१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

परिस्थिति परिपक्व नभएको देउवाको आकलन, स्थगित भयो तीनदलीय बैठक 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o५:oo

नयाँ सत्तासमीकरणका लागि परिस्थिति ‘परिपक्व’ नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले तीनदलीय बैठक टारेका छन् । देउवाले अनिच्छा देखाएपछि सोमबारका लागि तय भएकाे कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको संयुक्त बैठक बस्न सकेन ।

माओवादी केन्द्र र जसपा आन्तरिक बैठकमा जुटे पनि कांग्रेसले परिस्थिति ‘परिपक्व’ नभएको बताएर बैठकबाट पन्छिएको हो । समीकरणबारे जसपाले अझै ठोस निर्णय लिएको छैन । गठबन्धनबारे दोस्रो तहका नेताहरूबीच निरन्तर संवाद भए पनि निर्णायक वार्ताका देउवा ‘परिपक्व परिस्थिति’को पर्खाइमा छन् । 

कांग्रेस सभापति देउवाको संयोजनमा सोमबार तीन दलबीच छलफलको तयारी थियो । छलफल निर्णायक हुने नेताहरूले संकेत गरेका थिए । तर, माओवादी र जसपा दुवै अनिर्णीत रहेको अवस्थामा संसदभित्रको अंकगणित कांग्रेसका लागि अनुकूल हुन नसक्ने भन्दै देउवाले तीनदलीय छलफललाई टारेका थिए । 

प्रधानमन्त्री केपी ओलीको बहिर्गमनकै लागि भए पनि गठबन्धन गर्नुपर्ने भन्दै त्यसका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने भनेका माओवादी केन्द्र र जसपाले तीन दलको संयुक्त छलफलका लागि समय मागेका थिए । देउवाले पार्टीभित्र नेताहरूसँग छलफल गरेर सोमबारका लागि संयुक्त बैठक तय गरिएको थियो । 

‘यो अवस्थामा हुने छलफल निर्णायक हुनुपर्छ । केवल ओली हटाउने विषयमा मात्रै सहमति जुटेर पनि भएन, अहिले जे सहमति हुन्छ, भोलि त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ, त्यसैले आन्तरिक छलफलका लागि केही समय लिने कुरा सामान्य हो,’ देउवानिकट एक नेताले भने, ‘परिस्थिति परिपक्व नभएसम्म हतारिएर निर्णय गर्नु ठीक होइन ।’ 

माओवादी केन्द्र र जसपाले भने कांग्रेसले नयाँ गठबन्धनका लागि उचित चासो व्यक्त नगरेको गुनासो गरेका छन् । कांग्रेसकै कमजोर सक्रियताका कारण आफूहरू अनिर्णीत बनेको माओवादी केन्द्रका नेता बताउँछन् । सोमबार सरकार र गठबन्धनबारे कुनै पनि निर्णय नगरी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको राजनीतिक कार्यभारबारे निष्कर्षमा पुग्नका लागि दलहरूबीचको वार्ताले गति नपाउँदा बैठक विनानिष्कर्ष स्थगित भएको बताए । ‘बैठकलाई निष्कर्षमा पुर्‍याउन अहिलेको राजनीतिक कार्यभारबारे हामीले जुन तीव्रताका साथ वार्ता टुंगिएला भनेका थियाैँ, त्यो टुंगिसकेको छैन । त्यसैले पहिले अन्य दलसँगको छलफललाई टुंग्याएर मात्रै निष्कर्षमा पुग्नुपर्ने अवस्था छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । बैठकले गठबन्धनका विषयमा कांग्रेस र जसपासँग निरन्तर छलफल गर्ने निर्णय गरेको छ ।

सोमबारै बसेको जसपाका शीर्ष नेताहरूको बैठकले पनि सरकार र गठबन्धनबारे ठोस निर्णय गर्न सकेन । सरकारबारे संसद्को अंकगणितमा निर्णायक भूमिकामा रहेको जसपाभित्र एमाले अध्यक्ष ओली नेतृत्वकै सरकारमा जाने वा नयाँ गठबन्धनमा मिलेर जाने भन्ने विषयमा मत विभाजित छ । सोमबार शीर्ष नेताहरूबीच पार्टीभित्रको मतैक्यताका लागि छलफल भएको कार्यकारिणी समितिका सदस्य नवराज सुवेदीले बताए । ‘सरकारमा एमाले वा अन्य दलसँग मिलेर जाने भन्ने विषयमा पार्टीमा मत विभाजित छ, त्यसबारे पार्टीमा एकमत बनाउन नेताहरूसँग छलफल भएको हो,’ उनले भने, ‘अहिल्यै जसपाले नै निर्णय गरिहाल्नुपर्ने केही छैन, हाम्रो केन्द्रीय कार्यकारिणी समितिको बैठक ५ चैतमा बस्दै छ, त्यसले एउटा दिशा दिन सक्छ ।’

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले ओली बहिर्गमनका विषयमा कांग्रेस सकारात्मक भए पनि माओवादी केन्द्र र जसपाले निर्णय नलिएका कारण छलफलले गति नलिएको बताए । ‘कांग्रेस एक्लै गठबन्धन गर्ने कुरा होइन, माओवादी र जसपाले जुन प्रस्ताव गर्नुपर्ने हो, त्यो प्रस्ताव गरेका छैनन् । प्रस्ताव नआउँदासम्म हामीले गर्ने केही छैन । अहिलेसम्म जसपाले कांग्रेसको नेतृत्वमा अगाडि बढौँ भनेर प्रस्ट भनेका छैनौँ,’ उनले प्रश्न गर्दै भने, ‘हामीले हाम्रो नाममा प्रस्ताव नआएसम्म त कसरी छलफल गर्ने ?’

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने जसपा र कांग्रेसका कारण आफूहरूले चाहेबमोजिमको छलफलले निर्णायक रूप नलिएको बताए । ‘कांग्रेसले अग्रसरता लिनुपर्ने हो, तर कांग्रेसको सक्रियता पनि कम देखियो, त्यसैले हामी पनि आन्तरिक छलफलमा छौँ,’ उनले नयाँ पत्रिकासँग भने । 

जसपाका नेता राजकिशोर यादवले सरकार वा गठबन्धनका विषयमा पार्टीभित्र र अन्तरपार्टीका बीचमा विभिन्न तहमा अनौपचारिक छलफल भइरहेको बताए । ‘तहगत रूपमा छलफल भइरहेको छ, तर निष्कर्षमा पुग्ने गरी कुनै छलफल भएको छैन, परिस्थिति परिपक्व नबनेसम्म निर्णय लिइहाल्ने अवस्था छैन,’ उनले भने । 

ad
ad