१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
देवेन्द्र कार्की
२०७५ फाल्गुण ३ शुक्रबार १०:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

धरान १३ वर्षपछि फाइनलमा

Read Time : < 1 मिनेट
देवेन्द्र कार्की
२०७५ फाल्गुण ३ शुक्रबार १०:३७:००

आयोजक धरान फुटबल क्लब १३ वर्षपछि २१औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरानले बिहीबार संकटा क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । धरानलाई एक दशकपछि अन्तिम दुईको यात्रा गराउन गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे । धरान २०५५ र २०५८ को उपविजेता हो ।  

विनयको उत्कृष्ट प्रदर्शन
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइबे्रकरबाट भयो । टाइब्रेकरमा धरानका लागि वर्तमान राई, मिलन राई, योगेश राई र दोर्जे तामाङले गोल गरे । हेमन्त थापामगरको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गर्दै बचाए । संकटाबाट अमित तामाङ, दीपेश आलेमगर र लक्ष्मण रुचाल गोल गर्न सफल भए । धरानका गोलरक्षक विनयले सेड्रिक आबा र सरोज दाहालको प्रयासलाई विफल पार्दै धरानलाई १३ वर्षपछि उपाधि दाबेदार बनाए । 

फाइनलमा नयाँ रणनीति
आयोजक क्लब फाइनलमा पुगेपछि अध्यक्ष किशोर राई र प्रशिक्षक सागर घिमिरेले खुसी मनाए । प्रशिक्षक सागरले स्थानीय सेटका खेलाडीको उत्कृष्ट खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए । तर, संकटाविरुद्धको सेमिफाइनलमा खेलाडीबीच तालमेल नमिल्दा स्कोर नभएको घिमिरेको भनाइ छ । ‘अब फाइलन नयाँ रणनीतिका साथ खेल्छौँ,’ उनले भने । यता संकटाका प्रशिक्षक नीराजन खड्काले स्कोर निकाल्न नसक्नु नै दुर्भाग्य भएको बताए । धरानले ४ फागुनमा क्यामरुनको फेमिली र नेपाल पुलिस क्लबबीचको विजेताविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।