१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
चीनको न्यालममा अड्किएका ट्रकहरू
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ बैशाख १२ आइतबार ०९:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनले समझदारी कार्यान्वयन नगर्दा तातोपानी नाका पूर्ण सञ्चालनमा आएन

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ बैशाख १२ आइतबार ०९:०९:००

नेपाल–चीनका सरकारी अधिकारी र व्यापारिक संस्थाहरूबीच भएको समझदारी कार्यान्वयन नहुँदा तातोपानी नाका पूर्ण सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनका विभिन्न व्यापारिक संघसंस्था र दुवैतर्फका सरकारी अधिकारीले दैनिक २० टेलर सामग्री लार्चा भन्सार पठाउने समझदारी गरेका थिए । तर, दुई महिना बितिसक्दा पनि सहमति कार्यान्वयन भएको छैन । चिनियाँ २० टेलरबराबर नेपाली ४० कन्टेनर सामान हुन्छ । भूकम्पअघि तातोपानीबाट दैनिक २ सय कन्टेनरसम्म सामान नेपाल भित्रिन्थे । 

भूकम्पपछि १५ जेठ ०७६ बाट सञ्चालनमा आएको नाकाको व्यापारिक गतिविधिमा प्रगति नहुँदा अहिले सीमाका बजारहरू सुनसान भएका छन् । तिब्बतको न्यालम काउन्टीअन्तर्गत रहेको जाङ्मुपोर्ट (खासा) बाट तातोपानीका लागि सामग्री निर्यातको अन्तिम निर्देशन र सूचना जारी हुने गर्छ । तर, जाङ्मु प्रशासनको एकोहोरो पेल्ने प्रवृत्तिका कारण कतिपय नेपाली व्यापारीले उत्तरी नाकाको व्यापार छोडेर विस्थापित हुनुपरेको छ । भूकम्पपछि उदाएको सिल्क ट्रान्सपोर्ट कम्पनीले हरेक समस्यासँग जुधेर चिनियाँ सामग्री ढुवानी गरिरहेको छ । सिल्क ट्रान्सपोर्टबाहेक अन्य कम्पनी हाललाई विस्थापित भएका छन् ।

कोभिडको समस्या देखाएर चिनियाँ पक्षले नेपाली व्यापारीको सामान न्यालममा रोकिदिने गर्छ । चिनियाँ पक्षको एकतर्फी निर्णयले नेपाली व्यवसायीको लगानी डुब्ने अवस्था आएको एक व्यवसायीले बताए । गर्मी र बर्सातको समयलाई मध्यनजर गरेर चीनका विभिन्न सहरबाट खरिद गरेका सामान न्यालममा रोकिएको दुई महिना बितेको छ । ‘नाका सञ्चालनमा आएपछि उत्साहित भएर चीनबाट सामान खरिद गरेका नेपाली व्यापारी निराश छन्,’ सिल्क ग्रुपका अध्यक्षसमेत रहेका व्यापारी रमेश शेर्पाले भने, ‘अहिले न्यालममा पाँच सय कन्टेनर सामान अलपत्र अवस्थामा रोकिएको छ ।’ 

हाल दैनिक ९ टेलर सामान आयात भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । दैनिक २० देखि ३० टेलर सामान आयात नहुने हो भने हरेक सामग्रीको अवधि गुज्रने र व्यापारीले घाटा व्यहोर्नुबाहेक अरू विकल्प नभएको शेर्पाले सुनाए ।  

तातोपानी नाका पूर्ण सञ्चालनमा नआउँदा सीमावासीले समस्या भोग्नुपरेको यस क्षेत्रका सांसदसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी छ । तर, उनको पहलकदमीले सार्थकता पाएको छैन । ‘नाकाबारे बारम्बार चिनियाँ राजदूत होउ यान्छी र सरकारका विभिन्न तहका अधिकारीसँग कुराकानी गरिरहेको छु,’ सापकोटाले भने, ‘तर, पूर्ण सञ्चालनमा आउन केही समय लाग्छ भन्ने चिनियाँ पक्षको कुरा छ ।’

लगातारको प्राकृतिक विपत्तिले कोदारी राजमार्ग छिन्नभिन्न भएको र त्यसको मर्मत–सम्भार राम्ररी नहुँदा नाका सञ्चालनमा कठिनाइ परेको सभामुखको भनाइ छ । अरनिको राजमार्ग र बाह्रबिसेदेखि लिपिङसम्म कोदारी राजमार्गको स्तरोन्नतिका लागि चिनियाँ अधिकारीसँग बारम्बार कुरा भएको उनले जानकारी दिए । बर्खा नजिकिँदै गएकाले सम्भावित प्राकृतिक विपत्ति रोक्न र नाका सञ्चालनलाई निरन्तरता दिन सरोकारवाला निकायसँग छलफल अघि बढाइसकेको सापकोटा बताउँछन् ।