१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
राजेन्द्र खरेल
२o८१ बैशाख २१ शुक्रबार १o:२२:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मार्क्स र ‘मेटाबोलिक रिफ्ट’को सिद्धान्त

Read Time : > 4 मिनेट
राजेन्द्र खरेल
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२२:oo

स्वाभाविक रूपमा मार्क्स आगामी शताब्दीका पर्यावरणीय संकट देख्न सक्ने ईश्वर थिएनन्, तर उनी त्यसप्रति संवेदनशील थिए

केही पर्यावरणवादी कार्लमार्क्स प्रशस्त उत्पादनमा जोड त दिन्छन्, तर त्यसरी उत्पादन बढाउँदा पर्यावरणमा पर्ने नकारात्मक असर उनको चासोको विषय बन्दैन भनी उनको आलोचना गर्छन् । प्रश्न के हो भने, मार्क्सको दर्शन र राजनीतिक अर्थशास्त्रमा पर्यावरणका लागि कुनै स्थान छ कि छैन ? यो प्रश्नको जवाफ हो– छ । त्यसो हो भने किन माक्र्सलाई पर्यावरणीय आन्दोलनमा बारम्बार खलनायकका रूपमा चित्रित गरिन्छ ? यसको दुईवटा आयाम हुन सक्छन् । पहिलो, २०औँ शताब्दीका समाजवादी भनिएका देशका सरकारले पनि पुँजीवादी सरकारले जसरी नै प्रकृतिको दोहन गरिरहेका थिए । त्यो मार्क्सकै सिकाइको उपज हो भन्ने अवधारणा आज पनि व्याप्त छ । दोस्रो, नवमार्क्सवादीले मार्क्सवादमा पर्यावरणीय समस्यालाई हेर्ने र समाधान गर्ने दृष्टिको अभाव रहेकाले पर्यावरणीय एजेन्डा मार्क्सवादमा थपिनुपर्छ भनेर प्रचार गरे । यो भाष्य यति सघन रूपमा स्थापित गरियो कि मार्क्सवाद साँच्चै पर्यावरणीय समस्यालाई सम्बोधन गर्न असफल छ भन्ने धारणा आम बन्न पुग्यो । यो धारणा २०औँ शताब्दीको अन्तिम वर्षसम्म निर्विकल्प जस्तै बन्यो । 

सन् १९९९ मा प्रकाशित पल बुर्केटद्वारा लिखित पुस्तक ‘माक्र्स एन्ड नेचर : अ रेड एन्ड ग्रिन प्रस्पेक्टिभ’ र सन् २००० मा प्रकाशित जोन बेलामीफोस्टरको पुस्तक ‘माक्र्स इकोलोजी : म्याटरियालिजम एन्ड नेचर’ले उल्लिखित धारणामाथि जबर्जस्त आलोचना गरे । यी दुई लेखकले माक्र्स र एङ्गेल्सका रचनाबाट पर्यावरणीय तत्वको खोज, उत्खनन र पुनर्निर्माण गर्ने काम गरेका छन् । उनीहरूले पर्यावरणीय आन्दोलनमा मार्क्सको ‘मेटाबोलिक रिफ्ट’को सिद्धान्तलाई आक्रामक ढंगले अघि बढाएका छन् । यी दुई पुस्तकको प्रकाशनसँगै इकोसोसियालिज्मको दोस्रो लहरको सुरुवात भएको मानिन्छ । यसको टेक्ने धरातल माक्र्सवाद नै रहेको छ । पछिल्लो २० वर्षमा पर्यावरणसँग सम्बन्धित अनुसन्धानकर्ता, वैज्ञानिक र लेखकहरू अहिलेको पर्यावरणीय समस्यालाई मार्क्सको ‘मेटाबोलिक रिफ्ट’को सिद्धान्त प्रयोग गरेर अध्ययन र अनुसन्धान गर्दै छन् । 

सन् १८२० र १८३० को दशकमा युरोप र अमेरिकामा जमिनको उर्वरा शक्तिमा व्यापक ह्रास आयो । जमिनको उत्पादकत्व बढाउन नेपोलियनले युद्ध गरेको भूमिबाट मानव हड्डी आयात गरेर मलको रूपमा प्रयोग गर्न थालियो, तर त्यो अपर्याप्त थियो । दोस्रो विकल्पमा दक्षिण अमेरिकी मुलुक पेरुको समुद्री तटबाट ‘गुआनो’ (समुद्री चराको विष्टा) युरोप र अमेरिका आयात गरियो र मलको रूपमा प्रयोग गर्न थालियो । भनिन्छ, त्यतिवेला पेरुका समुद्री तटमा गुआनोका पहाडहरू हुन्थे । गुआनोको आयात र व्यापारका लागि कैयौँ कम्पनीहरू खडा गरिएका थिए । तर, पनि त्यो जमिनको उर्वराशक्ति बढाउने स्थायी समाधान थिएन । 

सन् १८३७ मा बेलायत सरकारले जर्मन रसायनशास्त्री जस्टस भोन लेइविगलाई माटो र रसायन शास्त्रको सम्बन्धको अध्ययन गर्न जिम्मेवारी दियो । उनले सन् १८४० मा एउटा पेपर लेखे, जसमा उनले बिरुवाको वृद्धिमा माटोमा पाइने तत्वहरू फस्फोरस, नाइट्रोजन र क्याल्सियमको भूमिकाको उल्लेख गरेका थिए । युरोप र अमेरिकामा भएको जमिनको उर्वराशक्तिको ह्रासमा उनले यी तत्वहरूको चोरीलाई जिम्मेवार मानेका थिए । अन्न, तरकारी, र फलफूलहरू गाँउमा उत्पादन हुन्छन् र हजारौँ माइल टाढाका सहरमा निर्यात गरिन्छन् । यी वस्तुहरूसँगै गाउँका माटोका पोषक तत्वहरू सहर छिर्छन् र फेरि कहिल्यै गाउँ फर्किंदैनन् । ती वस्तुहरू सहरमा उपभोग हुन्छन् र पोषक तत्वहरू दिसापिसाब र फोहोरका रूपमा सहरमै फ्याँकिन्छन् ।

यसले एकातर्फ सहरका बाटा, चोक र नदीनाला फोहोर भइरहेका हुन्छन् भने अर्कोतर्फ गाउँका जमिन उर्वराविहीन बनिरहेका हुन्छन् । यसैलाई लेइबिग पोषकतत्वहरूको चोरी भन्छन् । माटोले हामीलाई खाना दिन्छ । हामीले माटोलाई दिसापिसाब र अन्य जैविक फोहोरका माध्यमद्वारा पोषकतत्वहरू दिन्छौँ । यसले जमिनको उर्वरा कायम रहन्छ । लेइबिगले मान्छे र माटोबीचको यही लेनदेनलाई मेटाबोलिजम भन्छन् (शाब्दिक रूपमा मेटाबोलिजमको अर्थ शरीरको कोषीय तहमा पदार्थको आदानप्रदान भन्ने हुन्छ) । गाउँ र सहरको बढ्दो विभेद, विकसित मुलुकमा कृषिमा क्रियाशील जनसंख्यामा आएको भारी ह्रास र सहरमा जनसंख्याको केन्द्रीकरणले यो मेटाबोलिजममा ठूलो खाडल पैदा भएको छ, जसलाई लेइबिग ‘मेटाबोलिक रिफ्ट’ भन्छन् । 

पुँजीवादी उत्पादन प्रणाली आफ्नो आधारभूत चरित्रले नै पर्यावरणविरोधी हुन्छ । पुँजीवादले मजदुरको रगत र प्रकृतिको कच्चापदार्थ चुस्छ र जति धेरै चुस्छ, त्यति धेरै मोटाउँछ । पुँजीवादमा श्रमिकले दोहोरो वञ्चितीकरण व्यहोर्नुपर्छ । पहिलो, आफ्नै श्रमको उत्पादनबाट र दोस्रो प्रकृतिबाट ।

‘मेटाबोलिक रिफ्ट’को सिद्धान्तलाई समाज विज्ञानको क्षेत्रमा प्रयोग गर्ने श्रेय कार्लमार्क्स र फ्रेडरिक एङ्गेल्सलाई जान्छ । माक्र्सले आफ्ना पुस्तकमा लेइबिगलाई महत्वका साथ उल्लेख गरेका छन् । यसबाट उनले लेइबिगको ‘मेटाबोलिक रिफ्ट’को सिद्धान्तलाई गम्भीरतापूर्वक अध्ययन गरिरहेका थिए भन्ने थाहा हुन्छ । उनले यो सिद्धान्तलाई पुँजी, ग्रुन्ड्राइजलगायत पुस्तकमा बृहत्तर रूपमा व्याख्या गरेका छन् । मार्क्सले दुई प्रकारका मेटाबोलिजमबारे चर्चा गरेका छन् । पहिलो, प्राकृतिक मेटाबोलिजम, जुन मानव समाजभन्दा स्वायत्त र स्वतन्त्र रूपमा क्रियाशील रहन्छ । उदाहरणका लागि नाइट्रोजन साइकल (चक्र) र जलचक्र आदि । दोस्रो सामाजिक मेटाबोलिजम, जुन मानव र प्रकृतिबीच पदार्थ र ऊर्जाको आदानप्रदानद्वारा क्रियाशील रहन्छ । मानिस र प्रकृतिबीचको मेटाबोलिजमका लागि माक्र्स मानवश्रमलाई प्रमुख अस्त्र मान्छन् । पुँजीको खण्ड एकमा माक्र्स लेख्छन्, ‘मानिस र प्रकृतिबीचको मेटाबोलिक अन्तत्र्रिmयाका लागि श्रम प्रक्रिया अनिवार्य सर्त हो, मानव अस्तित्वका लागि प्रकृतिले लादेको अनन्त सर्त ।’

मार्क्स मानवलाई प्रकृतिको एउटा तत्व मान्छन्, जसको प्रकृतिसँग द्वन्द्वात्मक सम्बन्ध हुन्छ । प्रकृतिले मान्छेलाई परिवर्तन गराइरहेको हुन्छ र मान्छेले पनि आफ्नो सक्रियताले प्रकृतिमा रूपान्तरण ल्याइरहेको हुन्छ । यो मेटाबोलिजममा दुवै पक्षलाई हानि हुनुहुँदैन। मानिसले आफ्नो उत्पादनका क्रियाकलापमार्फत प्रकृतिमा रूपान्तरण ल्याइरहन्छ, तर यो काम उसले आफ्नो मनलाग्दी पाराले गर्न सक्दैन । मानिसले यो काम विगतका बिरासतका सर्तहरूको दायरामा मात्र गर्न सक्छ । ती बिरासत प्राकृतिक र सामाजिक इतिहासद्वारा निर्देशित हुन्छन् । माक्र्सको इतिहासको भौतिकवादी व्याख्या यही अवधारणाको वरिपरि घुम्छ । मान्छे र प्रकृतिको सम्बन्धबारे मार्क्स लेख्छन्, ‘प्रकृति मान्छेको अजैविक शरीर हो, मान्छेको भौतिक र मानसिक जीवन प्रकृतिसँग जोडिएको छ भन्नुको सामान्य अर्थमा प्रकृति आफैँसँग जोडिएको छ भन्नु हो किनभने मान्छे प्रकृतिको अंश हो ।’ 

पुँजीवादी उत्पादन प्रणाली आफ्नो आधारभूत चरित्रले नै पर्यावरणविरोधी हुन्छ । माक्र्सले पुँजीवाद जुकाजस्तै परजीवी हुन्छ भनेर त्यसै लेखेका होइनन् । पुँजीवादले मजदुरको रगत र प्रकृतिको कच्चापदार्थ चुस्छ र जतिधेरै चुस्छ, त्यति धेरै मोटाउँछ । पुँजीवादमा श्रमिकले दोहोरो वञ्चितीकरण व्यहोर्नुपर्छ । पहिलो, आफ्नै श्रमको उत्पादनबाट र दोस्रो, प्रकृतिबाट । मार्क्स पुँजीको सोही खण्डमा लेख्छन्, ‘पुँजीवादी कृषिमा भएको सबै प्रगति मजदुरमाथिको लुट मात्र होइन, माटोमाथिको लुट पनि हो । माटोको उर्वराशक्तिलाई केही समय बढाउन भएको सबै प्रगति त्यो उर्वराशक्तिलाई धेरै लामो समयसम्म बर्बाद पार्ने प्रगति पनि हो ।’

मार्क्सको मेटाबोलिक रिफ्टको सिद्धान्तलाई सरल रूपमा बुझ्न म्याथ्यु गिँडिनले क्यान्सरको उदाहरण दिएका छन् । हामीले खाएको खाना र अक्सिजनलाई शरीरले ऊर्जामा बदल्छ । त्यो ऊर्जा शरीरका विभिन्न अंगहरूको क्रियाकलापमा प्रयोग हुन्छ । यो नै शरीरको जैविक मेटाबोलिजम हो, तर त्यो ऊर्जा अंगहरूको क्रियामा प्रयोग नभएर कोषीय संरचनामा रूपान्तरण पनि हुन सक्छ । यी संरचनाहरू अनुत्पादक हुन्छन् । जति–जयित यी संरचना ठूला हुँदै जान्छन्, ऊर्जाको उपभोग पनि उत्तिकै बढ्न पुग्छ । तर, शरीरका अन्य अंगहरूले उपभोग गर्ने ऊर्जाको अभाव हुँदै जान्छ र अन्ततःशरीर गतिहीन हुन पुग्छ । मानव शरीरमा यी अनुत्पादक र प्राणघातक क्यान्सरका संरचनाको जुन भूमिका हुन्छ, पर्यावरणमा पुँजीवादको पनि त्यही भूमिका हुन्छ । पर्यावरणसँगको मेटाबोलिजममा पुँजीवादले ऊर्जालाई पैसामा रूपान्तरण गर्छ । यसले श्रम र प्रकृतिको शोषण गरेर समाज र प्रकृतिबीचको मेटाबोलिजममा दरार उत्पन्न गराउँछ । समाज र प्रकृति शिथिल भइरहँदा केही थान पुँजीपतिहरू क्यान्सरको कोषीय संरचनाझैँ मोटाइरहन्छन् । पुँजीवाद नाफामुखी व्यवस्था हो र नाफाका लागि त्यसले सबै सामाजिक र प्राकृतिक सीमा नाघ्ने दुस्साहस गर्छ । मान्छे र प्रकृतिमाथिको शोषण त्यो अवस्थामा मात्र रोकिनेछ, जब सम्पूर्ण उत्पादनका साधनहरू सामूहिक स्वामित्वमा आउनेछन् । प्रकृति र मानवश्रम नाफाको स्रोत हुनबाट रोकिनेछन् ।

हो, मार्क्स आजका पर्यावरणीय संकटजस्तै तापमान वृद्धि, ओजन तहको क्षयीकरण, समुद्री सतहको वृद्धि आदि विषयमा बोलेका छैनन्, किनभने आजका पर्यावरणीय संकटहरू १९औँ शताब्दीका संकट थिएनन् । स्वाभाविक रूपमा मार्क्स आगामी शताब्दीका पर्यावरणीय संकटलाई देख्न सक्ने ईश्वर थिएनन् । तर, उनी आफ्नो समयको पर्यावरणीय संकटप्रति संवेदनशील भने थिए । यसका लागि हामीले पुँजी पुस्तकको खण्ड–३ को ‘जमिन–लगान’ भन्ने भाग मात्र पढे पनि स्पष्ट हुन सक्छौँ । आजको पर्यावरणीय संकटलाई सही ढंगले बुझ्न र समाधान गर्न माक्र्सको पद्धति उपयोगी हुन सक्छ । मार्क्सलाई ‘प्रोमिथियन’ भनेर आलोचना गर्नुअघि पर्यावरणीय संकटको यो समयमा मार्क्सलाई हामीले दोहोर्‍याएर अध्ययन गर्न जरुरी छ ।

ad
ad