मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०७:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिक्रियावादी षड्यन्त्र चकनाचुर पार्न नयाँ सरकार अपरिहार्य : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०७:२२:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको बताएका छन् । नयाँ वर्ष ०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ सरकार गठनका लागि प्रतिगामी कदमविरुद्ध संघर्षरत सबै पक्षलाई आह्वानसमेत गरेका छन् । 

‘प्रतिक्रियावादी षड्यन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको छ । प्रतिगामी कदमविरुद्ध संघर्षरत सबै पक्षलाई संघर्षका निम्ति मोर्चा बनाई एकताबद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आह्वान पनि गर्दछु,’ प्रचण्डको सन्देशमा छ ।

प्रचण्डले प्रधानमन्त्री केपी ओलीको नामै नलिई उनले षड्यन्त्रमूलक ढंगले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । ‘दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकताबाट निर्माण हुने शक्तिले देशलाई नेतृत्व गर्ने, जनतालाई सामाजिक न्याय र आत्मसम्मान दिने र राष्ट्रिय एकता कायम गर्दै विकास, निर्माण र उत्पादन वृद्धिको अभियान चलाउने भन्ने हामीले सपना देखेका थियौँ । नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिस्ट पार्टीहरूबीच एकता कायम भएको हो,’ प्रचण्डको सन्देशमा छ, ‘कम्युनिस्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरूले षड्यन्त्रमूलक ढंगले विभाजन गरे । प्रतिगामी प्रतिक्रियावादीको त्यसप्रकारको षड्यन्त्रलाई निस्तेज गर्न कम्युनिस्ट आन्दोलनको एकताको झन्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि हार्दिक अपिल गर्दछु ।’

प्रचण्डले आफ्नो सन्देशमा अबको हाम्रो समाजवाद कस्तो हुने, यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ आफूहरूले दिनुपर्ने भएको उल्लेख गरेका छन् । ‘वर्ग–संघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ । कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरूप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचना प्रविधिमा आएको विकासलाई उत्पादन र वर्गसंघर्षका निम्ति व्यावहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्छ,’ उनको सन्देशमा छ । 

यसबाहेक प्रचण्डले सन्देशमा नयाँ वर्षसँगै नेपाली जनतामा जोस, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुनेछ भन्ने विश्वास लिएको पनि उल्लेख गरेका छन् ।