मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
राजीव दास गुप्ता
२०७७ चैत २४ मंगलबार ०९:४१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्पेनिस फ्लुकै मार्गमा कोरोना

Read Time : > 2 मिनेट
राजीव दास गुप्ता
२०७७ चैत २४ मंगलबार ०९:४१:००

सरकारले उपचार र अनुसन्धानमा जति ध्यान सामाजिक सतर्कतामा दिन सकेन, अब यो असन्तुलन पुर्न काम गर्नु पर्नेछ 

देशभरि कोभिड–१९ को संक्रमण जसरी फैलिरहेको छ, त्यो निकै चिन्ताजनक छ । कम्तीमा पनि ६ राज्यमा संक्रमण निकै तीव्र गतिमा भइरहेको छ । अन्य क्षेत्रमा पनि तीव्र गतिमा संक्रमण बढिरहेको बताइएको छ । सोमबार जारी तथ्यांकमा बितेको २४ घन्टामा एक लाख तीन हजार पाँच सय ५८ संक्रमण बढेको पाइएको छ । जुन प्रतिदिन हुने संक्रमणको दरमा निकै उच्च हो । यसबाट के स्पष्ट छ भने हामी कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेका छौँ । संक्रमणको दरमा देखिएको तीव्रताले स्पेनिस फ्लुको स्मरण ताजा गराइदिएको छ, जसलाई आजसम्मकै सबैभन्दा घातक विश्वव्यापी महामारीका रूपमा चिन्ने गरिन्छ । सन् १९१८ मा जति वेला पहिलो विश्वको अन्त्य हुँदै थियो, त्यति वेला स्पेनिस फ्लु पश्चिमबाट समग्र दुनियाँमा फैलिरहेको थियो । विश्वको झन्डै एकतिहाइ जनसंख्याले यसैका कारण अकालमा ज्यान गुमाउनुपर्‍यो ।

अप्रिल–मेमा यो महामारी तीव्र रूपमा ब्रिटेन, फ्रान्स, स्पेन र इटलीमा फैलिएको थियो । त्यसको मृत्युदर सामान्य मौसमी फ्लुको जस्तै थियो, तर अगस्टमा जब यसको दोस्रो लहर आयो, त्यो पहिलेको भन्दा कैयौँ गुणा घातक साबित भइसकेको थियो । दोस्रो चरणमा युवाहरू पनि यसबाट अछुतो रहन सकेनन् । आउने दुई महिनामा यसको मृत्युदरले आकाश छोइसकेको थियो । भारत पनि यसबाट अछुतो रहन सकेको थिएन । त्यतिवेला भारतको झन्डै ६ प्रतिशत जनसंख्या यही महामारीका कारण मृत्युको अँगालोमा बेरिन बाध्य भयो । यहाँ पनि विश्वव्यापी ट्रेन्डका हिसाबमा सन् १९१८ को गर्मीमा यो महामारी न्यून रूपमा घातक थियो, जब हिउँद सुरु भयो, यसको घातकपना झनै बढेर गयो । झन्डै दुई वर्षसम्म स्पेनिस फ्लुले दुनियाँलाई निकै दुःख दियो । त्यसैले कोभिड–१९ को पनि अझै लामो समयसम्म प्रभाव रहने अनुमान गरिएको छ । 

हामी कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेका छौँ, संक्रमण दरमा देखिएको तीव्रताले स्पेनिस फ्लुको स्मरण ताजा गराइदिएको छ, जसलाई आजसम्मकै सबैभन्दा घातक विश्वव्यापी महामारीका रूपमा चिन्ने गरिन्छ 

अप्ठेरो के छ भने अब देशभित्र मानव संसाधनको अभाव महसुस गर्न थालिएको छ । पछिल्लो समय जति वेला सरकारले कोरोनाका खिलाफ युद्धको घोषणा गर्‍यो, त्यति वेला स्वास्थ्य विभागसँग गैरस्वास्थ्य कर्मचारी पनि मोर्चामा खटिएका थिए । यति वेला उनीहरूलाई आ–आफ्नो विभागमा पठाइसकिएको छ । किनभने त्यसयता फेरि सरकारी सेवा पुनर्वहाली भइसकेको छ । स्वास्थ्य कर्मचारी पनि सर्जरी जस्ता गैरकोभिड सेवामा विशेष ध्यान दिन थालेका छन् । किनभने त्यो आवश्यक पनि थियो । त्यसैले ‘टेस्ट, ट्र्याक एन्ड ट्रिट’ (जाँच, संक्रमितको खोजी र उपचार) जस्ता आधारभूत कुरामा पनि स्वास्थ्यकर्मीको अभाव महसुस गर्न थालिएको छ । समुदायका स्तरमा पनि यसबाट जोगिने उपायप्रति उदासीनता देखिन थालेको छ । कस्तो लाग्दै छ भने मानिसहरू यस महामारीबाट लड्दालड्दै थाकिसकेका छन् । यस्तोमा सरकारले केही ठोस कदम उठाउनुपर्ने अनिवार्यजस्तो हुन आउँछ । जनताले यो महामारीको गम्भीरतालाई बुझ्न त्यति नै जरुरी छ । यतिवेला विवाहजस्ता अन्य सामाजिक उत्सव पूर्ववत् ढंगले आयोजित हुन थालेका छन् । तर, यो दोस्रो लहरको संक्रमणमा युवा र किशोर पनि संक्रमित हुन थालेका छन् । शिक्षण संस्थान, सामाजिक गतिविधि सामान्य जीवनतर्फ लहसिनुले पनि संक्रमण बढेको हुन सक्छ । 

यसमा चिन्ताको कुरा के छ भने यो संक्रमण गाउँतिर पनि फैलिने क्रममा छ । जबकि कोरोनाको पहिलो लहरमा यसले मूलतः गाउँमा ठूलो क्षति पु¥याएको थिएन । यसले स्वाभाविक रूपमा साना जिल्ला र गाउँका स्वास्थ्य सेवामा अप्रत्यासित बोझ बढाइदिएको छ, जुन पहिलेदेखि नै बेहाल छन् । यसको सोझो अर्थ के हो भने पछिल्ला वर्षमा सरकारले जति ध्यान उपचार र अनुसन्धानसम्बन्धी काममा दियो, त्यति सामाजिक व्यवहार र सतर्कतामा दिएन । अब हामीले यो असन्तुलनलाई बुझेर यसलाई पुर्न काम गर्नु पर्नेछ । अनि बल्ल जोखिमसँग जोडिएका सञ्चार–योजना र समाजसँग जोडिएर महामारीसँग जुध्ने रणनीति बनाउनुपर्छ । यसले मानिसमा खोप लगाउने परम्पराको विकास हुनेछ । भ्याक्सिनका खिलाफ मानिसमा भएको भावना हटाउनु नै अबको हाम्रो युद्धको प्राथमिकता हुनुपर्छ । 

अहिलेको जल्दोबल्दो प्रश्न के हो भने यो नयाँ लहरबाट जोगिनका लागि के हामी फेरि लकडाउनको मार्गमा जानुपर्छ कि पर्दैन ? देशको केही भागमा यो रणनीति नअपनाइएको पनि होइन । तर, यस्तो कुनै पनि योजना लागू गर्नुअघि हामीले के ध्यान दिनु पर्नेछ भने आखिर कुन परिस्थितिमा लकडाउन लगाउनु बेस हुन्छ । कैयौँ सहरमा अस्पताल संक्रमितहरूले भरिए भन्ने समाचार पनि आइरहेका छन् । त्यसैले अस्पतालको अवस्था हेरेर लकडाउनको निर्णय गरिनुपर्छ ।

(दास गुप्ता जवाहरलाल नेहरू विश्वविद्यालयमा कम्युनिटी हेल्थका प्रोफेसर हुन्)
हिन्दुस्तानबाट