मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
२o८२ भदौ २८ शनिबार २१:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद

दोस्रो संस्करणको पर्वतीय दौडको मिति सर्‍यो

४ असोजमा हुने भनिएको दौड ११ असोजमा, पुरस्कार राशी दोब्बर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार २१:१६:oo

दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता ०८२ को मिति सरेको छ । जेन-जीको प्रर्दशनसँगै देशमा सृजना भएको विषम परिस्थितिका कारण प्रतियोगिताको मिति एक सातापछि सारेको आयोजकले जानकारी दिएका छन् ।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा ४ असोजमा हुने तय भएको थियो । अब प्रतियोगिता विश्व पर्यटन दिवसका दिन २७ सेप्टेम्बर अर्थात ११ असोजमा हुने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए ।

पोखरा महानगरपालिका–२२ स्थित तीन धार्मिक पर्यटकीय स्थलहरू पुम्दी–भुम्दीमा रहेको विश्व शान्ति स्तुपा, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति एवं निगालेडाँडास्थित बुद्धपार्कलाई खेल पर्यटनका माध्यमबाट जोड्ने उदेश्यसहित दौड आयोजना गर्न लागिएको हो । 

पहिलो संस्करणको तुलनामा दौडको पुरस्कार राशी दोब्बर बनाएको संयोजक बरालले जानकारी दिए । बरालका अनुसार दौडको पुरस्कार राशी दोब्बर बनाएसँगै खुलातर्फ प्रथम हुने धावकले ५० हजार, दोस्रोले ३०, तेस्रोले २०, चौथोले सात, पाँचौँले तीन हजार र छैटौँदेखि १०औं स्थान हात पार्ने धावकहरूले जनही एक हजार नगद, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेताले जनही १५ हजार र उपविजेताले सात हजार नगद, मेडल र प्रमाणपत्र पाउने भएका छन् । यसवर्ष ४० वर्षमाथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको संयोजक बरालले जानकारी दिए ।

भेट्रान र विदेशीतर्फका विजेताले जनही १५ हजार नगद प्रोत्साहन पुरस्कार पाउने भएका हुन् । बरालका अनुसार पहिलो संस्करणमा ६ जना धावकलाई पुरस्कृत गरिएकोमा यसवर्ष पुरस्कार राशी दोब्बरसँगै १८ जना धावक पुरस्कृत हुने भएका छन् । 

विश्व शान्ति स्तुपबाट सुरु हुने दौड पुम्दीकोटको महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्धपार्कमा पुगेर समापन हुनेछ ।

खेल पर्यटनमार्फत पर्यटन प्रवद्र्धन गर्नेसँगै जोड्ने मूल उद्देश्यसहित आयोजना गर्न लागिएको दौडको दुरी आठ किलोमीटर रहनेछ । दौडले समग्र पोखरा क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको दाबी छ ।