मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ बैशाख २ बिहीबार १६:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

Read Time : > 1 मिनेट
२०७८ बैशाख २ बिहीबार १६:४२:००

मौसमी रुघाखोकी फैलिँदा जुम्लाको तातोपानी गाउँपालिकाको मुकामदेखि दक्षिणी भेगमा पर्ने भेरीखोलाको ताम्ती गाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका हुन् । 

तातोपानी गाउँपालिकाको भेरीखोला ७ र ८ नम्बर वडा पर्दछ । ७ नम्बर वडाको ताम्तीस्थित जनजागृति माध्यमिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा वार्षिक परीक्षा चलिरहेको वेला विद्यार्थी एकाएक बिरामी पर्न थालेकाले विद्यालय बन्द गरिएको छ ।

टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्तीका प्रधानाध्यापक जनक रावतले बताए । उनले भने, ‘अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ ।’ गत २३ चैतमा परीक्षामा अनुपस्थित छात्र २४ चैतमा अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि थप विद्यार्थी एकाएक बिरामी पर्न थालेका हुन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावत विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको बताउँछन् । बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रासमा रहेको उनले बताए । 

समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले बताए । ‘गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्र रूपमा थला पार्न थालेको छ,’ उनले भने, ‘तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ ।’

लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन् । अहिले छिमेकी गाउँमा समेत बिरामी पर्न थालेको उनले बताए । 

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार मौसमी रुघाखोकी फैलिएको छ । यसको रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । 

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि १ वैशाखमा स्वास्थ्यकर्मीको टोली गाउँमा छ ।