मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २ बिहीबार १३:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिंहदरबारभित्र नायब सुब्बाको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २ बिहीबार १३:००:००

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरू आन्दोलित भएका छन् । 

संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्थाअनुसार नायब सुब्बाहरूमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदरबारभित्र काम गर्ने नायब सुब्बाहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।

राजपत्र अनंकित तृतीय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरूमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितीय श्रेणीको खुला विज्ञापनमा राजपत्र अनंकित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफूहरूको रहेको नायब सुब्बा श्रीराम पौडेलले बताए । 

प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीहरूको मनोबल घटाउने मात्र नभई हितविपरीत भएकोले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायब सुब्बा लक्ष्मीप्रसाद शर्माले बताए । प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामती सेवा नभएकोसमेत बताए । 

प्रस्तावित ऐनले कर्मचारीहरूको वृत्ति विकास, सेवा, सुविधा र अवसरहरूलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागी नायब सुब्बा लक्ष्मण गुरागाईंले बताए । आन्तरिक प्रतिस्पर्धाबाट वृत्ति विकासको बाटो पाउनुपर्ने मागलाई सरकार, संसद् र सांसदहरूले सम्बोधन गर्नुपर्ने नायब सुब्बा सुष्मा थापाले बताइन् । 

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रदर्शनकारीले ‘हामी अधिकारभन्दा पनि न्याय माग्न आएका हौँ,’ ‘माननीयज्यू नासुको आँसु देख्नुभएन ?’, ‘गिराएर मनोबल ! कस्तो खोजेको प्रतिफल ?’, ‘राजपत्र अनंकित श्रेणीको कर्मचारीको अनुभवलाई अनुभव मान’लगायतका प्लेकार्ड बोकेका थिए । यस्तै प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए । माग पूरा नभएसम्म आफूहरूको आन्दोलन जारी रहने नायब सुब्बाहरूले बताएका छन् ।