी भएको छ । तर, अक्सिजनका लागि भारतबाहेकको विकल्प नभएको उनको भनाइ छ । नेपालमा भएको मौज्दातले तत्कालको आवश्यकता पूरा हुने जानकारी स्वास्थ्य मन्त्रालयले परराष्ट्रलाई दिएको छ ।
‘हामीले निर्यातको प्रतिबन्ध हटाउन भारतसँग आग्रह गरेका छौँ, त्यो हट्नासाथ निजी क्षेत्रले आपूर्ति गर्ने हो, सरकारले होइन,’ परराष्ट्रका ती अधिकारीले भने । दिल्लीबाट नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन प्रमुख अनुराग श्रीवास्तव, स्वास्थ्य तथा विज्ञान प्रविधि मन्त्रालयका उच्च अधिकारीसँग कुराकानी गरेका छन् ।
नेपाली अधिकारीले झारखण्डको जमसेदपुरस्थित लिन्ड इन्डिया नामको अक्सिजन फ्याक्ट्रीका पदाधिकारीसँग पनि यसबारे कुराकानी गरेका थिए । त्यहाँका डिस्ट्रिक मजिस्ट्रेटलगायतका पदाधिकारीसँग पनि नेपाली दूतावासमार्फत छलफल भएको थियो । ‘नेपालमा अक्सिजन तथा सिलिन्डर पठाइदिन हामीलाई समस्या छैन, केन्द्र सरकारको निर्देशन आउनासाथ हामी आपूर्तिका लागि खुला गरिदिन्छौँ भन्ने जानकारी स्थानीय प्रशासनबाट आएको छ । हामी केन्द्र सरकारसँग निरन्तर सम्पर्कमा छौँ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने ।
खोप आउन अझै केही समय लाग्ने
नेपालले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज कोभिसिल्ड खोपको भुक्तानी गरिसकेको छ । तर, १० लाख डोज मात्रै आपूर्ति भएको छ । बाँकी १० लाख डोज खोप अझै दिएको छैन ।
नेपालले खोप आपूर्तिका लागि निरन्तर ताकेता गरिरहेको छ । अमेरिकाले खोप बनाउने प्रिकसर केमिकलको निर्यातमा प्रतिबन्ध लगाएका कारण खोप तयार हुन नसकेको जानकारी सेरम इन्स्टिच्युटका पदाधिकारीले नेपाली दूतावासलाई दिएका थिए । अहिले भने अमेरिकाले प्रतिबन्ध हटाइसकेको छ । केमिकल भारततर्फ प्रस्थान भइसकेका कारण चाँडै उत्पादन हुने र पहिलो चरणमा नेपाललाई उपलब्ध गराउने आश्वासन सेरमले दिएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने, ‘तर, अमेरिकाबाट शनिबार मात्रै भारतका लागि प्रस्थान गरेको जानकारी आएको छ । त्यो आइसकेपछि उत्पादन हुन्छ र हामीलाई तत्कालै दिन्छौँ भन्ने पछिल्लो वचनबद्धता आएको छ । तोकिएको समयभन्दा ढिलाइ भए पनि खोप आउँछ, हामी एकदमै विश्वस्त छौँ ।’
खोप आपूर्तिका लागि सहजीकरण गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी डा. एस जयशंकरसँग २७ चैतमा टेलिफोनमा कुराकानी गरेका थिए । जानकार अधिकारीहरूका अनुसार भारतीय समकक्षीसँगको टेलिफोन संवादमा मन्त्री ज्ञवालीले नेपालले अन्य देशहरूबाट उपहारमा आएको खोप ग्रहण गरिरहेको, तर भारतीय कम्पनीबाट नेपालले खोप खरिद गर्न चाहेको बताएका थिए । नेपालको आवश्यकता पूरा गर्न भारत सरकारले आवश्यक सहजीकरण गरिदिने आश्वासन डा. जयशंकरले दिएका थिए ।
नेपाललाई भारत सरकारले १० लाख डोज खोप उपहारमा दिएको छ । त्यस्तै, नेपाली सेनाका लागि भारतीय सेनाले एक लाख डोज खोप छुट्टै दिएको थियो ।