Skip This
रोल्पामा सक्रिय संक्रमित घरमै, अझै बनाइएन क्वारेन्टिन र आइसाेलेसन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १७:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रोल्पामा सक्रिय संक्रमित घरमै, अझै बनाइएन क्वारेन्टिन र आइसाेलेसन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:४४:oo

कोरोना संक्रमणको दोस्रो लहर सुरु भई देशभर संक्रमित संख्या बढिरहेकाे भए पनि रोल्पामा अहिलेसम्म कुनै सुरक्षा मापदण्ड अपनाइएको छैन । केन्द्र सरकारले जारी गरेको सुरक्षा मापदण्डलाई लागू गर्ने निर्णय गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लास्तरमा नभई स्थानीय तहहरूले आ–आफ्नो हिसाबले आइसाेलेसन बनाउने निर्देशन गरे पनि अहिलेसम्म बनेका छैनन् ।  भारत तथा तेस्रो मुलुकका साथै नेपालकै कोरोना जोखिम क्षेत्रबाट भित्रिने मानिसलाई आवश्यक सुरक्षा मापदण्ड त परै जाओस् सामान्य सोधपुछ तथा ज्वरोसमेत नापिँदैन ।

स्वाब संकलनको सुरसार छैन
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले स्वाब संकलनका लागि कुनै तयारी गरेका छैनन् । जिल्लामा १५ शय्याको एक सरकारी अस्पताल मात्र छ । त्यही पनि अन्य बिरामीले भरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार कोरोना जोखिम रोक्नका लागि आवश्यक गृहकार्य भइरहेको छ । त्यो कहिले पूरा हुन्छ यसै भन्न सकिन्न । ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिने हो,’ प्रजिअ सापकोटाले भने, ‘हामीले आवश्यक निर्देशन जारी गरिसकेका छौँ, अन्य व्यवस्थापनका काम स्थानीय तहले गर्ने हो ।’ 

यसअघि निर्माण गरिएका कुनै पनि क्वारेन्टिन वा आइसाेलेसन अहिले छैनन् । जिल्लामै नमुना भन्दै लिवाङको जलजला क्याम्पसमा बनाइएको आइसाेलेसन गुरुङगाउँको बहुउद्देश्यीय भवनमा सारिए पनि पुनः सञ्चालन हुन सकेन । त्यसक्रममा संकलन गरिएका जोखिम रोकावट सामग्रीहरूको समेत लेखाजोखा छैन । कतिपय सामान गुरुङगाउँको बहुउद्देश्यीय भवनमा सारिएको भनिए पनि ती कस्तो अवस्थामा छन् कसैले वास्ता नगरेको गुरुङगाउँका जनप्रतिनिधि हरिजंग गुरुङ बताउँछन् । 

सरकारले हरेक स्थानीय तहमा १५ बेडको कोभिड अस्पताल बनाउने भने पनि रोल्पाका केही स्थानीय तहले अस्थायी अस्पताल भनेर घोषणा त गरे, तर विभिन्न कारण देखाउँदै प्रयोगमा आउन नसकेको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेल बताउँछन् ।

सक्रिय संक्रमित घरमै
सुनिलस्मृति गाउँपालिका खुंग्रीका एकाघरका दुईजनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरू उपचारका लागि बुटवल गएका वेला स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । तर, ती सक्रिय संक्रमित अहिले घरमै बसिरहेका छन् । संक्रमण फैलिनसक्ने त्रासमा गाउँलेहरू भए पनि उनीहरूलाई डाक्टरको निगरानीमा सुरक्षित स्थानमा राख्नेतर्फ कसैले चासो दिएको छैन । ‘रोल्पामा अहिलेसम्म आइसाेलेसन नभएकाले होम आइसाेलेसनमै बस्न भनिएको छ,’ स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलले भने, ‘कोरोनाको कुनै लक्षण नदेखिएकाले पनि घरमै सुरक्षित बस्न भनिएको हो ।’ रोल्पा छिर्ने मुख्य नाकाका रूपमा मानिने सुलिचौर, होलेरीमा कोभिड चेकजाँच गर्ने भनिए पनि अहिलेसम्म खुलेआम सवारीसाधन सञ्चालनमा छन् ।

कोरोना सतर्कता शून्य रहेको अवस्थामा संक्रमण बढेपछि थेग्न गाह्रो हुने रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्य बताउँछन् । रोल्पा अस्पतालबाहेक अन्य कुनै पनि स्वास्थ्य संस्थामा अक्सिजन छैन । जिल्लामा अहिलेसम्म स्वाब संकलन नगरिएकाले पनि संक्रमित न्यून देखिएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए । रोल्पामा पीसिआर जाँच नहुने भएकाले यसअघि स्वाब संकलन गरी दाङ, नेपालगन्ज वा बुटवल पठाउने गरिन्थ्यो । यसअघि स्थानीय तहहरूले कोरोना व्यवस्थापनका लागि भन्दै करोडौँ खर्चिएका थिए । अनावश्यक खर्च देखाएको भन्दै सर्वत्र आलोचनासमेत गरिएको थियो ।
 

ad
ad