बलात्कार रातारात कतैबाट निर्यात गरिएको आयातीत वस्तु होइन, वर्षौँवर्ष खर्चिएर यही समाज, राज्य र व्यवस्थाद्वारा निर्माण गरिएको मानसिकताको उपज हो । जन्मपश्चात् गरिने पर्वरिस, दिइने शिक्षा र हामी वरिपरि मौजुद सामाजिक परिवेशले नै एक मान्छेभित्र बलात्कारी चेतनाको बीजारोपण गरिदिन्छ । बलात्कारी त फगत उब्जनी मात्रै हो उत्पादक त यही संरचना हो । घरदेखि सडक, समाज र सत्तासम्म सबैतिर यो संरचना बलात्कारी जन्माउन र बलात्कारीहरूकै पैरवी गर्नमा अभ्यस्त देखिन्छ ।
केही वर्षअघि एउटा गाउँको चौतारीछेउ जमिरहेको सार्वजनिक भेलामा गुन्जिरहेका केही आवाज र त्यहाँ उठाइएका सवालले यतिवेला मेरो मन र मस्तिष्कभित्र आश्चर्य उद्वेग घृणा, प्रतिशोध, प्रश्न र प्रतिप्रश्नको दोहोरो आँधी एकसाथ चलाइरहेको छ । गाउँका सम्पूर्ण भद्रभलाद्मी आमा समूहलगायतका व्यक्तिहरूको चौतर्फी घेराइमा एक अधबैँसे महिलालाई अभियुक्त बनाएर यसरी खडा गरिएको थियो, मानौँ उनी निकै ठूलो जघन्य अपराध गरेर फरार भइरहेको अवस्थामा गिरफ्तारी गरेर अपराध कबुल गर्न अदालतसमक्ष पेस गरिएको हो ।
उनका चारैतर्फ तेस्र्याइएका प्रश्न आरोप–प्रत्यारोप उनीसँग चिच्याइ–चिच्याइ भनिरहेकाछन् कबुल गर् ! “ए आइमाई ! तँ अपराधी होस्, तैँले ठूलो अपराध गरेकी छस् । कबुल गर् !” उनीमाथि दिनहुँ आफ्नै श्रीमान्द्वारा मारपिट जोरजबर्जस्ती र अनेक प्रकारका यातना हुने गरेको हुँदा मध्यरात लोग्नेको हमलाबाट बच्न घर छोडेर निस्केको कुरा भनिरहेकी थिइन् । तर, त्यहाँ उपस्तिथित कोही उनको कुरामा विचार गर्नसमेत तयार थिएन । बरु उल्टै उनलाई निकृष्ट तरिकाले चरित्रहीन आइमाईको तक्मा भिराइँदै थियो । “रातमा लोग्ने छोडेर हिँड्ने आइमाई चरित्रहीन हो । एक विवाहित आइमाईलाई यसरी बाहिर रात बिताउने अधिकार हाम्रो समाजमा छँदैछैन । के थाहा परपुरुससँग पो रात कटाएर आएकी हो कि ?”
समाजलाई आफ्नो पेवा सम्झने समाजका कथित प्रतिष्ठित प्रतिनिधि समूहको अभिव्यक्ति थियो यो । जसले एक लोग्नेलाई स्वास्नीमाथि मनलागी मारपिट हिंसा र बलात्कार गर्न पाउने आधिकारिक मौखिक सर्टिफिकेट थमाइरहेको छ । वास्तवमै तिनीहरू ती पीडित महिलामाथि नै खनिएका थिए । ती महिलाले भोगिरहेको पीडाबोध गर्न कोही तयार थिएनन् । आखिर स्त्रीप्रति यहाँको समाज र यहाँका कथित सामाजिक अगुवा किन यति धेरै क्रुर र अनुदार भएर प्रस्तुत हुन्छन् ? बलात्कारीप्रति समेत उदार बनेर मिलापत्र गराउन सक्ने यस्ता स्थानीय निकायमा पुरुषसत्ताको न्यायालयले हरेक दिन कति स्त्रीलाई अन्यायको भारले थिच्दै कठोर जिन्दगी बाँच्न बाध्य पारिरहेको होला ?
ती महिलाविरुद्धका अभिव्यक्ति कत्तिको न्यायोचित थिए ? के एक बलात्कारी मानसिकताको पक्षपोषण गर्न यी र यस्ता अभिव्यक्ति पर्याप्त छैनन् ? यो संरचना घरभित्र र समाजमा यसैगरी बलात्कारी मानसिकता जन्माउन उद्यत छ भन्ने कुरा यस्ता घटनाक्रमले प्रस्ट पार्छन् । यो देखिसकेपछि “विवाह भन्ने संस्था, घरेलु हिंसा, यौनजन्य गतिविधि र बलात्कारलाई वैधानिकता दिने संस्था हो” भन्नु कत्ति पनि हिचकिचाई रहनुपर्दैन ।
यो समाज जब विवाह नामको लालपुर्जा थमाइदिएर एक पुरुषलाई “ल तेरी स्वास्नी हो मन लागेको गर्, मारे पाप पाले पुण्य’ भनेर एक स्त्रीको सर्वाधिकार हवाला गरिदिन्छ त्यति नै वेला एक पुरुषमा बलात्कारी मानसिकताको चिंगारी सल्किन थाल्छ । र, मन लागेको वेला आफ्नो जीवनसाथीको सहजता या अनुकूलताविना नै ऊ आफ्नो चाहनाअनुसार जसरी चायो त्यसरी र जहाँ चायो त्यहीँ भोग गर्ने मनस्थितिको विकास गर्न थाल्छ ।
यसरी पितृसत्तात्मक विवाह संस्थाभित्र हुर्किरहेको हुन्छ बलात्कारी चेतना । तर, यो समाज विवाह बन्धनभित्रको बलात्कारलाई बलात्कार स्वीकार गर्न तयार छैन । एक अविवाहित महिलाले आफूमाथि भएको जबर्जस्ती व्यवहारको हिसाब माग्दै गर्दा, आफ्नै लोग्नेबाट जबर्जस्तीमा परेँ भनेर उजुरी गर्दैगर्दा सोच–विचार गर्न सक्ने समाज उल्टो तिनै विवाहित महिलामाथि व्यंग गर्छ र पीडितलाई नै लज्जाबोध हुने अवस्था सिर्जन्छ ।
परम्परागत बलात्कार
परम्परागत धर्म, संस्कृति र मूल्य–मान्यताको पिँधबाट बलात्कारी चेतना हिजो पनि मुखरित थियो र आज पनि मुखरित छ । शास्त्रले पुरुषलाई ‘सर्वसत्ता’ सुम्पिएको छ । धर्मशास्त्रका पाना पल्टाउँदा ठाउँठाउँमा भेटिन्छ ‘पतिपरमेश्वर’ अर्थात् ‘पतिपरमेश्वर हो र पतिको आदेश शिरोपर गर्नु र पतिको सेवा गर्नु पत्नीको धर्म हो ।’ यस्तो खालको धर्म–संस्कृतिका मूल्य–मान्यतालाई ग्रहण गर्ने महिलाले पुरुषलाई परमेश्वर ठानेर आजीवन दासत्व स्वीकार त गर्ने नै भए, जहाँ महिलाका रहर तथा नाइँनास्तिको कुनै अर्थ नै हुँदैन ।
कथित देवताले पटक–पटक स्त्रीलाई बलात्कार गरेका कथा हामी पुराणमा पढ्छौँ । वृन्दालाई छल गरेका विष्णु या सात वर्षकी बालिकालाई गर्भिणी बनाएका शिव, स्वर्गका राजा भनिने इन्द्र या चन्द्र सबैसँग स्त्रीलाई जबर्जस्ती गरेका घटना जोडिन आउँछन् । अचम्मको कुरा त यो छ कि स्त्रीलाई बलात्कार गरेर पनि यी देवता, देवता नै बनिरहे, दण्डित भएनन् । बरु उल्टै पीडित स्त्रीहरूले नै अनेक प्रकारको मूल्य चुकाउनुप¥यो । यो सिलसिला हुबहु आज पनि समाजमा जस्ताको त्यस्तै छ । आफ्नै पत्नीको परीक्षा लिने राम अपराधी बनेनन् पूजनीय बने । राज्य विस्तारका निम्ति महिला एक वस्तु मात्रै हो भन्ने नजिर महाभारतमा राजा यायातीको पुत्री माधवीको यौनशोषणको कथाले स्थापित गर्यो ।
बलात्कारी, फगत उब्जनी मात्रै हो उत्पादक त यही संरचना हो । घरदेखि सडक, समाज र सत्तासम्म सबैतिर यो संरचना बलात्कारी जन्माउन र बलात्कारीहरूकै पैरवी गर्नमा अभ्यस्त देखिन्छ ।
काशीका राजकुमारी अम्बा, अम्बिका र अम्बालिकालाई जबर्जस्ती अपहरण गर्ने भीष्म बलात्कारी हुन् भनेर हामीले किन नभन्ने ? आखिर उनले कथित शक्तिको दुरुपयोग गरेर उनीहरूको जिन्दगीमाथि जबर्जस्ती गरेका छन् । पत्नीको इच्छाविरुद्ध वस्तु बनाएर जुवामा दाउ थापेपछि जुवा हारेर आफ्नै पत्नीलाई इच्छाविरुद्ध दोस्रोको हवाला गरिदिने पाण्डवलाई किन बलात्कारी नभन्ने ? आखिर उनले आफ्नी पत्नीको इच्छामाथि जोर जबर्जस्ती गरेका छन् ।
यस्ता घटनाक्रममा संलग्न पात्रलाई शास्त्रले महानताको पगारी गुथाइ दिएको छ र आजका पुस्तालाई पनि जयजयकार गर्न लगाएको छ । र, हामी आँखा चिम्लिएर ती शास्त्रलाई हुबहु धारण गर्छौँ, तिनमाथि कतै प्रश्न र प्रतिप्रश्न गर्दैनौँ । बलात्कारीलाई पुज्नुपर्ने यो कस्तो धर्म हो भनेर हामी प्रश्न गर्दैनौँ ।
विनाआपत्ति उनीहरूको पूजा गर्छौँ । र, तिनै धर्मशास्त्रका मूल्य–मान्यतालाई आँखा बन्द गरेर धारण गर्ने आजका मानिसको चेतना पनि दिनानुदिन बलात्कारीमुखी हुनु त्यति आश्चर्यलाग्दो कुरा होइन । स्वाभाविक रूपमा जे रोप्यो त्यही उम्रन्छ फुल्छ फल्छ । वास्तवमा यो पुरुषसत्ताको जग त्यस्तो उद्गम हो जहाँबाट बलात्कारी मानसिकताको धारा प्रवाह हुन्छ र त्यहीँ नुहाएर आजका पुस्ताले आफूभित्र बलात्कारी चेतनाको टुसा उमारिरहेका छन् ।
बलात्कारको विषयान्तर
बलात्कारको बहस हुँदै गर्दा एकजना बुज्रुक व्यक्तिले आफ्नो मत राख्नुभयो– “चुलिँदै गरेको बलात्कार पश्चिमाको षड्यन्त्र हो । जो प्रत्यक्ष हाम्रो जनजीवन र खानपानसँग जोडिएको छ । हाइब्रिड उत्पादन प्रणाली र खानपानको असरले समाजमा अहिले बलात्कारका घटनाले चरम रूप लिइरहेको छ ।”
बलात्कारी मानसिकताको बचाउ गर्ने हाम्रो समाजमा निकै ठूलो तप्का निर्माण भइरहेको छ । उनीहरू यो स्वीकार गर्न खोज्दैनन् कि बलात्कारको घटना हिजो पनि पर्याप्त मात्रमा हुने गरेको थियो । हिजो घटनाहरू दफ्नाइएका थिए । बदनामीको भयले पीडितहरू मुख बन्द गर्नुपर्ने स्थितिबाट गुज्रन्थे । फरक यत्ति हो आज घटनाहरू प्रकाशमा आएका छन् । त्यसैगरी, कतिपयले भन्छन्– “महिला बलत्कार हुनु प्रकृतिप्रदत्त हो, प्रकृतिले नै पुरुषलाई बलात्कार गर्न सक्ने र महिलालाई बलत्कृत हुनुपर्ने गरी शारीरिक रूपमा निर्माण गरेको छ ।” महिलाले छोटो कपडा लगाएर अंग प्रदर्शन गरेका कारण बलात्कारका घटना घटिरहेका छन् भन्नेको जमात त झनै ठूलो छ ।
सम्बन्धित निकायमा हुने जिम्मेवार व्यक्तिका गैरजिम्मेवार अभिव्यक्ति हामीले पटक–पटक सञ्चारमाध्यममा सुन्न सक्छौँ । “मन मिल्दासम्म चमत्कार मन नमिलेपछि बलात्कार”जस्ता अभिव्यक्ति दिएर बलात्कारलाई बढावा दिँदै अपराधीहरूको मनोबल बढाउने र पीडितको मनोबल गिराउने क्रियाकलाप जिम्मेवार व्यक्तिबाटै हुँदै आइरहेका छन् । बझाङमा बलात्कार गरी बालिकाको हत्या गरेको व्यक्तिलाई मिलापत्र गराई माफी दिनुको परिणाम केही समयपछि सम्झना कामको हत्याको कारण बन्यो । सप्तरीमा सामूहिक बलात्कारजस्तो जघन्य केसमा गाउँमै ‘पञ्चायती’ बसेर मिलाएपछि पीडितले आत्महत्या गरेको घटना बाहिर आयो ।
स्थानीय निकायदेखि सर्वोच्चसम्म बलात्कारीलाई जोगाउने क्रियाकलाप पटक–पटक किन भइरहेको छ ? यस्तो गम्भीर
मुद्दामा मिलापत्र गर्नु भनेको दोस्रोपटक बलात्कार गर्न छुट दिनुजस्तै होइन र ? हाम्रो देशको न्याय प्रणाली अपराधीप्रति किन यतिधेरै उदार छ ? रञ्जन कोइरालाजस्ता श्रीमती हत्याका अभियुक्तलाई उन्मुक्ति किन दिइन्छ ? निर्मला हत्या प्रकरणका दोषीहरू किन अझै रहस्यमा हुन्छन् ?
यी सबै प्रश्नको एउटै उत्तर छ– अपराधलाई विषयान्तर गर्ने बुज्रुक होऊन् या बलात्कारजस्तो गम्भीर विषयलाई लिएर तर्क–कुतर्क गर्ने व्यक्ति या त मिलापत्र गरिदिएर बलात्कारीप्रति दया देखाउने स्थानीय सत्ता या फेरि बलात्कारीप्रति उदार बनेर फैसला गर्ने सर्वोच्च सत्ता सबैको रग–रगमा यो वा त्यो रूपमा बलात्कारी मानसिकता हुर्किरहेको छ । बलात्कारी चेतना बाँचिरहेको छ । र, एक बलात्कारीले स्वाभाविक रूपमा अर्को बलात्कारीको पक्षपोषण नगरेर कसको गर्छ ? त्यसैले बलात्कारविरुद्धको हाम्रो पहिलो युद्ध पितृसत्तात्मक व्यवस्थासँग हो । जबसम्म उद्गम सफा गरिँदैन फोहोर प्रवाह भइरहन्छ । जबसम्म समाजमा फोहोर रहिरहन्छ, तबसम्म त्यसले किटाणु जन्माइरहन्छ ।
अन्त्यमा
बलात्कार पुरुष लिंगले गर्छ कि सोचले ? बलात्कार पुरुषले गर्छ कि पुरुषत्वले ? बलात्कारको अन्त्य गर्न पुरुष लिंग काट्ने कि मानसिकता काट्ने ? बलात्कारीलाई मृत्युदण्ड दिने कि बलात्कार गर्ने परम्परालाई मृत्युदण्ड दिने ? पहिले बलात्कारी मारेर बलात्कार गर्ने सोच मार्ने हो वा सोच मरेपछि बलात्कारी स्वतः मर्छ ? यी विषयमा बहस जरुरी छ । तर, त्यसभन्दा बढी जरुरी छ महिला शरीरलाई अतिरञ्जित गरी प्रस्तुत गर्ने सदियौँ पुराना पितृसत्ताका परम्परागत चेत, मानक, दृष्टिकोणदेखि आजको बजारवाद । त्यसैले यिनमा प्रहार गर्नु पनि उत्तिकै जरुरी छ ।
जबसम्म एउटा मानिसलाई बलात्कारीमा रूपान्तरण गर्ने सामाजिक संरचनाको जग ध्वस्त हुँदैन तबसम्म सयौँको संख्यामा बलात्कारीलाई झुन्ड्याए पनि बलात्कारी मानसिकता बाँचिरहन्छ । बलात्कार पुरुषले होइन, मानसिकताले गर्छ । बलात्कारी व्यक्ति होइन सिंगो प्रवृत्ति हो, परम्परागत सोच हो, मानसिकता हो । बलात्कारको अन्त्य गर्नका निम्ति यस्तो मानसिकता निर्माण गरिदिने यो व्यवस्थाको आमूल परिवर्तन हुन अनिवार्य छ । बलात्कारी उत्पादन गर्ने सामाजिक कारखाना ध्वस्त हुन आवश्यक छ ।