
नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ। जेठ २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर बिहीबार काठमाडौंमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा दुर्गम गाउँमा मोटरबाटो आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्।
दयाहाङले बाँसको चोयाको काम गर्ने ‘माइला’ पात्रको भूमिका निर्वाह गरेका छन् भने पशुपति उनको श्रीमती (माइली) र प्रसन छोराको भूमिकामा देखिएका छन्। केशव राई, सुमिन्त्रा राई, राज थापा, प्रेम सुब्बालगायतको पनि अभिनय देख्न सकिन्छ।
चलचित्रको निर्माता अमोद राई हुन्। चलचित्रलाई सामुदायिक लगानीको अवधारणामार्फत निर्माण गरिएको हो। चलचित्रको कथालाई महेश राई र नवीन सुब्बाले मिलेर लेखेका हुन्।
‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो’, दक्षिण कोरियाको ‘बुसान’, ब्राजिलको ‘साउपाउलो’, भारतको ‘मुम्बई’, स्विडेनको ‘गोटेबर्ग’, चीनको ‘बेइजिङ’लगायतका डेढ दर्जन चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको छ।
चलचित्रको छायांकन अमेरिकी छायांकार जोस हेरम र सम्पादन ताइवानका क्वान पुन लुङले गरेका हुन्। चलचित्रको गीतमा हङकङकी हाइडी लीको संगीत र राजेशपायल राईकाे आवाज रहेको छ।
चलचित्रको छायांकन भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा गरिएको हो।