मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ चैत ३१ मंगलबार
  • Tuesday, 01 September, 2026
२o७७ चैत ३१ मंगलबार ११:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२o७७ चैत ३१ मंगलबार ११:५९:oo

नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्य रूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नगरपालिकाले विगतका वर्षहरूमा वैशाख १ गते नयाँ वर्षको अवसरमा मात्रै बिदा दिँदै आए पनि गत वर्ष १ र २ गते सार्वजनिक बिदा दिएको थियो । नगरपालिकाले यस वर्ष भने चैत ३१ गतेदेखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

‘हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्य रूपमा बिस्केट जात्रा मनाइन्छ, यहाँका स्थानीय बासिन्दाका लागि यो ठूलो चाडपर्व हो, यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्य रूपमा सिन्दुर खेलेर मनाइन्छ, बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ,’ उनले भने, ‘बिदाको अभावमा यहाँका बासिन्दाले आफ्नै चाड पनि राम्रोसँग मनाउन नसक्ने अवस्था रहेकाले यस वर्षदेखि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’

बिस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैँभन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन् । मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केट जात्रामा घर आउने र आफ्ना सबै नातेदार, आफन्तलाई बोलाएर भोज खुवाएर नौ दिन आठ रातसम्म भव्य रूपमा मनाउने गरिन्छ । 

आजै मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिरअगाडि लिंगो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको सहभागितामा स्थानीयवासीले लिङ्गो उठाएका हुन् । तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयवासीले लिंगो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवत रूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा छ ।

महालक्ष्मी मन्दिरअगाडि लिंगो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको हो । यस मन्दिरअगाडि  लिंगो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ ।   यहाँ आजै कुमारीको रथ लहीटोलमा पुर्‍याइन्छ भने राति करिब ९ बजे जिब्रो छेड्ने बुद्धकृष्ण वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ । आज ब्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नहुने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने परम्परा रहेको छ । 

मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुर जात्रा, विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्वहरू स्थानीयवासीले भव्य रूपमा मनाउने गरेका छन् । रासस