मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ चैत २७ शुक्रबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सकको लापरबाहीले कोरोना संक्रमितको  मृत्यु भएको भन्दै अस्पतालमा तालाबन्दी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ चैत २७ शुक्रबार १४:०४:००

अस्पतालको लापरबाहीका कारण कञ्चनपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको भन्दै पीडित परिवारले महाकाली अस्पतालकाे प्रशासनमा तालाबन्दी गरेका छन् । भीमदत्त नगरपालिका– १५ निम्खुबेडाका स्थानीय ४८ वर्षीय दलबहादुर चन्दको बुधबार बिहान मृत्यु भएको थियो ।  

पीडित परिवारले अस्पताल प्रशासनको लापरबाहीका कारण चन्दको मृत्यु भएको भन्दै शुक्रबार अस्पताल प्रशासनमा तालाबन्दी गरेका हुन् । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि कारबाहीको माग राखेर प्रशासनमा तालाबन्दी गरेका छन् । 

तालाबन्दीका कारण अस्पताल प्रशासनको कामकाज ठप्प भएको छ । महाकाली अस्पतालका प्रवक्ता नारद भट्टले तालाबन्दीका कारण कामकाज प्रभावित भएको बताए । उनका अनुसार हाल अस्पतालमा १६ जना कोरोना संक्रमित बिरामी उपचाररत छन् । 

मृतक चन्द भारतको गुजरातबाट फर्किएका थिए । वैदेशिक रोजगारीका लागि भारतमा रहेका चन्द  चैत २२ गते आइतबार महाकाली अस्पतालमा भर्ना भएका थिए ।  

भारतबाट दुई दिनअघि मात्रै गड्डाचौकी नाका भएर घर पुगेका चन्दलाई श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको उनका भतिजा जनक चन्दले बताए । उनले अस्पतालको लापरबाहीकै कारण आफ्नो काकाको मृत्यु भएको दाबी गरेका छन् ।