मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
रासस दैलेख
२०७७ चैत ३ मंगलबार १३:१५:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली आउने

Read Time : > 1 मिनेट
रासस दैलेख
२०७७ चैत ३ मंगलबार १३:१५:००

 पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ । 

०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तेस्रो चरणमा गरिने ड्रिलिङको पूर्वतयारीका लागि चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए ।  चीनको टोलीले चैत १९ सम्म आउने भनेको छ । केही समय ढिलोचाँडो भए पनि यही महिनाभित्र चीनको टोली आइपुग्ने त्रिपाठीले बताए । 

अध्ययनका लागि आउने चीनको टोलीले सम्बन्धित स्थलमा गएर ड्रिलिङका लागि भौगोलिक अवस्था, सडकको पहुँचलगायतका कुरामा अध्ययन गरेपछि विज्ञ टोली आएर  चार किलोमिटर जमिनमुनि ड्रिलिङको काम गर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । 

टोलीले दुईदेखि तीन महिनासम्म ड्रिलिङको काम सकाएर दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका विषयमा गरिएको सम्झौताअनुसार यहाँको अवस्थाबारे नेपाल सरकारलाई प्रतिवेदन बुझाउनेछ । 

सरकारसँग भएको सम्झौताअनुसार पहिलो चरणको काम दशैँअगाडि सकिएको र पछि बाँकी काम सुरु गरिने तयारी रहेको भए पनि चीनबाट आएको प्राविधिक टोली फर्केपछि कोरोना महामारी सुरु भएकाले पेट्रोलियम पदार्थ उत्खननको काम रोकिएको थियो । नेपाल सरकारसँगको सम्झौताअनुसार चीन सरकारको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सेस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओ केमिकल स्याम्पलिङ गरी चारवटा सर्भेका काम तोकिएकै समयमा सकाएको डा त्रिपाठीले बताए । 

प्रधानमन्त्री रहेका केपी ओलीको चीन भ्रमणका वेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने चीन सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो । दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्री स्थान, नाबिस्थान, पादुका, तल्लो डुंगेश्वरलगायतका क्षेत्रलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन टोलीले काम गर्दै आएको थियो ।