१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय : कोरोना संकट टरिसकेको छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o३:oo

पछिल्ला केही दिनयता नेपाल र भारतसहित विश्वभर कोरोना संक्रमणको दर बढेको छ । नेपालमा मंगलबार मात्रै एक सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल चार हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा यो स्तरको संक्रमण देखिएको हो । विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतलाई पनि यसले गाँजेको छ । पछिल्लो समय भारतमा देखिएको संक्रमणको जुन दर छ, त्यसबाट नेपाल पनि अछुतो रहने सम्भावना छैन । कोरानोकालमा दुई देशबीचको सीमानाकामा हुने आवत–जावतलाई कडाइ गरिए पनि रोजगारी र व्यापारका लागि दुई देशबीचको अन्तर्सम्बन्धले गर्दा एक देशमा संक्रमण बढ्दा अर्को देशमा सतर्कता बढाउनुपर्ने हुन्छ ।

दोस्रो लहरको संक्रमण नेपालमा प्रवेश गर्‍यो भने के गर्ने भन्ने नीति सरकारसँग पहिले नै हुनुपर्छ । नत्र यसले ल्याउने मानवीय क्षति पहिलेको भन्दा निकै ठूलो हुन सक्ने अन्तर्राष्ट्रिय अनुभवले देखाइरहेका छन्

गत फेब्रुअरीमा मात्रै भारतको व्यापारिक केन्द्र मुम्बईमा संक्रमणले निकै उच्च ग्राफ कायम गरेको थियो, जुन आजपर्यन्त पूर्ण नियन्त्रणमा आइसकेको छैन । त्यसयता भारतको राजस्थान र दिल्लीमा पनि संक्रमण उच्च देखिन थालेको छ । संक्रमण रोक्नका लागि भारत सरकारले राजस्थानका मुख्य आठ सहरमा रात्रिकालीन कफ्र्यु लगाउने निर्णय पनि गरेको छ । भारतमा देखिएको संक्रमणबाट किन पनि सतर्क हुनुपर्नेछ भने पछिल्ला एक सय ३० दिनयता आइतबार मात्रै ४७ हजारभन्दा बढी संक्रमित थपिएका थिए र २४ घन्टाको अन्तरालमा दुई सय १२ जनाको यसैका कारण मृत्यु भएको छ । कोरोनाको यो दोस्रो लहर भारतमा मात्रै देखिएको होइन । ब्रिटेनबाट सुरु भएको यो दोस्रो लहर अहिले विश्वका अन्य मुलुकहरूमा पनि तीव्र गतिमा फैलिरहेको छ । 

कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गरेर भ्याक्सिनेसन अभियान सुरु भएको झन्डै चार महिना हुँदासमेत यो नियन्त्रणउन्मुख छ भन्ने विश्वासका बीच यसले अहिले फेरि विश्वभर चुनौती दिइरहेको छ । अहिले पनि कोरोना संक्रमणको वल्डोमिटरमा अमेरिका सबैभन्दा माथिल्लो स्थानमा छ भने दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ । यी तीनवटै मुलुकमा संक्रमणदर उकालो लागिरहेकै अवस्था छ । यसका साथै अफ्रिकी मुुलुक साउथ अफ्रिका, इथियोपिया र लिबिया, इजिप्ट र मोरोक्कोमा पनि संक्रमणदर उकालो लागिरहेकै छ । साथै यसले फ्रान्स, टर्की, पोल्यान्ड, इटाली र रुसजस्ता देशलाई पनि आफ्नो बाहुपासमा जकडिसकेको छ । 

कोरोना संक्रमण मानव समुदाय र विज्ञानका लागि अहिले एउटा मुख्य चुनौती बनेर देखापरेको छ । यसले विश्वको अर्थतन्त्रलाई धराशयी बनाइदिएको छ भने विश्वभरका लाखौँलाख मानिसलाई रोजगारी, आवास र गाँसवासबाट समेत विमुख बनाइदिएको छ । नेपालमा मात्रै झन्डै १० लाख श्रमिकले रोजगारी गुमाएका थिए । यस्तो अवस्थामा ती १० लाख रोजगारमाथि आश्रित झन्डै ५० लाख मानिसलाई यसले प्रत्यक्ष रूपमा प्रभाव पारेको थियो । गत वर्ष ११ चैतदेखि सरकारले गरेको लकडाउनले संक्रमणदरलाई नियन्त्रणमा राख्न केही सकारात्मक भूमिका खेले पनि अहिले फेरि देखिएको दोस्रो लहरको संक्रमण नेपालमा प्रवेश गर्‍यो भने के गर्ने भन्ने नीति सरकारसँग पहिले नै हुनुपर्छ । नत्र यसले ल्याउने मानवीय क्षति पहिलेको भन्दा निकै ठूलो हुन सक्ने अन्तर्राष्ट्रिय अनुभवले देखाइरहेका छन् । पछिल्लो समय लकडाउन खुलेयता मानिस आमरूपमा विनामास्क, विनास्यानिटाइजर निर्धक्क सहर–बजारमा घुमिरहेका छन् । सामान्य अवस्थामा झैँ भइरहेको यस्तो घुमफिर हाम्रो जीवनको मूल्यभन्दा ठूलो होइन भन्ने हामीले हेक्का राख्नैपर्नेछ । संकट टरिसकेको छैन त्यसैले सक्दो सुरक्षाका विकल्प अपनाऊँ र स्वस्थ रहौँ ।

 

ad
ad