मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख १ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख १ बुधबार o८:३o:oo
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कमलपोखरी पुनर्निर्माणमा ढिलासुुस्ती, काठमाडौं महानगर प्रमुख असन्तुष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख १ बुधबार o८:३o:oo

पोखरीमा हालियो मेलम्चीको २० लाख लिटर पानी

पुनर्निर्माणको काम जुन गतिका साथ हुनुपर्ने हो, त्योअनुसार भइरहेको छैन । पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ त्यो सबै विवरण तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहियो ।  - विद्यासुन्दर शाक्य, प्रमुख काठमाडौं महानगरपालिका

...                   ...                   ...

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन पनि दिएका छन् । वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इन्जिनियर प्रेम श्रेष्ठलगायतलाई लिएर सोमबार कमलपोखरी निरीक्षण गर्नेक्रममा उनले पुनर्निर्माणको काममा ढिलासुस्ती भएको भन्दै पटक–पटक सयमसीमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रस्ट पारे ।

‘पुनर्निर्माणको काम जुन गतिका साथ हुनुपर्ने हो, त्योअनुसार भइरहेको छैन,’ शाक्यले भने, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहियो ।’ ठेकेदार कम्पनी जय धनञ्जय कँडेल निर्माण सेवा जेभीले कमलपोखरी पुनर्निर्माण गरिरहेको छ । शाक्यले डिजाइनअनुसार तलमाथि नहुने गरी काम गर्नसमेत निर्देशन दिए । प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै डिजाइनका बारेमा सामान्य जानकारीसमेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गरे । उनले कमलपोखरीमा चारवटा कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने जानकारी दिए । 

पहिला बेवारिसे र फोहोर जमेको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रूपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएको प्रस्ट पारे । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरूको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै उनले त्यही अभियानअन्तर्गत वर्षौंदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुनर्निर्माण गर्ने अभियान अघि बढाएको उल्लेख गरे । ‘संघीय र प्रदेशका माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरूसँग लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ,’ उनले भने, ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात् कमलपोखरी प्रहरी बिट जुन भत्काइसकेका छौँ, त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौं ।’ 

महानगर प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुई साताभित्र पुनर्निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चैत मसान्तभित्रै काम सम्पन्न गर्ने गरी कार्य भए पनि कामदारका कारण केही दिन ढिलाइ भएको बताए । ‘करिब ८५ प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब फिनिसिङ र बत्तीलगायतको काम बाँकी छ । त्यो पनि दुई हप्ताभित्र जसरी पनि सम्पन्न गरी हस्तान्तरण गर्छौं ।’ महानगरपालिका सहरी पूर्वाधार विभागका इन्जिनियर प्रेम श्रेष्ठले पोखरीमा करिब २० लाख लिटर पानी हालिएको बताए । ‘पोखरीमा टनाटन पानी भर्न करिब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उनले भने, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’