१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:५४:oo
Read Time : > 6 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लोकतन्त्रमाथि प्रश्न 

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:५४:oo

सबैखाले औपनिवेशिकताको अन्त्य गर्दै नयाँ लोकतान्त्रिक विश्व निर्माण गर्नु नै आजको आवश्यकता हो

विश्वमा हाल स्थापित प्रणालीहरूमध्ये अत्यन्तै खर्चिलो, महँगो लोकतन्त्र बहालीका लागि नेपाली जनताले पनि धेरै मूल्य चुकाउनुपरेको छ । १७ हजारको आहूतिको जगमा उठेको दोस्रो जनआन्दोलनबाट आत्तिएका तत्कालीन राजा ज्ञानेन्द्रले ११ वैशाख ०६३ मा संसद् पुनर्स्थापित गरेका थिए । आन्दोलनकारी धेरैले यसलाई धोखा हो भनेका थिए, तर संसद्मार्फत नेपाली राजनीतिको सही मार्ग तय हुँदा आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा छौँ । 

भारतीय स्वतन्त्रता संग्राममा लडेका, वनारसबाट आधुनिक शिक्षा लिएका तत्कालीन युवाको पहलबाट नेपालमा लोकतन्त्रको यात्रा सुरु भएको थियो । उनीहरूले विश्वको अध्ययन गरेपश्चात् नेपालमा राज गरिरहेका राणाको निरंकुशताविरुद्ध संगठित भएर कांग्रेस र कम्युनिस्ट पार्टी बनाए । तत्कालीन जनमुक्ति सेना र नेपाली कांग्रेसको हतियारसहितको युद्धबाट राणा पराजित हुँदा देशमा प्रजातन्त्र स्थापना भयो । यसले नेपाली लोकतन्त्रको आधार स्तम्भ खडा गर्‍यो । त्यसयताको ७० वर्षमा हामीले लोकतन्त्रका अनेकन् रूप देखेका छौँ । लोकतन्त्र नै विश्वको उत्तम राजनीतिक प्रणाली स्वीकार गरेर हामीले निर्दलीय पञ्चायतदेखि बहुदलीय प्रजातन्त्र र हालको गणतन्त्रसम्म अनगिन्ती बलिदानी, संघर्ष, त्याग गरेका छौँ । यस्तो अमूल्य लोकतन्त्रले पनि नेपालजस्तै विश्वभर द्वन्द्वको निरूपण किन गर्न सकेन भन्ने आजको मूल सवाल हो । यसरी सवाल उठाउने वा प्रश्न गर्न पाउने अधिकार नै लोकतन्त्रको सबैभन्दा सबल पक्ष हो ।

प्रश्न १ : अग्रेजी डेमोक्रेसीलाई नै हामीले लोकतन्त्र भनेका छौँ, जहाँ जनताले शासन गर्ने भन्ने अर्थ लगाएका छन्, तर प्रश्न उठ्छ जनता को हो ? अनि ती जनता सार्वभौम छन् ? हिजो दैविक शासक हुँदा रैती थिए, प्रजातन्त्र आएपछि प्रजा भए, आज लोकतन्त्र आएपछि नागरिक भएका छन् भनिन्छ । उनीहरू सार्वभौम जनता कहिले बन्ने ? वाष्प (गोरा, एङ्लो स्याक्सन, प्रोटिस्टेन) हरूले सन् १७७६ मा स्वतन्त्र बनाएको भनिएको राज्य अमेरिकामा हजारौँ वर्ष पहिलेदेखि बसेका नेटिभ अमेरिकनले सन् १९२४ मा मात्र नागरिकको हौसियत पाए । त्यसको ४० वर्षपछि मात्र अमेरिकाका सबै राज्यमा उनीहरूले बालिक मताधिकारको हैसियत पाए । नेपाल भन्ने राज्य बनेपछि पनि लगभग १८२ वर्षपछि मात्र प्रजा हुने मौका पाएका थिए भने हाल नागरिक भएको दाबा गरिँदै छ । 

गोर्खाली साम्राज्य विस्तार भएर नेपाल राज्य निर्माण हुँदा ब्राह्मण र क्षेत्री मात्र जनता थिए । उनीहरूको मात्र शासन थियो । मुलुकी ऐन १९१० ले यही तथ्यलाई उजागर गर्छ भने यहाँका अन्य राष्ट्रियताहरू मतवाली वा अछुत थिए । २००७ सालपछि निरन्तर चलिरहेको आधुनिक नेपाली राज्य अर्थात् राष्ट्र–राज्य निर्माण प्रक्रियाले मुलुकी ऐनको त्यही भावनालाई कायम राखेको छ । यसैको आधारमा यहाँको शासन, राज्य प्रणाली, नियम कानुन बनेका छन् । त्यसैले अमेरिकामा जसरी गोराहरू मात्र जनता वा नागरिक भए, त्यसैगरी वर्तमानको एकल राष्ट्रिय राज्य नेपालमा पनि पहाडी हिन्दू खसआर्य पुरुषहरू मात्र जनता हुन् । फेडरिक एच गेजको निष्कर्ष छ कि पहाडे ब्राह्मण र क्षेत्रीसँग मात्र निम्न सबै पूर्वाधार छन्– (क) आर्थिक स्रोतको नियन्त्रण, (ख) उच्च जातको हैसियत, (ग) नेपाली (पहाडे) संस्कृतिको पहिचान र (घ) उच्च शिक्षा । के लोकतन्त्र भनको यही हो अनि यस्तै हुन्छ ? 

प्रश्न २ : लोकतन्त्रमाथि अर्को प्रश्न छ कि जनता वा नागरिक बनाउने को हुन् ? युरोपेली राष्ट्र–राज्य अवधारणाले राज्यसत्ता निर्मातालाई जनता वा नागरिक भनेका छन् । यो अवधारणाअन्तर्गत पोल्सका लागि पोल्यान्ड, जर्मनहरूका लागि जर्मन, फ्रान्सेलीका लागि फ्रान्स बन्यो । यद्यपि आन्तरिक साना राष्ट्रवादी समूह, जस्तै– कर्सिकन, वास्र्क, ब्रिटोन, फ्रेमिसलाई राज्य निर्माणको हतारोमा बेवास्ता गरियो । यसरी युरोपमै पनि कोही राज्यधारी राष्ट्र भए भने कोही राज्यविहीन राष्ट्र भए । अनि राज्यविहीन राष्ट्रलाई राज्यधारीले नागरिकता भिराए । तत्कालीन युरोपमै समस्याग्रस्त देखा परेको राष्ट्र–राज्य अवधारणा जब दोस्रो विश्वयुद्धपछि बहुलतायुक्त एसिया र अफ्रिकाका राज्यधारी राष्ट्रले आफ्नो गुम्न लागेको राज्य बचाउन आधुनिकताको नाममा अन्धानुकरण गरे । तब विश्व नयाँ द्वन्द्वको भुमरीमा फस्न पुग्यो । आधुनिक राज्य भनेको युरोपको जस्तै राष्ट्र–राज्य हुनुपर्छ भन्ने अवधारणाले नै राज्यधारी र राज्यविहीन राष्ट्र जन्माउने काम भयो । 

नेपालको लोकतान्त्रिक यात्राको आरम्भ पनि त्यही युरोपेली चिन्तन प्रणाली उदारवाद र माक्र्सवादको आधारमा भएकाले २००७ सालको परिवर्तनपछि हामीले युरोपको राष्ट्र–राज्य अवधारणालाई नै प्रजातन्त्र हो भन्यौँ । त्यही युरोपेली ज्ञानोदयकालीन आधुनिक चिन्तन प्रणालीका आधारमा आज लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गर्दा पनि हामीले त्यही युरोपेली राष्ट्र–राज्य अवधारणाको अन्धानुकरण गरिरहेका छौँ । यस अवधारणाकै आधारमा नेपालमा आज पनि पहाडी हिन्दू खसआर्य मात्र राज्यधारी राष्ट्र हुन् र तिनका जनता मात्र नागरिक हुन् । उनीहरूले नै नेपाल राज्य निर्माण गर्छन् । बाँकी यहाँका १२६ राष्ट्रहरू आज पनि राज्यविहीन राष्ट्र हुन् । त्यसैले राज्यविहीन राष्ट्रका जनतासँग नेपाली नागरिकताको कागजी खोस्टो त छ, तर सार्वभौम जनताकोे हैसियत छैन । त्यही कागजी खोस्टो पाउन पनि राज्यधारी राष्ट्रका सिडिओका अगाडि राज्यविहीन राष्ट्रका जनताले गोर्खाली बफादरिताको प्रमाण पेस गर्नुपर्ने हुन्छ । यसरी राज्यधारी राष्ट्रले निर्धारण गरेको मानकलाई पूरा गरेपछि पाउने नागरिकको हैसियत नै लोकतन्त्र हो ? के राज्यधारी राष्ट्र दिने दाता वा प्रभु हुने बाँकी राज्यविहीन राष्ट्रहरू उनीहरूले तोकेको मानक परीक्षा पास गरिरहनुपर्ने प्रणाली नै लोकतन्त्र हो ? 

लोकतन्त्र नै विश्वको उत्तम राजनीतिक प्रणाली भनेर स्वीकार गर्दा पनि यस्तो अमूल्य लोकतन्त्रले नेपालजस्तै विश्वभर द्वन्द्वको निरूपण किन गर्न सकेन भन्ने आजको मूल सवाल हो 
 

प्रश्न ३ : लोकतन्त्रमाथिको अर्को प्रश्न भनेको वर्तमानको लोकतन्त्रले के राज्यधारी राष्ट्रले राज्यविहीन राष्ट्रमाथि राष्ट्र–राज्यको औजार प्रयोग गरी सञ्चालन गरिरहेको औपनिवेशिक विस्तार परियोजना नै लोकतन्त्र हो ? राज्यधारी राष्ट्रअनुकूल निर्माण भएको राज्यमा राज्यविहीनसँगको सम्बन्ध भनेको औपनिवेशिकताका हो । राज्यधारीको दृष्टिकोणबाट हेर्ने हो भने लोकतन्त्रका आधारहरू, जस्तै– पहिलो, निर्णय प्रक्रियामा नागरिकको सहभागिता । दोस्रो, प्रतिनिधित्वको प्रणाली । तेस्रो, कानुनी शासन । चौथो, बहुमतीय आवधिक निर्वाचन प्रणाली । पाँचौँ, नागरिकमाझ केही हदसम्मको समानता । छैटौँ, आंशिक स्वतन्त्रता प्रदान गर्ने । सातौँ, शिक्षालागयत माध्यमबाट लोकतन्त्रको अभ्यास भइरहेको छ । तर, यी सबै अभ्यास राज्यधारी राष्ट्रका जनताअनुकूल छन् भने तिनले यी अभ्यासको माध्यमबाट औपनिवेशिकता विस्तार गरिरहेका छन् ।

लोकतन्त्रका यी आधारलाई राज्यविहीनका लागि किन औपनिवेशिकता विस्तार परियोजना भयो त ? लोकतन्त्रमाथिका आधारलाई नै हेर्ने हो भने पनि पहिलो, निर्णय प्रक्रियामा राज्यधारी राष्ट्रको नागरिकको मात्र सहभागिता हुने संरचना निर्माण गरिएको छ । दोस्रो, राज्य प्रणाली यसरी संरचित गरिएको छ कि राज्यधारी राष्ट्रका जनताको मात्र प्रतिनिधित्व हुन्छ या राज्यधारी राष्ट्रप्रति बफादारले मात्र प्रतिनिधित्व गर्छ । तेस्रो, आधुनिक राज्यधारीले दाबा गरेको कानुनी राज्यमा राज्यधारी राष्ट्रको विश्वदृष्टिकोणअनुसार विधिशास्त्र निर्माण भएको हुँदा राज्यविहीन राष्ट्रले हजारौँ वर्षदेखि अभ्यास गरिरहेको परम्परागत कानुन वर्जित छ, त्यो राज्यको नजरमा गैरन्यायिक अभ्यास हो । अन्य राज्यविहीन राष्ट्रको कुललाई बलि चढाउनुपर्ने र मांशाहार गर्ने गाईलाई हिन्दू विधिशास्त्रले गैरन्यायिक भनी वर्जित गरिएको कारण गौहत्या मुद्दामा जेल ठोक्ने काम जारी छ । यो भनेको कानुनी बहुलता छैन । चार, बहुमतीय आवधिक निर्वाचन प्रणाली २००७ सालदेखि निरन्तर चलेको छ । पञ्चायतमा पनि निर्वाचन हुन्थ्यो नै, तर आजको लोकतन्त्रमा दलहरूले उमेदवार तोक्छन् । 

दल नेतृत्वले राज्यधारी राष्ट्र या आफूप्रति बफादारलाई मात्र उमेदवार बनाउने र तिनैलाई जिताउने काम विगत ७० वर्षदेखि नेपालमा कायम छ । पाँच, राज्यधारी राष्ट्रका नागरिकमाझ केही हदसम्मको समानता कायम राख्नका लागि शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा औपनिवेशिक लोकसेवा आयोगजस्ता संरचनाहरू निर्माण गरिएको छ, तर सीमान्तकृतहरू तिनको पहुँचभन्दा ज्यादै टाढा छन् । उनीहरूलाई मूल प्रवाहीकरणको नाममा राज्यको सेवासुविधाबाट योजनाबद्ध रूपमा पृथकीकरण गरिन्छ । साथै यसरी राज्य प्रायोजित संरचनागत रूपमा पीडितलाई नै उल्टो विभिन्न आक्षेपमार्फत आफ्नो औपनिवेशिकता विस्तार गरिरहेका छन् । छैटौँ, राज्यधारी राष्ट्रको स्वार्थमाथि कुनै खतरा कायम नहुने हदसम्मको स्वतन्त्रता प्रदान गरिन्छ । त्यो भनेको स्वतन्त्रताभन्दा पनि औपनिवेशिकता विस्तार हो । सातौँ, मूलतः पश्चिमा आधुनिक शिक्षा र राज्यधारी राष्ट्रअनुकूल भाष्य निर्माण गर्नका लागि शिक्षा प्रयोग हुँदै आएको छ । यहाँको विविधतालाई इन्कार गर्ने पञ्चायती महेन्द्रमालाको गणतान्त्रिक संस्करणको शिक्षा नै आजको औपनिवेशिकताको मूल थलो बनेको छ । यसरी हेर्ने हो भने लोकतन्त्रले राज्यविहीन राष्ट्रका जनतालाई सार्वभौम तुल्याइरहेको छ कि राज्यधारी राष्ट्रलाई पक्षपोषण गरिरहेको छ ? 

निकास : आधुनिक विश्वको ज्यादै ठूलो आविष्कार भनेको राज्य र नागरिकता हो । उनीहरूले आधुनिक राज्य सबै मानवीय समस्याको हल गर्ने संयन्त्र भएको दाबा गरे, तर आज राज्य आफैँ राज्यधारी राष्ट्रको औपनिवेशिकता परियोजना विस्तार गर्ने हतियार सावित भएको छ । यसैले राज्यले आफ्नो औपनिवेशिक परियोजना बन्द गरेर सबैलाई संमन्वय गर्ने संयन्त्रको रूपमा आफूलाई पुनः पुष्टि गर्नुपर्ने बिन्दुमा खडा भएको छ । किनभने उदारवादी र माक्र्सवादीका लागि मात्र होइन, इन्डिजिनिस्टका लागि पनि राज्यको अन्त्य नै साझा लक्ष्य हो । त्यसैले राज्यले आफूलाई अद्यावधिक गर्नु अत्यावश्यक भइसकेको छ ।

यसरी शक्तिशाली राज्य निर्माणपश्चात् आफ्नो शक्तिको वैधानिकताका लागि राज्यले सोसल कन्ट्याक थ्योरीका आधारमा व्यक्तिबाट सहमति लिन्छ । यसरी सहमति दिएको आधारमा व्यक्तिलाई राज्यले सुरक्षा, कानुन र आत्मसम्मान स्थापित गराउने प्रत्याभूति गर्छ । यसबापत नागरिकले पनि राज्यप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । यसरी एक राज्य र नागरिकबीच भएको सम्झौता नै नागरिक राष्ट्रवाद (सिभिक न्यास्नालिजम) हो । राज्यविहीन राष्ट्रका जनताको पनि आफ्नो राष्ट्रप्रति त्यही बफादारिता छ, जुन राज्यधारी राष्ट्रका जनताको छ । आधुनिक राज्यको नाममा राज्यधारी राष्ट्रले राज्यविहीन राष्ट्रका जनतालाई उनीहरूको आफ्नो राष्ट्रप्रतिको बफादारिता छोड र राज्यको दायित्व पूरा गर अनि मात्र नागरिक हुन्छौ भनिरहेको छ, जुन औपनिवेशिकता हो । 

सार्वभौम जनताको सांस्कृतिक राष्ट्रवादलाई संस्कृति निरपेक्ष ‘नागरिक राष्ट्रवाद’ बनाउने उदार पुँजीवादी तथा माक्र्सवादी कम्युनिस्ट योजना सारमा राज्य प्रायोजित औपनिवेशिकता विकास तथा विस्तारको हतियार बन्यो । यस्तो औपनिवेशिक बन्धन राज्यविहीन राष्ट्रका लागि स्वीकार्य छैन । राज्यविहीन राष्ट्रका जनता नागरिक हुनका लागि यस्तो औपनिवेशिक बन्धनमा पर्नुभन्दा सार्वभौम जनताको हैसियतमा रहन चाहन्छन् । राज्यसँग औपनिवेशिक कन्ट्रयाक गर्नुभन्दा आफ्नो स्वशासन र स्वायत्तता अभ्यास गर्न चाहन्छ । त्यसैले राज्यविहीन राष्ट्रहरू राज्य औपनिवेशिक परियोजना विस्तारका हतियार जस्तै नागरिकता, लालपुर्जा आदिलाई नव–दासताको लाइसेन्स भएकाले अस्वीकार गर्छ । 

अन्तमा : पश्चिमा ज्ञानोदयकालीन चिन्तनका आधारमा निर्माण भएको राज्य लिभायाथा जस्तो हुने दाबा गरेका थिए, भने त्यहाँका जनतासँग सम्झौताको आधारमा नागरिकको हैसियतामा रहने दाबा गरिएको थियो । उनीहरूलाई शासन गर्नका लागि राज्य लोकतान्त्रिक हुने दाबी आज औपनिवेशिकता विस्तार परियोजना साबित भएको छ । जसका कारण राज्य र यसलाई सञ्चालन गर्ने लोकतान्त्रिक प्रणालीले संकट भोगिरहेको छ । राज्यविहीन राष्ट्रले यस्तो औपनिवेशिकताको प्रतिकार गरिरहेका छन् । यसरी औपनिवेशिकता विस्तार परियोजनालाई नै वाल्टर डि मिग्नोलोले पश्चिमा आधुनिकता र पुनर्जागरणको अँध्यारो पक्ष भएको दाबा गरेका छन् । राज्य तथा यसको सञ्चालन प्रणालीले आफूलाई २१औँ शताब्दीमा सान्दर्भिक तुल्याइरहने हो भने आफ्नो औपनिवेशिक परियोजना बन्द गर्नुपर्छ । राज्यधारी राष्ट्रको सत्ता मात्र स्वीकार गर्ने लोकतन्त्र औपनिवेशिक लोकतन्त्र हो । यसैले २१औँ शताब्दी भनेको औपनिवेशिकताविरुद्ध अऔपनिवेशिकता (डिकोलोनाइजेसन)को शताब्दी भएकाले सबै खाले औपनिवेशिकताको अन्त्य गर्दै नयाँ र विविधताअनुकूल लोकतान्त्रिक विश्व निर्माण गर्नु नै आजको आवश्यकता हो । 

ad
ad