मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
सुमिना
२०७८ बैशाख ९ बिहीबार १०:२२:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के हो यौनहिंसा वा बलात्कार ?

बहस

Read Time : > 7 मिनेट
सुमिना
२०७८ बैशाख ९ बिहीबार १०:२२:००

के समाजनिर्मित भाषामा अनैतिक सम्बन्ध बनाउनु बलात्कार हो ? के परस्त्रीसँग यौन सम्बन्ध राख्नु बलात्कार हो ? या, यौन नै आफैँमा बलात्कार हो?

महिला हिंसाका अनेक हतियारमध्ये अहिलेसम्म पुरुषले चलाउँदै आएको एउटा अत्यन्तै आपराधिक हतियार हो– बलात्कार । जसले महिलाको मञ्जुरीसँग कुनै सम्बन्ध राख्दैन । बलात्कारको शाब्दिक परिभाषातर्फ जाने हो भने त्यसले जबर्जस्ती करणी गर्नु भन्ने अथ्र्याउँछ । अर्थात्, कुनै स्त्रीलाई उसको इच्छाविपरीत जबर्जस्ती ऊसँग सम्भोग गर्ने क्रिया नै बलात्कार हो । पछिल्लो समय पुरुष पनि महिलाद्वारा बलात्कारको सिकार हुन सक्छन् भन्ने सन्दर्भलाई जोडेर पुरुषमाथि हुने यौन उत्पीडनको विषयमा पनि सरोकार राखिनुपर्ने र सम्बन्धित निकायको उच्च ध्यानाकर्षण हुनुपर्ने माग जोडदार रूपमा उठिरहेको छ । तर, आजसम्मको इतिहास हेर्‍यौँ भने पुरुषद्वारा नै अधिकतम महिलाहरू बलात्कृत हुँदै आइरहेका तथ्यहरूसँग हामी साक्षात्कार हुन पुग्छौँ ।

विभिन्न धर्मग्रन्थमा पनि देवताहरूले छलछाम गरेर वा जबर्जस्ती नै गरेर स्त्रीको सतीत्व हरण गरेको अथवा स्त्रीलाई बलात्कार गरेको कथ्य स्पष्ट रूपमा उल्लेख गरिएको पाइन्छ । यसले के दर्साउँछ भने पुरातन संस्कृति र परम्पराले यो स्वीकार गर्छ कि महिलाले बलात्कार गर्न सक्दैनन् वा महिलाबाट पुरुष बलात्कृत हुन सक्दैनन् । बलात्कार पुरुषले नै गर्दछन् । स्पष्ट शब्दमा नभनिए पनि विभिन्न सन्दर्भले यो प्रस्ट्याउँछन् कि आजसम्मको तथ्यांकका आधारमा महिला उत्पीडित हो भने पुरुष उत्पीडक हो । पुरुषको बहादुरी स्थापित गर्नका निम्ति पुरातन संस्कृतिमा यस्ता भाष्यहरू निर्माण गरिएका हुन् । त्यस्तो घटना कहिल्यै भएको पाइँदैन, जहाँ स्त्रीद्वारा पुरुष यौन उत्पीडनमा परेका होऊन् । धर्मग्रन्थहरू मात्रै होइन, मानव समाजको अध्ययन गर्दा पनि यस्ता थुप्रै घटनासँग हामी परिचित हुन्छौँ ।

हाम्रो वरिपरि उपस्थित स्त्रीपीडक अनुहार या प्रवृत्तिको भण्डाफोर गर्नका निम्ति जबर्जस्ती मार्क्सलाई अपराधीकरण गर्नुका पछाडि लेखकको कुन मनोवैज्ञानिक चेतनाले काम गरेको छ ? किनभने, मार्क्सलाई बलात्कारी सिद्ध गर्न सक्ने कुनै तथ्य हालसम्म कतै भेटिएको छैन ।
 

कथित प्रतिष्ठित र बलवान् पुरुषबाट कमजोर महिलाहरू पटक–पटक बलात्कृत भएका घटना हामी यत्रतत्र भेट्न सक्छौँ । चाहे त्यो कुनै कार्यालयको हाकिमबाट कर्मचारीमाथि भएको यौनहिंसाको घटना होस् वा कुनै जमिन्दार मालिकबाट कामदार महिलामाथि नै । या त कतै समान ओहोदामा उपस्थित आफ्नै साथीबाटै भएको हिंसा नै होस् । यस प्रकारका ऐतिहासिक तथ्यहरूले यो यथार्थ प्रकट गर्छन् कि आजसम्म पुरुषहरू महिलाबाट यौनहिंसामा परेका छैनन् । हाम्रो समाज पितृसत्तात्मक छ । पितृसत्तात्मक व्यवस्थाभित्र पुरुष पीडक हुन्छ भने स्त्री पीडित हुन्छे । पुरुष प्रधान हुन्छ भने स्त्री गौण हुन्छे । आजसम्म महिला उत्पीडित र पुरुष उत्पीडक हुनुको पछाडि अथवा पुरुषबाट नै महिला हिंसामा पर्नुको पछाडि पितृसत्तात्मक ढाँचामा आधारित पुरुषप्रधान संरचनाले नै भूमिका खेलेको छ । जो स्वयम् उत्पीडित दर्जामा छे, ऊ कसरी पीडकमाथि हावी हुन सक्छे ?

तर, अबको समयलाई हिजोको वस्तुगत धरातलसँग मात्रै तुलना गर्नु मूर्खता हुन सक्छ । समय निरन्तर चलायमान छ र उसले आफूसँगै धेरै कुरा परिवर्तन गरिरहेको हुन्छ । समयसँगै लैंगिक, सामाजिक तथा सांस्कृतिक मान्यताहरू पनि भत्किरहेका हुन्छन् र नयाँ मान्यताले जन्म लिइरहेका हुन्छन् । हिजोका पुरुष र आजका पुरुष वा हिजोका महिला र आजका महिलालाई एउटै कसीमा राखेर विश्लेषण गर्नु अब समयसापेक्षिक नहुन सक्छ । कोही महिला भएकै आधारमा सही र पुरुष भएकै आधारमा गलत हुन्छ भन्ने धारणा पनि अनुचित हुन पुग्छ । कुनै पनि पुरुष सही नै हुँदैन र कुनै पनि महिला गलत नै हुँदैन भन्ने मान्यताका आधारमा हिंसा र अपराधलाई केवल लैंगिक दृष्टिले होइन, बरु त्यसलाई अपराधदर्शी आँखाले हेर्नु आवश्यक छ ।

यौन र यौनहिंसा
यतिवेला बलात्कार र यौनजन्य हिंसाका घटनाहरूले चरम रूप लिइरहेको देखिन्छ । घर, कार्यस्थल, विद्यालय, बाटोघाटो, मेलापात सबैतिर महिलाले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने भयावह स्थितिको सिर्जना भएको छ । महिलाको शरीरमाथि संकटको बादल मडारिइरहेकै छ । आपराधिक मानसिकता धारण गरेका केही पुरुषको बलात्कारी प्रवृत्तिले सम्पूर्ण महिलालाई आतंकित र सिंगो पुरुष अस्तित्वलाई आशंकाको कठघरामा उभ्याइरहेको दुःखद घडीको सामना गर्न हामी विवश छौँ । इन्टरनेट वा सामाजिक सञ्जालदेखि लिएर लेखिने बोलिने गुप्त च्याट या सबैतिर फरक–फरक शैलीमा हिंसाका सूचकहरू भेटिन्छन् ।

यसै परिवेशमा गत चैत ३१ गते कान्तिपुर दैनिकमा प्रकाशित लेखक तथा स्तम्भकार सरिता तिवारीको ‘यौनहिंसाको प्रतिवादमा’ शीर्षकको लेखले केही बहस र विवादको सिर्जना गर्‍यो । उक्त लेखमा महिला हिंसाका आयाम र अवयवहरूबारे पर्याप्त चर्चा गरिएको छ । बोलीमा एउटा र व्यवहारमा अर्को चरित्र देखाइरहेका कथित प्रतिष्ठित वामपन्थी कहलिने प्रगतिशील मुखुन्डो धारण गरेर गुप्त रूपमा निकृष्ट हर्कत रचिरहेका ढोंगीहरूको मस्तिष्कमा प्रहार गर्न लेखक एक हदसम्म सफल भएकी छन् । तर, उक्त लेखमा जोडिएको एउटा अपुष्ट प्रसंग भने विरोधाभासपूर्ण छ । जहाँ कुनै ठोस तर्क र प्रमाणविना नै विश्वका सर्वहारा, श्रमिक तथा उत्पीडित जनताको संघर्षको वैचारिक हतियार माक्र्सवादका प्रणेता कार्ल माक्र्सलाई बलात्कारीको संज्ञा दिइएको छ । अहिले हाम्रो वरिपरि उपस्थित स्त्रीपीडक अनुहार या प्रवृत्तिको भण्डाफोर गर्नका निम्ति जबर्जस्ती मार्क्सलाई अपराधीकरण गर्नुका पछाडि लेखकको कुन मनोवैज्ञानिक चेतनाले काम गरेको छ भन्नेमा म अनभिज्ञ छु । मार्क्सलाई बलात्कारी नै सिद्ध गर्न सक्ने कुनै तथ्य हालसम्म कतै भेटिएको छैन ।

 

द्वन्द्वात्मक भौतिकवादी दर्शनद्वारा आफ्नै अनुयायीहरूको मस्तिष्कमा पनि आलोचनात्मक चेतको ज्वाला सल्काउने र हरेक कुरामा सन्देह गर्न सिकाउने माक्र्स स्वयंलाई आलोचना र सन्देहको कठघरामा उभ्याउने लेखकको आलोचनात्मक चेतसँग मेरो असहमति छैन । तर, बुझ्नुपर्ने कुरा यो हो कि आलोचना र अपराधीकरण फरक विषय हो । त्यसो त आलोचनात्मक चेतले नै भन्छ, ‘आलोचना सत्यतथ्यको धरातलमा टेकेर गर । स्वयंलाई सत्यको कसौटीमा सधैँ खरो रूपमा उतार । असत्यको वकालत नगर र खराबको पक्षधर नबन ।’

यौन प्राकृतिक कुरा हो । उमेर पुगेकी एक महिला र पुरुषबीच उपस्थित अनुकूल भौतिक परिस्थितिको आधारमा मन मिलेको खण्डमा जहाँ, जतिवेला, जोसँग पनि यौन सम्बन्ध कायम हुन सम्भव छ । सही र गलत, सान्दर्भिक र असान्दर्भिक, नैतिक र अनैतिक, वैध र अवैध भन्ने मासिकता त समाजले निर्माण गरेको हो । 

बलात्कार एउटा जघन्य अपराध हो । त्यसैले कसैलाई बलात्कारी करार गर्दैगर्दा अवश्य पनि बलात्कारी सिद्ध गर्न सक्ने यथेष्ट प्रमाणको माग हुन्छ । तर, लेखमा त्यस्तो कुनै प्रमाण समावेश छैन । आफ्नै घरमा काम गर्ने सहयोगी महिलासँगको यौन सम्बन्धलाई लिएर माक्र्सलाई बलात्कारी करार गर्नुले फेरि एकपटक बलात्कार शब्दलाई नै विवादास्पद बनाइदिएको छ । आखिर के हो त बलात्कार ? पुनः प्रश्न खडा भएको छ । के समाजद्वारा निर्मित भाषामा अनैतिक सम्बन्ध बनाउनु बलात्कार हो ? के परस्त्रीसँग यौन सम्बन्ध राख्नु बलात्कार हो ? या, यौन नै आफैँमा बलात्कार हो ?

यसले पुरानै परम्परागत सोचको वकालत गर्छ, जसले सम्बन्धमा एकनिष्ठताको माग गर्दै भन्छ, ‘आजीवन एक स्त्री र एक पुरुषका बीचमा मात्र यौन सम्बन्ध कायम हुन सक्छ ।’ यसै मान्यताका आधारमा समाजले व्यक्तिको नैतिक चरित्र र यौन शुद्धताको परीक्षण गर्छ । यो कत्तिको जायज छ ? यो मान्यता महिलाका लागि भयंकर निर्मम छ र तुलनात्मक रूपमा पुरुषका लागि भने अत्यन्तै उदार । पितृसत्तात्मक सामाजिक र सांस्कृतिक संरचनाभित्रै हुर्किएको एक व्यक्तिका रूपमा माक्र्सले आफ्नो जीवनकालमा विवाहेत्तर यौन सम्बन्ध कायम गरेनन् होला भन्न सकिँदैन । मान्छेमा यौन चाहना हुन्छ र कतै–कतै यौन विचलन पनि हुन सक्छ । तर, सहमतिकै आधारमा कायम गरिने यौन सम्बन्धलाई बलात्कार भन्न मिल्छ त ? के हो बलात्कारको दायरा ?

श्रमलाई उत्कृष्ट र निकृष्टको कसीमा हेर्नु सामन्ती सोच हो, जसले बौद्धिक काम गर्नेहरू उत्कृष्ट श्रेणीका हुन् र शारीरिक श्रम गर्नेहरू निम्न तप्काका हुन् भन्छ । यो समाजद्वारा सिर्जित भाष्य हो, जसले श्रमका आधारमा मालिक र नोकरको तप्का स्थापित गर्छ । जतिवेला माक्र्स बौद्धिक वा मानसिक श्रम गरिरहेका थिए, लेन्चेन शारीरिक श्रम गरिरहेकी थिइन् । यी दुई फरक कार्य गरिरहेका व्यक्तिका बीचमा यौन सम्झौता वा भावनात्मक सम्बन्धको विकास हुनै सक्दैन र हुन्छ भने केवल यौन शोषण मात्र हुन्छ अथवा बलात्कार नै हुन्छ भनेर आकलन गर्नु कत्तिको जायज होला ? यस्तो खालको धारणाले प्रेम या यौन पनि समान ओहोदा, समान स्तर या समान कार्य गर्नेहरूको बीचमा मात्रै हुनुपर्छ भन्ने एउटा विभेदपूर्ण नजिर स्थापित गर्दैन र ?

यौन प्राकृतिक कुरा हो । उमेर पुगेकी एक महिला र पुरुषका बीचमा उपस्थित अनुकूल भौतिक परिस्थितिका आधारमा मन मिलेको खण्डमा जहाँ, जतिवेला, जोसँग पनि यौन सम्बन्ध कायम हुन सम्भव छ । सही र गलत, सान्दर्भिक र असान्दर्भिक, नैतिक र अनैतिक, वैध र अवैध भन्ने मासिकता त समाजले निर्माण गरेको हो । यसलाई कति मान्ने, कति नमान्ने, त्यो फरक सन्दर्भ हो । तर, सहमतिमा हुने यौन सम्बन्धलाई बलात्कार बनाइनु हुँदैन । मार्क्सको मात्रै होइन, सहमतिमा भएका हरेक यौन सम्बन्धहरू बलात्कार होइनन् ।

प्रतिद्वन्द्वी पुरुष कि पितृसत्ता ?
केही दिनअघि चिया गफका क्रममा एकजना पुरुष मित्रले केही जिज्ञासु र भयभीत हुँदै भने, ‘मलाई नारीवादी आन्दोलनको विषयमा जान्ने रहर छ, तर महिला साथीहरूसँग खुलेर कुरा गर्न डर लाग्छ ।’ उनले त्यसो भन्दै गर्दा म सोचमग्न भएँ । आखिर के कारणले भयभीत छन् पुरुषहरू, महिलासँग स्वस्थ बहस गर्न ? उनीहरूलाई महिलाप्रति विश्वास छैन या आफैँमाथि सन्देह छ ? आफूभित्रको पुरुष अहंकार थाहै नपाई प्रकट हुने त होइन भन्ने डर छ या फेरि हामी महिला आन्दोलनकारी अथवा महिलाका मुद्दामा बोल्ने, लेख्नेले नै यस्तो परिस्थितिको सिर्जना गरिरहेका छौँ ? यसले पुरुष र महिलाबीचको समन्वयमा नै गम्भीर असर पार्दै गएको सहजै बुझ्न सकिन्छ । सँगसँगै, पुरुष र महिलाको बीचमा विभाजनको पर्खाल ठड्याउने खतरा पनि पैदा गरिरहेको छ, जहाँ एक पुरुषमा महिलाप्रति उत्पन्न हुने स्वाभाविक प्रेमभाव प्रकट गर्न रोक लगाओस् र आफू ऊप्रति आकर्षित वा प्रभावित भएको कुरा खुलेर भन्न प्रतिबन्ध लगाओस् अथवा यौन अपिलका लागि रोक लगाओस् । यो प्रकृतिविरोधी पनि छ, जसले मान्छेलाई कुण्ठित बनाई आपराधिक मानसिकतातर्फ अग्रसर बनाउँछ । कसैलाई प्रेम गर्छु, मन पराउँछु या सम्बन्ध बनाउन चाहन्छु भन्नु हिंसा हुन्छ कि अस्वीकारपछि जबर्जस्ती गर्नु हिंसा हुन्छ ? पछिल्लो समय यो सन्दर्भ पनि विचारणीय छ ।

लामो समयदेखि विशेष गरी दक्षिण एसियामा सक्रिय नारीवादी अभियन्ता कमला भसिन पटक–पटक स्पष्टीकरण दिइरहेकी हुन्छिन्, ‘नारीवादी आन्दोलन पुरुषविरोधी आन्दोलन होइन ।’ हामीले बुझ्नुपर्ने कुरा पनि यही हो कि पितृसत्तावादी संरचना र सोचविरुद्ध आवाज उठाउँदा पुरुषलाई होच्याउनु आवश्यक छैन र पितृसत्ताको विकल्प मातृसत्ता पनि होइन । त्यसैले न नारीवाद, न त पुरुषवाद, एउटा यस्तो विचारको विकास गरौँ, जुन विचारले त्यस्तो व्यवस्था स्थापित गरोस्, जहाँ महिला र पुरुषलाई आपसी प्रतिद्वन्द्वी बनाएर युद्धमा उभ्याउँदैन, बरु समानता र सहसम्बन्धको अभ्यास गराउँछ । एक–अर्कासँग खुसी–खुसी सँगै हिँड्ने र विभेदको विपक्षमा उभिने हार्दिक वातावरणको सिर्जना गर्छ ।

हुन त पितृसत्ता पुरुषद्वारा निर्मित संरचना हो, जहाँ हरेक नीति, नियम, मूल्य र मान्यताहरू पुरुषसुलभ ढंगले निर्माण गरिएका छन् । हजारौँ वर्षदेखि यही संरचनाको आडमा पुरुषले महिलामाथि शोषण, दमन र अत्याचार गर्दै आइरहेका छन् । पुरुषलाई यो प्राधिकार कुन व्यवस्थाले स्थापित गरिदिएर आजसम्म टिकाइरहेको छ त ? समस्याको मूल जडसम्म पुग्नका निम्ति हामी त्यहाँ पुग्नुपर्ने हुन्छ, जहाँबाट शोषणको पहिलो इँटा थपियो । त्यो हो, निजी सम्पत्तिको संरक्षण तथा स्वामित्व आफ्ना सन्तानमा हस्तान्तरण गर्न स्थापित विवाह संस्थाको उदय । निजी सम्पत्तिमा पुरुषको एकलौटी स्वामित्व स्थापना गरेर नै पितृसत्ता शक्तिशाली बनेको हो । जुन हजारौँ वर्षदेखि जारी छ । पितृसत्ता जति पुरानो छ, महिला उत्पीडन पनि त्यति नै पुरानो छ । महिलामाथिको उत्पीडन जति पुरानो छ, महिला आक्रोश पनि त्यति नै मजबुत छ ।

त्यसैले महिला मित्रहरू, प्रहार गरौँ । वर्षौंदेखि सँगालिएको आक्रोश उठाएर प्रहार गरौँ । आक्रोशलाई व्यक्तिकेन्द्रित होइन, संरचनात्मक तहसम्म पुर्‍याऔँ । आक्रोशलाई सही ठाउँमा प्रयोग गरौँ । शोषणकारी व्यवस्थाका मूल्य, मान्यता, अवयव तथा संरचनालाई कायमै राखेर त्यही व्यवस्थाकै उत्पादन पुरुषलाई मात्र प्रहार गर्नु भनेको उपलब्धिविहीन प्रहार हो । जहाँ लामो समयदेखि हाम्रो ऊर्जा नष्ट भइरहेको छ । त्यसकारण आपराधिक मनोवृत्तिविहीन सचेत पुरुषलाई समेत साथमा लिएर पितृसत्ताविरुद्ध लडौँ । पितृसत्ता टिकिरहनु भनेको निरन्तर महिला अस्तित्वमाथि अत्याचारी शासन कायम रहिरहनु हो ।