मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १२ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख १२ आइतबार o९:१८:oo
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

भूकम्पपछिका ६ वर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख १२ आइतबार o९:१८:oo

ठ्याक्कै ६ वर्षअघि १२ वैशाख ०७२ मा हाम्रो समयलाई हल्लाउने भूकम्पले नेपालमा त्राहिमाम मच्चाएको थियो । नौ हजारको मृत्यु, २२ हजारभन्दा बढी घाइते । लाखौँका घरवास ध्वस्त । गोर्खाको बारपाक गाउँलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको भूकम्प वि.सं. १९९० पछि नेपालमा आएको सबैभन्दा विध्वंसकारी भूकम्प थियो । भूकम्पले जमिन मात्रै हल्लाएन, यसले सम्पूर्ण नेपालीको मनै हल्लाइदियो । भत्केका घरहरू, ध्वस्त विद्यालय भवनहरू, स्वास्थ्य केन्द्रदेखि अस्पताल हुँदै प्रहरी चौकी वा पालिका भवन भूकम्पले कतै पनि अछुतो राखेन । समग्रमा त्यसले नेपालमा ठूलो विपत् निम्त्याएको थियो । ६ वर्षपछि त्यस दिनलाई फर्केर हेर्दा नेपालीले लामो सास फेरेर सन्तुष्टि लिनुपर्ने अवस्था आएको मान्नुपर्छ । खासगरी पुनर्निर्माणका क्षेत्रमा भएका उपलब्धिका दृष्टिले । 

यावत् कमजोरीका बाबजुद एउटा गरिब देशले यस क्षेत्रमा जे–जति हासिल गरेको छ, त्यो प्रशंसायोग्य नै छ । यसका लागि यसमा संलग्न सबैलाई धन्यवाद दिनैपर्छ ।

भूकम्प आएर तहसनहस भएको र धुलो टकटकाउँदै उभिइरहेको नेपाल तत्कालै राजनीतिक संघर्ष र नाकाबन्दीको सिकार भएको थियो । संविधान जारी गर्ने समयमा भएका असहमतिबाट उब्जेका द्वन्द्वले नेपालले पर्याप्त रूपमा पुनस्र्थापना र पुनर्निर्माणका क्षेत्रमा काम गर्न सकेको थिएन । त्यसमाथि राजनीतिक दलहरूले प्राधिकरणको गठन र त्यसको मुख्य कार्यकारी चयनका सम्बन्धमा देखाएको लोभीपापीजस्तो व्यवहारले थप समस्या निम्तिएको थियो । अन्तर्राष्ट्रिय समुदायले पनि दिएको वचन पालना गर्ने आवश्यकता ठानेनन् । तर, यसबीचमा केही महत्वपूर्ण उपलब्धि नेपालले हासिल गरेको छ । पहिलो त नेपालमा आरम्भका केही घन्टा या दिन अस्तव्यस्त रहेको भए पनि उद्धार र पुनर्स्थापनाको काम तुलनात्मक रूपमा व्यवस्थित थियो । कमसेकम नेपालमा भूकम्पका कारण उत्पन्न समस्याले खान नपाउने, दुःखसुख बस्ने वास नपाउने अवस्था कसैले व्यहोर्नु परेन । 

दुःख छिटै बिर्सेर आमनागरिकले आफ्नो भविष्यको खोजी गरेका थिए । कतै पनि भूकम्पकै कारण मानिस विस्थापित भएर झुपडपट्टी बनाउने ठूलो समूह देखा परेन । अनिकाल र ठूलो महमारी फैलिएन । ढिलै आरम्भ भए पनि भूकम्पले भत्केका विद्यालयको पुनर्निर्माणले गति लियो र अधिकांशको काम सम्पन्न भइसकेको छ । स्वस्थ्यचौकी या अस्पताल भवनहरू, कार्यालयहरू पुनर्निर्माणका अन्तिम चरणतिर छन् । राज्यले थोरै मात्र सहयोग गरेको भए पनि भूकम्पले घर गुमाएका अधिकांशले घर आ–आफ्नो छानो व्यवस्थित पारेका छन् । यता काठमाडौंमा केही धरोहरको पुनर्निर्माण सम्पन्न भएको छ । रानीपोखरी, दरबार हाइस्कुल, धरहरा र कतिपय मठमन्दिरको पुनर्निर्माण भएको छ । यसले हामी नेपालीहरू विपत्तिको मिलेर सामना गर्न सक्षम छौँ भन्ने विश्वासको भावना जगाएको छ । 

भूकम्पपछिको पुनर्निर्माणलाई थप व्यवस्थित गराउन सकिन्थ्यो । बस्तीहरूलाई एकीकृत गरेर सुविधा र पहुँचको नजिक ल्याउन सकिन्थ्यो । रोजगारीको सिर्जना गर्न सकिन्थ्यो । तर, सरकारले यसमा उचित ध्यान दिन सकेन । शनिबार मात्रै प्रधानमन्त्रीले धरहराको नवनिर्मित संरचना उद्घाटन गरेर सरकारको प्राथमिकताको एउटा झलक देखाएका छन् । तत्काल मानिसले प्रयोग गर्न नपाउने र निर्माण कार्य चलिरहेको संरचनाको उद्घाटन गर्ने हतारोले दिने सन्देश भनेको उनी यसबाट राजनीतिक फाइदा लिन आतुर छन् भन्ने नै हो । किनभने यति वेला उनको प्राथमिकतामा फेरि पनि कोरोनाबाट निम्तिन सक्ने त्रासदीलाई रोक्नुमा हुनुपर्ने थियो । तर, पनि यावत् कमजोरीका बाबजुद एउटा गरिब देशले यस क्षेत्रमा जे–जति हासिल गरेको छ, त्यो प्रशंसायोग्य नै छ । यसका लागि यसमा संलग्न सबैलाई धन्यवाद दिनैपर्छ ।