पितृसत्तावादी विचार बोकेर महिलाप्रतिको दृष्टिकोण र व्यवहार उस्तै राखी अत्यन्तै संकुचित दायराबाट समाजवादसम्मको यात्रा कसरी तय हुन्छ ?
आफ्नै घरबाट आरम्भ हुन्छ, महिला स्वाधीनताको लडाइँ । यदि देख्छे भने जीवनमा स्वतन्त्रताको मीठो सपना, उसले नलडी हुँदैन, एउटा महाभारतजस्तो युद्ध । एकपटक नउभ्याई हुँदैन, आफैँले आफूलाई अर्जुन बनाएर कुरुक्षेत्रमा । जहाँ निसाना साँध्नैपर्ने हुन्छ । तर, प्रतिद्वन्द्वी भीष्म बनेर उभिएका हुन्छन्, आफ्नै पितामह । चारैतर्फ आफ्नाहरू छन् । वाण कसरी चलाउनु ? किंकर्तव्यविमूढताको एउटा लामो युद्ध जितेर मात्र उसले पहिलोपटक आफूलाई स्वतन्त्र बनाउन सक्छे, आफ्नाहरूले नै बाँधिदिएको जन्मजात मर्यादाको घेराबाट ।
घरको सँघार नाघेको विजयोत्सव मनाउन नपाउँदै बाटामा अवरोधका काँडा बिछ्याउन आइपुग्छन्, समाजका कथित सभ्य ठालूहरू । जति कठोर संघर्षको यात्रा तय गर्छे, उति नै घेरिँदै जान्छे, पितृसत्ताद्वारा प्रशिक्षित विषाक्त पुरुषहरूको घेरामा । यस्तो घेराबाट ऊ एक्लै आखिर कतिन्जेल र कसरी संघर्ष गरिरहन सक्छे ? निजी जिन्दगीको घेरा तोडेर सामाजिक ‘स्पेस’मा आबद्ध हुन चाहने हरेक महिलाले भोगिरहेको जटिल प्रक्रिया र हरेक संघर्षरत नारीको दुःखान्त कथा यही हो ।
बौद्धिक आवरणमा पितृसत्ताका एजेन्टहरू ः ‘शिरीषको फूल’को सफलताले कमाएको प्रसिद्धिसँगै साहित्यकार पारिजातको जीवनमा एउटा अत्यासलाग्दो तुफान आइदियो, जससँग जुध्नभन्दा बरु एउटा अप्ठ्यारो मृत्युवरण गर्न सजिलो हुने उनले भोगेको आफ्नै अनुभूति हो । यो समाज फक्रिँदै गरेका उत्साहका कलिला मुनालाई ऊर्जाले मलजल गर्नुको सट्टा निमोठेर एउटा स्वप्नदर्शी स्वास्नीमानिसलाई कसरी घोर निराशामा धकेल्दै हतोत्साही बनाउन अभ्यस्त छ भन्ने भोगाइको यो एउटा बलियो उदाहरण हो । ‘शिरीषको फूल’ लेखेकै आधारमा उनको कृतिसँग उनलाई ‘जज’ गर्दै सकम्बरी बनाउन खोज्ने, मृदु भाषामा साहित्यिक सन्दर्भका बौद्धिक कुरा गर्दै आँखाबाट वासना बोल्ने, एकान्त खोज्ने, प्रेम र यौनाग्रह गर्दै उनलाई घेराबन्दीमा पार्ने कथित बौद्धिककै जत्था थियो ।
भट्टीहरूमा चर्चा गर्ने, फोटो प्रदर्शन गर्ने, आफू–आफू झगडा गर्ने, ईष्र्या गर्ने, यति मात्र नभएर कोठामा मातेर आइदिने, आधा रातमा ढोका घचघच्याउने, सडकबाट बोलाइदिने एउटा ‘बजारु’ बनाइएकी महिलाले व्यहोर्नुपर्नेजस्ता समस्या सामना गर्नुपरेको कुरा पारिजात स्वयंले स्विकारेकी छिन् । निजी जिन्दगीको घेरा तोडेर खुला समाजमा विचार उत्पादन र बहस गरिरहेकी एउटी सिर्जनशील र विचारवान् सर्जकको विचारलाई नजरअन्दाज गरी केवल शरीरमा छरपस्ट कामुकता छरिएको यौनांग देख्ने र यौनजन्य सम्बन्ध मात्रै स्थापित गर्न खोज्ने घृणित समाज पनि यही हो । पारिजात बितेको दुई दशकपछि पनि नेपाली समाजको गति त्यहीँ अल्झिनु विडम्बना हो । अग्रगमनको दुहाइ दिने कथित बुद्धिजीवीमा आज पनि त्यही मानसिकता बाँचिरहनु र आजका महिलालाई पनि पारिजातले भोगेजस्तै पीडा भोग्न विवश पारिरहनु समकालीन समयको अत्यन्तै दुःखद तस्बिर हो ।
चाहे कुनै कवि, लेखक वा सामाजिक तथा राजनीतिक रूपमा सक्रिय महिला नै किन नहोऊन्, ती आज पनि यस्ता विषाक्त पुरुषको घेराबन्दीमै छन् । ती पुरुष खुला रूपमा महिलामुक्तिका पक्षधर भएको ढोङ रच्छन् र भित्रभित्रै स्त्रीद्वेषी गतिविधिमा संलग्न हुन्छन् । परको भन्दा घरको शत्रु झनै घातक हुन्छ । हरियो घाँसभित्रका विषालु सर्पझैँ सरोकारवालाहरू नै नारीमुक्तिको बाटामा विभिन्न तरिकाले ठूलो अवरोध बनेका हुन्छन् ।
आज पनि पढेलेखेका र अग्रपंक्तिमा रहेर समाजलाई एकखाले दिशानिर्देश गरिरहेका बौद्धिक तथा सामाजिक अगुवा भनिने पुरुषबीच निश्चित महिलालाई मनोरञ्जनपूर्ण ‘गसिप’को विषय बनाइन्छ । चुरोटको धुवाँ, वाइन र ह्विस्कीको चुस्कीसँगै बडो मुस्किलले सामाजिक वृत्तमा उभिएका महिलाको सामाजिक जीवनको हुर्मत काढिन्छ । प्रेम वा यौन प्रस्ताव अस्वीकार गरेकै कारण बदनामीको धब्बा लगाइन्छ । ‘नाइँ’ भनेकै कारण एसिडको सिकार भएका मुस्कान खातुनहरू समाजमा प्रशस्तै छन् । महिलाको इज्जतलाई सियोको टुप्पोसँग तुलना गर्ने पितृसत्तात्मक समाजमा कसैले एकपलमै महिलाको इज्जतको धज्जी उडाउन कठिन छैन ।
पितृसत्ताले निर्माण गरेका कथित मर्यादा तोडेर अघि बढ्न खोज्ने महिलाको यात्रालाई निस्तेज बनाउन यस्ता प्रवृत्ति साथी, सहकर्मी, अग्रज वा शुभचिन्तककै आवरणमा हाम्रै वरिपरि फन्को मारिरहेका छन् । उनीहरू आफूप्रतिकूल महिलामाथि विभिन्न बदनामीको कलंक लगाउँछन् । यो समाज त्यही कलंकलाई आधार बनाएर कदम–कदममा शुद्धताको अग्निपरीक्षामा सामेल गराई संघर्षरत महिलाको बाटोलाई अझै जटिल बनाएर घोर निराशा र पलायनतर्फ लाग्न बाध्य तुल्याउँछ । महिलाको इज्जतलाई उसैमाथि प्रहार गर्ने हतियार बनाएर यस्ता प्रवृत्तिको आडमा पितृसत्ताले निरन्तर आफूलाई झन्–झन् मजबुत बनाइरहेको छ ।
वाम आन्दोलन र पितृसत्ताका बाछिटा : रुसी क्रान्तिकारी इनेसा अर्मान्ड भन्छिन्, ‘यदि साम्यवादविना नारीमुक्ति अकल्पनीय छ भने नारीमुक्तिविना साम्यवाद पनि अकल्पनीय छ ।’ यस्तै कथ्य छ, माक्र्स, एङ्गेल्स, लेनिन र माओको पनि । महिला मुक्तिविना समाजवाद असम्भव छ भन्ने मान्यतालाई व्यवहारमै लागू गर्दै रुसमा लेनिनको कार्यकालमा पहिलोपटक यसको अभ्यास गरियो । ‘क्रान्तिमा महिला सहभागिताले सफलता वा असफलता निर्धारण गर्छ’ भन्ने लेनिनवादी मान्यता पछ्याउँदै महिलाको सहभागिताविना कुनै पनि आन्दोलन सफल नहुने एजेन्डा बोकेर नेपालका राजनीतिक दलले पनि महिला उपस्थितिका लागि आह्वान गरिरहेकै छन् ।
माओवादी जनयुद्धमा महिला सहभागितालाई इतिहासमै सबैभन्दा ठूलो जागरणका रूपमा अथ्र्याइन्छ । मुक्ति वा मृत्युको शपथ खाई जीवनलाई क्रान्तिसँग साटेर आफ्नो प्राणको आहुति दिन तयार महिलाले देखेको मुक्तिको सपना आज दुर्घटित बनेको छ । जीवनको एउटा अध्याय क्रान्तिमा सुम्पेर पनि फेरि बाँकी जीवन यही सामन्ती समाजको पुरातन मूल्य–मान्यतामा फिर्ता हुनुपरेको तीतो यथार्थ छ । अर्कातिर ठूला भनिने पार्टीमा पनि महिलाबारे सोचाइको दायरा फराकिलो देखिन्न । उनीहरूमा सिद्धान्त र व्यवहारबीच ठूलो विरोधाभास छ । रोजा लक्जेम्बर्ग र लेनिनको सहकार्य तथा हरेक बहस कण्ठ पार्दै नयाँ युगका रोजाहरू खोजिरहेका हाम्रा कमरेडहरूको ध्यान त्यहाँसम्म पुग्नैसकेको छैन ।
संघर्षरत महिलाको बाटोमा षड्यन्त्र स्वयं खडा गर्छ र हिलो छ्याप्ने प्रपञ्च रच्दै कदम–कदममा नैतिक शुद्धताको मापन गर्ने यन्त्र लिएर आफैँ उभिन्छ, यो कायर समाज
महिला भएकै कारण सम्हालिएर कदम चाल्नुपर्ने अवस्था सबैतिर छ । शंका उपशंकाको घेराबन्दी सबैतिर छ । निगरानी र नियन्त्रण उस्तै छ । महिला नेतृत्व अस्वीकार गर्ने परिपाटी हटेको छैन । पितृसत्तात्मक सामन्तवादले कब्जामा राखेको महिलाको यौनिकता फुकुवा गर्नु महिला स्वतन्त्रताभित्रकै अनिवार्य सर्त मानिन्छ । तर, बोलीमा महिला स्वाधीनता र स्वतन्त्रताको भाष्य ओकलिरहेको वाम आन्दोलनभित्र पनि यौनिक रूपमा महिलालाई कि त कुण्ठित गर्ने कि त शोषण गर्ने र महिला भएकै कारण उसलाई कदम–कदममा अग्निपरीक्षाबाट गुज्रिन बाध्य पार्ने परिपाटी छ । पितृसत्तावादी विचार बोकेर महिलाप्रतिको दृष्टिकोण र व्यवहार उस्तै राखी अत्यन्तै संकुचित दायराबाट समाजवादसम्मको यात्रा कसरी तय हुन्छ ?
यस्ता प्रश्नको जवाफ र वाम आन्दोलनभित्र टाँसिएका पितृसत्ताका बाछिटाको निदान नखोजेसम्म महिला सहभागिता र महिला मुक्तिको विषय प्रश्न मात्र बनिरहनेछ । ‘जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ’ भनेझैँ वर्गीय र लैंगिक शोषणको दोहोरो मारमा परेका कारण स्वाभाविक रूपमा पुरुषको तुलनामा महिलामा प्रतिरोधी भावना बढी हुन्छ । यसलाई ‘क्याप्चर’ गरी आन्दोलनले महिलाको प्रयोग होइन, बरु आन्दोलनभित्रका कमी–कमजोरी सुधार्दै मुक्तिको सुनिश्चितता गर्नु आवश्यक छ ।
लैंगिक समावेशिताको सवाल : केही समयअघि प्रगतिशील लेखक संघको ब्यानरमा लस्करै देखिएका पुरुष अनुहारले यो प्रगतिशील लेखक संघ हो कि पुरुष लेखक संघ भन्ने प्रश्न उठाए ? यस्ता प्रश्न अन्यत्र पनि उब्जिने गरेका छन् । तैपनि, किन न्यून देखिन्छ विभिन्न निकायमा महिलाको उपस्थिति ? एकातर्फ समावेशिताको नारा बोकेर खुला उपस्थितिको आह्वान गर्ने र अर्कातर्फ ती निकायमा पुग्ने सबै बाटामा अवरोधको भीमकाय पहाड निर्माण गर्न आफैँ अग्रसर देखिन्छन्, छद्मभेषी सामाजिक÷राजनीतिक अगुवाहरू । जो कहिल्यै चाहँदैनन्, महिला समकक्षी वा प्रतिस्पर्धी भएर उनीहरूको अघिल्तिर खडा होऊन् र आफ्नो पुरmषवादी दम्भमाथि आघात पु¥याऊन् । समानता र समावेशिताको प्रश्न त केवल हात्तीको देखाउने दाँत मात्रै बन्न पुगेको छ । देखाउनकै लागि सहभागिताको ढोङ गरे पनि विभिन्न निकायमा पुरुषकै हालीमुहाली छ र महिलाले पुरुषकै रोहबरमा काम गर्नुपरिरहेको छ ।
एकाध महिला छन्, जो निश्चित गन्तव्यसम्म पुग्न महिलामुक्तिका कुरा गर्छन् । पद र प्रतिष्ठाका लागि सीमान्तकृतको भावनासँग खेल्नु तिनको राजनीतिको दैनिकी बनेको छ । दुःखको कुरा, उनीहरू जब सत्ता र शक्तिनजिक पुग्छन्, तब मुक्तिका सवालबाट बेखबर बनिदिन्छन् । आखिर यस्तो अवस्था केले निम्त्याइरहेको छ ? के सीमित महिला राज्यका विभिन्न निकाय वा शक्ति र सत्तामा पुग्दैमा मात्रै समस्याको हल हुने हो ? महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश नै भइसकेको देशमा किन यति नाजुक छ, महिलाको अवस्था ? किन ती निकायमा पुगेका महिलाले निम्न तप्काका संघर्षशील महिलाको बाटामा सहयोगी भूमिका खेल्न सकेनन् ? एकाध महिला आफ्नो कठोर संघर्ष भुलेर ‘महामहिला’मा परिणत भएका छन् भने कति यो भ्रष्ट सत्ता र शक्तिको रागमा बिलय हुन पुगेका छन् । यसको पछाडि रहर या बाध्यता के छ ? या उनीहरू शक्तिशाली पुरुषको घेराबन्दीमा छन् या बलिष्ठ पितृसत्ताविरुद्धको संघर्षमा किचिएका छन् । या कतै सामाजिक मानमर्यादा र प्रतिष्ठामा आँच नआओस् भनेर आत्मसमर्पण गरी यही सत्ता र संरचनाभित्रै समाहित भएर आफ्नो पद र प्रतिष्ठा जोगाउने ध्याउन्नमा छन् ।
साँच्चै महिलामुक्ति चाहने हो भने यी र यस्ता समस्यामाथि दृष्टिगोचर हुनु अत्यावश्यक छ । विभिन्न निकायमा महिलाको खोजी हुँदै गर्दा त्यसले सिर्जेका प्रश्नको उत्तर पनि खोज्नु आवश्यक छ । के महिला आफैँ अयोग्य हुन् या पितृसत्तावादी समाज महिलाको सक्षमताको बाटामा आफैँ भीमकाय पहाड बनेर उभिएको छ ? संघर्षरत महिलाको अघिल्तिर छिचोल्नै नसक्ने अवरोधका काँडा किन बिछ्याइएका छन् ?
सामाजिक वृत्तमा उभिएका र उभिने कोसिस गरिरहेका महिलाले यस्ता समस्यासँग निरन्तर जुधिरहनुपरेको छ । उनीहरूका बाटामा जटिलता खडा गरी बौद्धिक तथा प्रगतिशील आवरणमा पितृसत्ताको संरक्षकको भूमिका निर्वाह गर्दै धमिलो पानीमा माछा मार्न अभ्यस्त पात्र तथा प्रवृत्तिविरुद्ध कडा बहस र संघर्ष नगर्दासम्म महिला मुक्ति केवल नाममै सीमित बनिरहनेछ ।