मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन सुब्बा
२०७८ बैशाख ३ शुक्रबार १०:१५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सिनेमा र साहित्यले नबुझेको गोर्खा

अग्रलेख

Read Time : > 3 मिनेट
नवीन सुब्बा
२०७८ बैशाख ३ शुक्रबार १०:१५:००

कविहरूले लेखे– गोर्खाली मूर्ख छन्, त्यसैले बहादुर भए, तर बहादुर हुन मूर्खता होइन, ज्ञान, सीप, युद्धकौशल चाहिन्छ

हाम्रो नेपाली सिनेमामा लाहुरे पात्रलाई बढाइचढाइ गरिएको छ । बहादुरी देखाउँदा पनि आवश्यकताभन्दा ज्यादा र मूर्खता देखाउँदा पनि त्यसरी नै देखाइएको छ । त्यसकारण हाम्रो सिनेमामा लाहुरेको अनुहार आउँदैन । युद्धमा जानु बहादुरी मात्रै होइन, मानवीयताको कुरा पनि हो । लाहुरेको कथा आउँदा उनीहरूको संवेदना, वास्तविक मुद्दा पनि आउनुपर्छ । हाम्रो सिनेमा त्यहाँ चिप्लिएको छ ।

सिनेमा मात्रै होइन, राज्य र बुद्धिजीवीले पनि लाहुरेप्रति गलत भाष्य निर्माण गरिदिएका छन् । ‘भाडाको सिपाही’ भनेर गलत सम्बोधन गरिन्छ । ब्रिटिस गोर्खा भर्ती सुगौली सन्धि (१८१६) पछिका कुरा हुन् । तर, सुगौली सन्धिअघि नेपालीहरू पञ्जाबसम्म भाडामा गएर लडेका छन् । मुगलहरू नेपाल आएका छन् । त्यसवेला अहिलेजस्तो सीमारेखा थिएन, राज्य संरचना थिएन र भाडामा जान्थे उनीहरू । सुगौली सन्धिपछि पनि भर्तीका रूपमा वीरशमशेरको पालापछि मात्रै स्विकारिएको छ । तर, त्यसअघि त भागेर भर्ती हुन गएका छन्, इस्ट इन्डिया कम्पनीमा । त्यसरी जाँदा नेपालमा सर्वस्वहरण पनि गरिएको छ । 

गोर्खा भर्तीले वैधानिकता पाएपछि नै त्यसलाई राष्ट्रवादसँग जोडियो । एउटा देशको नागरिक अर्को देशमा गएर लड्ने ? भनेर तर्क गर्न थालिए । त्यो समयको चेतनामा सही थियो होला, तर अहिले आएर यो गलत तर्क हो । अमेरिका गएर माइक्रोसफ्ट कम्पनीमा काम गर्दाचाहिँ महान् काम, भर्तीमा जाँदा चाहिँ खराब ? जो अहिले पनि अफगानिस्तान पुगेर शान्तिका लागि उभिन्छन्, उनीहरू कसरी खराब भए ? कि भन्न सक्नुपर्‍यो– गोर्खा भर्ती खराब हो भने बाहिर जानु नै खराब हो । अहिलेको समाजले त्यसो भन्न सक्छ त ? सक्दैन । अहिले जस्तो किसिमको सामाजिक–आर्थिक परिस्थिति निर्माण भएको छ, जहाँ सही र गलत भन्नु अनावश्यक विषय हो ।

सन् १९४७ पछि बेलायतले चारवटा जातिलाई आफ्नो सेनामा समावेश गर्‍यो– मगर, राई, लिम्बू र गुरुङ । तर, भारतीय सेनामा अरू जाति पनि धेरै नै गएका छन् । दोस्रो विश्वयुद्धपछि जब भारत स्वतन्त्र भयो, दशमध्ये बेलायतले चारवटा रेजिमेन्ट लिएर गयो । ६ वटा भारतमै रह्यो । त्यसमा पनि दुईवटा रेजिमेन्ट विशेष गरेर खसहरूका लागि थियो । अहिले पनि ठकुरी, क्षेत्री भारतीय सेनामा ठूलै संख्यामा छन् । तर, उनीहरूलाई ‘भाडाको सिपाही’ भन्ने भाष्य राज्यले निर्माण ग¥यो । यस्तो भाष्य बनाइनुमा राज्यको आफ्नो कमजोरी लुकाउने नियतबाहेक केही छैन । राज्यले जागिर दिन सक्दैन थियो त्यो वेला, अहिले पनि दिन सकेको कहाँ छ र ! अनि भर्ती बन्द गर्न पनि नसक्ने, भाडाको सिपाही पनि भनिरहने । यसमा राज्यको दोहोरो चरित्र देखिन्छ । पछि कम्युनिस्टले पुँजीवादी खेमामा बेलायत गयो भनेर यो भाष्यलाई प्रचार गरिदिए । तर, गोर्खाहरूले बेलायतमा प्रजातन्त्रको अभ्यास भइसकेपछि लडेका थिए, यो इतिहास बिर्सिनुहुँदैन ।

अर्को पाटो, गोर्खा लाहुरेहरूको योगदानलाई राज्य, समाज, बुद्धिजीवीहरूले अवमूल्यन गरिदिए । नेपालमा ठूला सहरहरू लाहुरेले विकसित गरिदिएका हुन्् । धरान, बुटवल, पोखरा, नारायणघाट लाहुरेहरूले बसालेका हुन् । त्यसको कारण एउटै थियो– पहिलो र दोस्रो विश्वयुद्धबीचमा नेपालका लागि संसार चिहाउने आँखा गोर्खा मात्रै थिए । नेपालमा प्रजातन्त्र आउनुमा गोर्खालीकै देन छ । मुक्ति सेनामा उनीहरू नै थिए । तर, नेपाली समाजमा उनीहरूको योगदानलाई अवमूल्यन गरिन्छ । गोर्खालीहरू मुक्ति सेनामा नगएको भए सशस्त्र संघर्ष सफल नहुन पनि सक्थ्यो । गोर्खालीहरूले संसारलाई चिहाएर आए । खुलापन, उदारता, वैभव, समृद्धि, विकास देखेर आए । ००७ सालमा प्रजातन्त्रको आन्दोलन सफल हुनुको एउटा कारक हो यो । 

गोर्खालीहरूले अर्काका लागि युद्ध लडे भनिन्छ, तर उनीहरूले मानवीयताका लागि लडेका थिए । फाँसीवादका विरुद्ध लडेका थिए । कहिल्यै हिंसाको पक्षमा लडेनन् । जर्मन, जापानीहरूको अत्याचारविरुद्ध लडे । सत्यको पक्षमा लडे । प्रतिरोधका लागि लडे । तब किन हीनताबोध पाल्ने ?

अहिले पश्चिमेली विकासको मोडेलमाथि प्रश्न उठ्ने गरेको छ । यो पछिल्लो चेतना हो । तर, पहिला त समाज विकास हुनुपर्दो रहेछ ! त्यसमा गोर्खाको योगदान छ । औद्योगिकीकरण कस्तो खालको गर्ने, उपभोक्तावादमाथिका प्रश्न पछिल्ला चेतना हुन् । तर, नेपाली समाज विकास गर्ने हो भने उदारता र खुलापन चाहिन्छ भनेर काम गरेको हो गोर्खाले । वनारसमा पढ्ने दुई–चारजनाले ल्याएको होइन । त्यसवेला नेपाल त बन्द समाज थियो । त्यसलाई चिर्न गोर्खा भर्तीले काम ग¥यो । हामीले वस्तुगत भएर गोर्खालीको योगदानको विश्लेषण गरेनौँ । त्यसैले गोर्खालाई हेर्ने दृष्टिकोणमा हेयभाव छ ।

गोर्खाहरू पूर्व–पश्चिम जहाँको भए पनि कमान्डको विकास भयो । एकअर्कालाई नम्बरी भन्ने भए, त्यसले युद्धभूमिमा एकअर्कालाई चिन्ने भए । त्यसले नेपालमा हामी एक हौँ भन्ने राष्ट्रियताको विकास गरेको हो । अर्को पाटो, राणाशासन, पञ्चायत हुँदै अहिले गणतन्त्रमा छौँ । केही जनजातिहरू भन्ने गर्छन्, ‘विदेशी सेनामा भर्तीको संस्कृति नभएको भए हामी धेरै माथि हुन्थ्यौँ ।’ तर, गोर्खा भर्तीमा तामाङ, थारू त गएका थिएनन् ! चेपाङ, धिमाल, राजवंशी गएका थिएनन् ! यदि भर्ती नहुँदा धेरै बुद्धिजीवी हुन्थे भने उनीहरू किन भएनन् ? किनभने जे तर्क गरे पनि हाम्रो राज्यमा निश्चित समुदायलाई संरचनागत लाभांश छ । त्यसलाई चिर्न गोर्खा भर्तीले ठूलो योगदान गरेको छ । राई, लिम्बू समुदायबाट आएका ठूला मान्छेहरू कहीँ न कहीँ गोर्खासँग जोडिन्छन्, जोडिएका छन् ।

गोर्खा भर्तीबारे गलत भाष्य निर्माण गर्नमा हाम्रो साहित्यले ठूलो मलजल गरेको छ । हाम्रो साहित्यले जहिल्यै गोर्खाप्रति हीनताबोध पाल्यो । उनीहरूको सवालमा हीनताबोध पाल्नुपर्ने कुनै कारण छैन । हाम्रा कविहरूले लेखे– गोर्खाली मूर्ख छन्, त्यसैले बहादुर भए । तर, बहादुर हुनु मूर्खता होइन, त्यसका लागि ज्ञान, सीप र युद्धकौशल चाहिन्छ । मूर्ख भएर कोही बहादुर हुन्छ ? हाम्रो साहित्यले मूर्ख भएकाले बहादुर भयो भन्दै आएको छ । बहादुर त शत्रुलाई जितेर आफू सुरक्षित हुनुलाई भनिन्छ । आत्महत्या गर्नुलाई बहादुरी भनिन्न । १३ जना भिसी पाउनेहरूमध्ये ११ जना त बाँचेर फिरेका छन् । उनीहरू कसरी मूर्ख भए ? हामीले त एकप्रकारको हीनताबोध मात्रै पालेका रहेछौँ । हाम्रा कविहरूमा अध्ययन र आलोचनात्मक चेतकै कमीले उनीहरूले गोर्खाहरूलाई मूर्ख र बुद्धु देखे । साहित्यमा त्यही लेखियो । राज्यले त भाडाको सिपाही नै करार गर्‍यो । यो उनीहरूको योगदानको अवमूल्यन र उनीहरूप्रतिको हीनताबोधबाहेक केही होइन । 

गोर्खालीहरूले अर्काका लागि युद्ध लडे भनिन्छ, तर उनीहरूले मानवीयताका लागि लडेका थिए । फाँसीवादविरुद्ध लडेका थिए । कहिल्यै हिंसाको पक्षमा लडेनन् । जर्मन, जापानीहरूको अत्याचारविरुद्ध लडे । सत्यको पक्षमा लडे । प्रतिरोधका लागि लडे । तब किन हीनताबोध पाल्ने ? यहाँ ‘आफ्ना लागि लड्नुपर्छ’ भनिन्छ । दश वर्ष आफ्ना लागि लडेको होइन त ? के भयो उपलब्धि ? जनयुद्धको एउटा सिमेट्री (चिहान–उद्यान) त छैन ! तर, संसारभरि गोर्खाको चिहान छ, सालिक छ । यही कारण गोर्खा जीवनको भाष्यमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।