मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १६ सोमबार
  • Sunday, 22 December, 2024
विस्थापित होलान् जार ? मेलम्चीको पानी सुरुङबाट सुन्दरीजलतर्फ  । सुन्दरीजलको प्रशोधन केन्द्रको पानी उपभोक्ताका घरघरमा ।
शान्ति तामाङ काठमाडाैं
२o७७ चैत १६ सोमबार o६:१६:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मेलम्चीको पानी राजधानीका धारामा : आधा शताब्दी पुरानो सपना, २२ वर्ष पुरानो योजना पूरा

Read Time : > 7 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o७७ चैत १६ सोमबार o६:१६:oo

काठमाडौंमा खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न विश्व बैंकको सहयोगमा ०२९ मा अध्ययन सुरु भएको थियो, ०४१ मा मेलम्ची पहिचान भएको थियो, 
०५५ मा परियोजना सुरु भएयता २२ वर्षमा १९ प्रधानमन्त्री, २५ मन्त्री र परियोजनाका २९ प्रमुख फेरिए, बल्ल काठमाडौंका धारामा आइपुग्यो मेलम्चीको पानी

आधा शताब्दी पुरानो सपना, २२ वर्ष पुरानो योजना पूरा भएपछि काठमाडौंका धारामा मेलम्चीको पानी आएको छ । आइतबार चाबहिलको महाँकालचौरस्थित वितरण केन्द्रबाट सिफलदेखि त्रिपुरेश्वर र क्षेत्रपाटीसम्म पानी वितरण भएको छ । काठमाडौं उपत्यकामा खानेपानी समस्या हुन थालेपछि आजभन्दा ५० वर्षअघि नै विकल्पको खोजी सुरु भएको थियो ।

पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सन् १९७२ अर्थात् ०२९ मा नै विश्व बैंकको सहयोगमा अध्ययन गरिएको थियो । यही क्रममा ०४१ मा परामर्शदाता कम्पनी ‘बिन्नी एन्ड पार्टनर्स’ले विभिन्न २२ उपाय सुझाएको थियो । त्यसमध्ये प्राथमिकताको पहिलो सूचीमा थियो– मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक ५१ करोड लिटर पानी ल्याउने । 


तर, त्यसपछि करिब एक दशक यस विषयमा कुनै प्रगति भएन । राजनीतिक भाषणमा वेलावेला चर्चा भए पनि ठोस पहल भएन । यो परियोजनाका लागि पुँजी जुटाउने योजनासहित ०५३ मा मेलम्ची खानेपानी लिमिटेड स्थापना भयो । लागत धेरै हुने भएकाले अन्तर्राष्ट्रिय सहयोग जुटाउन एडिबी, जाइका, ओपेक, नर्वे र स्विडेनलगायतका दातासँग प्रस्ताव गरिएको थियो । उनीहरूबाट सकारात्मक जवाफ पनि आएको थियो । त्यसैले पहिले निजी क्षेत्रबाट पनि पुँजी जुटाउने भनेर लिमिटेड गठन भएकोमा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग जुटाउन ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भयो । 

समितिको पहल, नर्वे सरकारको आर्थिक अनुदान तथा एडिबीको इन्जिनियरिङ सहायतामा सम्भाव्यता र डिजाइनका काम सुरु भए । यो वस्तुगत अध्ययनबाट थाहा भयो– मेलम्ची खोलाबाट मात्र दैनिक १७ करोड लिटर पानी ल्याउन सकिन्छ । तर, फेरि आयोजना निर्माण सुरु हुन नै करिब एक दशक लाग्यो । निर्माण सुरु भएपछि पनि पानी आउन फेरि १२ वर्ष लाग्यो । 

खासमा ०५५ मा मेलम्ची निर्माणको पहल सुरु भएयता २२ वर्षमा देशले १९ प्रधानमन्त्री र २५ मन्त्री पाएको छ । अझ आयोजना प्रमुख त २९ पटक फेरिएका छन् । बल्ल राजधानीको धारामा मेलम्चीको पानी आएको छ । त्यसो यो २२ वर्षमा हरेकपटक चुनावी मुद्दा बनेको छ मेलम्चीको खानेपानी । तर, पहिलोपटक सार्वजनिक बहसमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ल्याएका हुन् । खासमा ०५० को उपनिर्वाचनमा उनले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरेका थिए । 

समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु गर्ने तयारी भएको थियो । सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो । तर, सरकारले एडिबीको ऋण सर्तका विषयमा विवाद हुँदा काम नै सुरु हुन सकेन । सरकारले ऋण सर्त पालना गर्ने निश्चित भएपछि ०६४ मा निर्माण सुरु भएको हो । एडिबीले ०७० सम्म काठमाडौंमा खानेपानी आइपुग्नुपर्ने लक्ष्य दिएको थियो । ठेक्काको सर्त पनि त्यही थियो । 

२७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ०६४ मै ग्लोबल टेन्डर आह्वान गरियो । चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो । तर, तीन वर्षमा जम्मा १५ प्रतिशत मात्रै काम गर्‍यो । एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडिएको हो । 

०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो । ठेक्काअनुसार ०७३ मा काम सक्नुपर्ने थियो, तर भूकम्प र नाकाबन्दीका कारण परियोजना प्रभावित भयो । तसर्थ सिएमसीको म्याद थप भइरह्यो । अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो । काम अब १० प्रतिशतभन्दा पनि कम बाँकी छ भनिएको थियो । तर, इटालीमा नै चरम आर्थिक संकटमा परेको कम्पनीका प्रतिनिधि २९ मंसिर ०७५ मा काम छाडेर हिँडे । २४ माघ ०७५ मा ठेक्का सम्झौता रद्द भयो ।

मेलम्चीमा खर्च भएको रकम एडिबी, नेपाल सरकार र जापान सरकारको हो । आयोजना निर्माण सुरु हुँदा ४६.४ करोड अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको थियो । यो लागतमा विद्युत्समेत निकाल्ने योजना थियो । तर, विद्युत् निकाल्ने योजना कार्यान्वयन नभएपछि लागत रकम ३१.७ करोड अमेरिकी डलरमा झर्‍यो । ०६४ मा आयोजनालाई दुई भागमा बाँडियो । मेलम्ची विकास समितिले सुरुङदेखि प्रशोधन केन्द्र हेर्ने र आयोजना २ ले पाइपलाइनलगायतका काम हेर्ने तय गरियो । आयोजनाको समयावधि बढेसँगै अहिले मुख्य कामको लागत बढेर ३१.२ करोड अमेरिकी डलरभन्दा बढी पुगेको समितिले जनाएको छ । 

यो आयोजनामा सबैभन्दा ठूलो लगानी एडिबीको छ । एडिबीले ४६.७२ प्रतिशत अर्थात् १४ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ । हेडवक्र्स, सुरुङ तथा पानी प्रशोधन केन्द्र भाग १ मा एडिबीको लगानी छ । त्यस्तै ३०.३६ प्रतिशत अर्थात् नौ अर्ब ५० करोड रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ । जाइकाले १५.१८, ओपेकले ४.३८ र नर्डिक सहायता कोषले ३.३६ प्रतिशत लगानी गरेका छन् । यसरी जाइकाको चार अर्ब ७५ करोड, ओपेकको एक अर्ब ३७ करोड र नर्डिकको एक अर्ब पाँच करोड रुपैयाँ लगानी भएको छ । 

मेलम्ची आयोजनाका नाममा गत वर्षसम्म २७ अर्ब ६५ करोड खर्च भइसकेको थियो । आयोजनाका मुख्य सात शीर्षकमध्ये १९ अर्ब १३ करोड रुपैयाँ निर्माण कार्यमा खर्च भएको छ । त्यस्तै, परामर्शदाता कम्पनीले पाँच अर्ब ४३ करोड रुपैयाँ लगेको छ । स्थानीयलाई मुआब्जा वितरणमा एक अर्ब १० करोड, सामाजिक उत्थानमा ९४ करोड ९८ लाख, वातावरण संरक्षण शीर्षकमा १९ करोड ४० लाख खर्च भएको छ । प्रशासिनक तथा चालू खर्चतर्फ ७९ करोड र गाडी खरिदमा चार करोड भएको छ । 

 उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग
मेलम्चीको १७ करोड लिटर थपिएपछि उच्चतम् ३० करोड लिटर आपूर्ति, तर ४० प्रतिशत बाटोमै चुहावट

काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । 

अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिनेछ । यसरी केयुकेएलको कूल आपूर्ति ३० करोड लिटर पुग्नेछ । तर, खानेपानी वितरणको नयाँ प्रणालीमा कति चुहावट हुने हो ? पर्याप्त परीक्षण भएको छैन । नयाँ प्रणालीका लागि बिछ्याइएका ११ सय किलोमिटर पाइपमध्ये दुई सय किलोमिटर मात्र परीक्षण भएको छ । जसमा १५ प्रतिशत चुहावट हुने देखिएको छ ।

२२ वर्षपछि उपत्यकावासीको धारामा मेलम्चीको पानी आइपुगेको छ । आइतबार पहिलो चरणअन्तर्गत चाबहिलको महांकालचौरस्थित ट्यांकीबाट पानी वितरण गरिएको छ । उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलगायतले दिउँसो २ बजे महांकालचौर क्षेत्रमा भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका थिए । त्यहीँबाट आपूर्ति भएको पानी डिल्लीबजार, मैतीदेवी, घट्टेकुलो क्षेत्रसम्म वितरण गरिएको छ ।

‘अहिले पुरानै वितरण प्रणालीबाट पानी पठाएका छौँ । केही दिन परीक्षण अवधि राखेका छौँ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने । आइतबार महांकालचौरसँगै अनामनगर, मीनभवन र खुमलटारस्थित ट्यांकीबाट पनि पानी वितरण गर्ने योजना थियो । तर, पछि महांकालचौरबाट मात्रै वितरण गरियो । चारवटै ठाउँबाट गरी सुरुका दुई दिन चार करोड लिटर, तेस्रो दिन साढे ६ करोड र चौथो दिनदेखि साढे आठ करोड लिटर पानी वितरण गर्ने योजना केयुकेएलले बनाएको थियो । 

अहिले सुन्दरीजलस्थित एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार दैनिक साढे आठ करोड लिटरसम्म पानी वितरण गरिनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर गरी दैनिक १७ करोड लिटरसम्म उपत्यकामा पानी वितरण गर्न सकिने प्रवक्ता राईले बताए । मेलम्ची खानेपानी आयोजनाले गत शुक्रबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो ।

पहिलो चरणको परीक्षण सफल भएमा २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौंमा आएको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । उनले भृकुटीमण्डपस्थित जडान गरिएको नयाँ धाराको टुटी खोलेर उद्घाटन गर्नेछिन् । दोस्रो चरणमा बालाजु क्षेत्रमा पानी पठाउने केयुकेएलको तयारी छ । त्यसपछिको चरणमा महाराजगन्ज, पानीपोखरी र बाँसबारी क्षेत्रमा पानी पठाइनेछ । 

पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले केयुकेएलले तत्काल समस्या सामाधानका लागि एउटा टोली तयारी अवस्थामा राखेको छ, जसले समस्या देखिनासाथ सम्बन्धित ठाउँमा पुगेर मर्मत सम्भार गर्नेछ । ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ,’ प्रवक्ता राईले भने । 

कुन–कुन स्थानमा पानी आउने, कुन ठाउँमा नआउने तथा कुन–कुन समयमा पानी आउने भन्ने विषयमा सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमार्फत उपभोक्तालाई जानकारी दिइरहेको छ । ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि त्यसबारे बुझ्‍न सक्ने केयुकेएलले जनाएको छ । 

मेलम्ची खानेपानी आयोजनाले गत १० फागुनमा पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । २२ फागुनमा पानी सुन्दरीजलस्थित प्रसोधन केन्द्रमा आइपुगेको थियो । प्रधानमन्त्री केपी ओलीले त्यसको अवलोकन गरेका थिए ।
मेलम्चीको पानी उपत्यकामा ल्याउन ०५५ मा मेलम्ची खानेपानी विकास समितिको गठन गरिएको थियो । आयोजना निर्माणका लागि ०५८ मा एसियाली विकास बैंकसँग ऋण सम्झौता भएको थियो । 

नयाँ वितरण सञ्जाल पनि तयारी अवस्थामा 
नयाँ वितरण प्रणाली पनि तयारी अवस्थामा रहेको केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जनाएको छ । ११ सय किलोमिटर नयाँ पाइप बिछ्याउने काम सम्पन्न भएको छ । दुई सय किलोमिटरमा ट्यांकरको पानी हालेर परीक्षण कार्य पनि गरिएको पिआइडीका निर्देशक कमल श्रेष्ठले बताए । 

‘नयाँ प्रणालीमार्फत पानी वितरणका लागि पनि हामी तयारी अवस्थामा छौँ । दुई सय किलोमिटरमा ट्यांकरबाट पानी हालेर परीक्षण गरिसकेका छौँ । परीक्षण सफल पनि भइसकेको छ,’ श्रेष्ठले भने । उनका अनुसार बाँकी नौ सय किलोमिटरमा मेलम्चीको पानी आएपछि नै परीक्षण गर्दै पानी वितरण गरिनेछ । 

‘पानी प्राप्त भएपछि महिनामा ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि मेलम्चीबाट आउने पानी १० प्रतिशत परीक्षणमा खर्च गर्छौँ । परीक्षण गर्दा पाइपमा जमेका फोहोर पनि बाहिर आउने गरी फ्लसिङ गर्नुपर्छ ।’ उनका अनुसार नयाँ प्रणालीमा जोडिएका एक लाख १० हजार घरधुरीलाई पानी पु¥याउन एक वर्ष लाग्नेछ । 

नयाँ प्रणालीबाट वितरण सुरु नगरेसम्म उपत्यकाका सबै ठाउँमा मेलम्चीको पानी नआउने केयुकेएलले जनाएको छ । ‘हामीले चाहेर पनि दैनिक र सबैतिर पानी वितरण गर्न सक्ने अवस्था छैन । पुरानो प्रणालीका पाइपहरू साना साइजका छन् । ती लाइनबाट धेरै धारा जोडिएका छन् । त्यसैले त्यो लाइनमा दिनभरि नै पानी दिँदा पनि सबै धारामा आउन गाह्रो नै छ,’ केयुकेएलका प्रवक्ता राईले भने ।

केयुकेएलले अहिले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको छ । त्यस्तै, ट्युबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ ।

 ०५५ मा मेलम्ची परियोजना सुरु भएयताका प्रधानमन्त्री
गिरिजाप्रसाद कोइराला (८ पुस ०५५)
कृष्णप्रसाद भट्टराई (१३ जेठ ०५६)
गिरिजाप्रसाद कोइराला (७ चैत ०५६)
शेरबहादुर देउवा (साउन ०५८)
लोकेन्द्रबहादुर चन्द (१८ असोज ०५९)
सूर्यबहादुर थापा (जेठ ०६०)
शेरबहादुर देउवा (२१ जेठ ०६१) 
ज्ञानेन्द्र शाह (१९ माघ ०६१)
गिरिजाप्रसाद कोइराला (१ माघ ०६३)
पुष्पकमल दाहाल (२ भदौ ०६४)
माधवकुमार नेपाल (११ जेठ ०६६)
झलनाथ खनाल (२३ माघ २०६७)
बाबुराम भट्टराई (१२ भदौ २०६८)
खिलराज रेग्मी (१ चैत ०६९)
सुशील कोइराला (२८ माघ २०७०)
केपी ओली (२५ असोज २०७२)
पुष्पकमल दाहाल (२० साउन ०७३)
शेरबहादुर देउवा (२४ जेठ ०७४)
केपी ओली (३ फागुन ०७४)

मेलम्चीको ४८ वर्ष  पुरानो यात्रा
 ०२९ : काठमाडौंमा खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न विश्व बैंकको सहयोगमा अध्ययन सुरु
०४१: परामर्शदाताको प्रतिवेदन– विभिन्न २२ विकल्पमध्ये मेलम्ची, लार्चे, याङ्ग्रीको पानी ल्याउने विकल्प उत्तम रहेको सिफारिस
०५० : उपनिर्वाचनका उम्मेदवार कृष्णप्रसाद भट्टराईद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा 
०५५ : मेलम्ची खानेपानी विकास समिति गठन 
०५६ : एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन 
०५८: एडिबीसँग ऋण सम्झौता 
०५८ : निर्माण सुरु
०५८ : हेनिल कोनको जेभीलाई सुरुङ बनाउन चाहिने प्रवेशमार्ग निर्माणको ठेक्का 
०६१ : काम गर्न नसकेको भन्दै हेनिलले एकलौटी ठेक्का तोड्यो 
०६१ : शाही आयोगमार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा हस्तक्षेप 
०६१ : राज्यको हस्तक्षेपपछि नर्वे र स्विडेनको सिडद्वारा सहयोग फिर्ता 
०६४ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड गठन 
०६४ : २७ किमि सुरुङ खन्न ग्लोबल टेन्डर 
०६५ : चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी)लाई सुरुङ खन्ने ठेक्का 
०६६ : प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारद्वारा मेलम्चीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा 
 ०६९ : सुरुङ निर्माणको काम १५ प्रतिशत मात्रै सकिएपछि सिआरसीद्वारा ठेक्का रद्द 
 ०७० : पुनः टेन्डर आह्वान 
 ०७१ : इटालियन कम्पनी सिएमसीलाई बाँकी कामको जिम्मा 
 ०७२ : भूकम्पका कारण १० महिना सुरुङ खन्ने काम रोकियो 
 ०७२ : पाइप बिच्छ्याउन सुरु 
 ०७३ : पुसमा पहिलो ‘ब्रेक थ्रु’को घोषणा 
 ०७५ : माघमा सिएमसीसँग ठेक्का तोड्ने आयोजना बोर्डको निर्णय
 २०७७ : प्रधानमन्त्री ओलीद्वारा सुन्दरीजलमा मेलम्चीको पानी खसाल्ने कार्यक्रम उद्घाटन
 २०७७ : राजधानीका धारामा मेलम्चीको पानी