‘मिम’ एउटा विशाल र जटिल अवधारणा हो, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन
दुई दशकयता इन्टरनेटको पहुँच, प्रविधिको विकास र सामाजिक सञ्जालको व्यापक प्रयोगले संसार साँघुरिएको छ । सन् २००० ताका इन्टरनेट प्रयोगकर्तामाझ संगीत र सांगीतिक रुचिबारे छलफल गर्ने प्राथमिक अवधारणासहित ‘माइस्पेस’को सुरुवातसँगै संसारमा सामाजिक सञ्जालको उदय भएको मानिन्छ । विद्युतीय प्रविधिमा भएको व्यापक विकाससँगै गुगल, फेसबुकजस्ता माध्यमको आगमनले आममानिसको अनलाइन अस्तित्व स्थापित गर्यो । आजका दिनमा हेर्ने हो भने विश्व जनसंख्याको करिब आधा हिस्सा कुनै न कुनै रूपमा अनलाइनमा उपस्थिति जनाइरहेको छ । तथ्यांकअनुसार फेसबुकका मात्रै २.४ अर्ब प्रयोगकर्ता छन् । ट्विटर तथा इन्स्टाग्रामजस्ता अन्य सञ्जालहरूलाई समेट्ने हो भने यो संख्या निकै बढी हुने सहजै अनुमान लगाउन सकिन्छ ।
सुरुवाती दिनमा टेक्स्टमा सीमित सामाजिक सञ्जालका आदान–प्रदान ‘ए आई’ र अन्य प्रविधिको तीव्र विकाससँगै फोटो, भिडियो र अन्य अन्तत्र्रिmयात्मक सामग्रीले भरियो । मुख्यतः फेसबुक, ट्विटर र इन्स्टाग्राममा आफ्नो डिजिटल कन्टेन्ट (फोटो, भिडियो वा अन्य) लाई भाइरल अर्थात् व्यापक बनाउने चाहना नुरूप तीव्र गतिमा एक नयाँ प्रकारको सामग्री सञ्चार हुने गरेको छ, जसलाई इन्टरनेट प्रयोगकर्ता ‘मिम’ भन्ने गर्छन् । विशेषतः किशोर–किशोरी र युवामाझ लोकप्रिय रहने मिम वास्तवमै एउटा विश्वव्यापी नव–सांस्कृतिक प्रक्रियाको रूपमा उदाएको छ । यसलाई सामाजिक सञ्जालका भित्ताहरूदेखि सन्देशमूलक एपहरूमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । यी मिमहरूमा प्रायः तस्बिर, भिडियो र टेक्स्टको मिश्रण हुने गर्छ । इन्टरनेटमा मिमको लोकप्रियता यति बढिसकेको छ कि आजभोलि ठुल्ठूला व्यापारिक घराना तथा अनलाइन व्यापारीले समेत विज्ञापनका निम्ति यस्ता मिम उत्पादन र प्रयोग गर्ने गर्छन् । कहिलेकाहीँ त कम्पनीहरूबीच ग्राहकको ध्यानाकर्षण गर्नका निम्ति ‘मिम–युद्ध’ नै हुने गरेको पनि देखिन्छ ।
चित्र, भिडियो र लिपिको रचनात्मक सम्मिश्रण गरी बनाइने हुँदा यसले छोटो समयमै धेरै प्रयोगकर्ताको ध्यानाकर्षण गर्छ र यस्ता सामग्रीको विस्तार गुणात्मक रूपमा हुने गर्छ । यी मिमहरू केवल एक डिजिटल फोटो वा भिडियो मात्र नभएर व्यंग्य, क्रोध र कतिपय समयमा कुण्ठा पोख्ने माध्यम पनि बन्न पुगेका हुन्छन् । समय–सापेक्ष, तर भिन्ना–भिन्नै अवधारणालाई एकै ठाउँमा केन्द्रीकृत गरेर सटिक र व्यंग्यात्मक तरिकाले प्रस्तुत गर्न सकिने भएकाले पनि मिम एकदमै उपयोगी माध्यम बन्न पुगेको छ । उसो त वेलावेलामा इन्टरनेट मिमको प्रयोगलाई नै राजनीतीकरण गर्ने नगरिएको होइन । विभिन्न अध्ययनअनुसार हाम्रै छिमेकी भारतमा युवामाझ इन्टरनेट मिमको प्रयोग बढ्दै गर्दा त्यहाँको सत्ताले यो माध्यम प्रयोग गरी ‘राष्ट्रविरोधी’ भावना फैलाउन खोजेको भन्दै सन् ०१७–०१८ ताका मात्रै कम्तीमा ५० जना युवालाई गिरफ्तार गरेको थियो । पर्यावरणको क्षेत्रमा काम गर्दै आएकी दिशा रविलाई हालै लगाइएको देशद्रोहको मुद्दालाई पनि यसैसँग जोडेर हेर्न सकिन्छ ।
आफूलाई लोकतान्त्रिक भनेर चिनाउने युरोपियन युनियनले पनि इन्टरनेट मिमको प्रयोगको नियमन गर्ने प्रयास गरेको खबर नआएका होइनन् । यस्ता घटना समाज तथा जनमानसमा इन्टरनेट मिम कतिसम्म स्थापित भइसकेको रहेछ भन्ने बुझ्नका लागि सहज उदाहरण हुन् ।
जसरी जैविक प्रणाली वा जीवहरूमा एक पुस्तादेखि अर्को पुस्तामा जिन अनुसरण हुने गर्छ, त्यसरी नै ‘मिम’ भनेको एक मस्तिष्कदेखि अर्को मस्तिष्कसम्म नक्कल हुने कुनै पनि विचार, अवधारणा वा सांस्कृतिक एकाइ हो । मिम भनेको जिनको सांस्कृतिक समानार्थी अवधारणा हो ।
च्याउसरी फैलिन सक्ने ‘मिम’को उपयोगिता र विशेषताको विवेचना गर्दै गर्दा हामीलाई लाग्न सक्छ कि इन्टरनेट र मिम पर्यायवाची वा भनौँ एक–अर्काका पूरक हुन् । तर, हामीले मिम भनेको इन्टरनेटमा छरपस्ट देखा पर्ने फोटोसहितका पंक्ति वा दुई–चार दिन ‘भाइरल’ भई हराएर जाने भिडियो भनेर मात्र बुझ्यौँ भने त्यो अल्पव्याख्या मात्र हुनेछ । वास्तवमा ‘मिम’ एउटा विशाल र जटिल अवधारणा हो । यससम्बन्धी सूक्ष्म चर्चा हुनु आवश्यक पनि छ, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन ।
के हो मिम ?
इन्टरनेटमा देखापर्ने भाइरल चुट्किलाजन्य तस्बिर–भिडियोभन्दा धेरै गहन र फराकिलो धारणा हो मिम । मिम शब्द पहिलोपटक सन् १९७६ मा विश्वप्रसिद्ध जीववैज्ञानिक तथा प्राध्यापक रिचार्ड डकिन्सले आफ्नो चर्चित पुस्तक ‘द सेल्फिस जिन’ (स्वार्थी अणुवंश)मा प्रयोग गरेका थिए । ग्रिक भाषामा ‘मिम’ शब्दको अर्थ नक्कल वा अनुसरण गर्नु भन्ने हुन्छ । जसरी जैविक प्रणाली वा जीवहरूमा एक पुस्तादेखि अर्को पुस्तामा जिन अनुसरण हुने गर्छ, त्यसरी नै ‘मिम’ भनेको एक मस्तिष्कदेखि अर्को मस्तिष्कसम्म नक्कल हुने कुनै पनि विचार, अवधारणा वा सांस्कृतिक एकाइ हो भन्ने अर्थमा डकिन्सले उक्त पुस्तकमा मिमको परिभाषा दिएका थिए । डकिन्सकै शब्दलाई सापटी लिएर भन्ने हो भने मिम भनेको जिनको सांस्कृतिक समानार्थी अवधारणा हो । यो अवधारणालाई अझै सूक्ष्म रूपमा बुझ्नका लागि केही उदाहरण पेस गर्न उचित हुन्छ ।
डार्बिनियन उत्परिवर्तनको सिद्धान्तअनुसार पृथ्वीमा नयाँ–नयाँ प्रजातिको उत्पत्ति हुने नै प्रजननसँग सम्बन्धित विकासक्रमगत त्रुटि अर्थात् म्युटेसनले गर्दा हो । प्रजनन प्रक्रियामा जिन खासगरी डिएनएको प्रतिकृति पैदा गर्ने क्रममा हुने यस्ता अवश्यम्भावी जैविक त्रुटिले गर्दा नयाँ खालका जैविक विशेषता उत्पन्न भई कालान्तरमा भिन्न प्रजातिकै विकास हुने विचार नै डार्बिनियन सिद्धान्तको मुख्य अवधारणा हो । प्राध्यापक रिचार्ड डकिन्सले मिमको सिद्धान्त–मिमेटिक थियरी पनि यही अवधारणाको धरातलमा टेकेर प्रतिपादन गरेका हुन् । जसरी जिन (डिएनएको एक एकाइ) प्रजनन प्रक्रियामार्फत एक पुस्तादेखि अर्को पुस्तामा प्रसारित हुने गर्छ, त्यसरी नै ‘मिम’ पनि एउटा मस्तिष्कबाट अर्को मस्तिष्कमा सर्ने गर्छ । जीवहरूमा हुने प्रजननगत आणविक त्रुटिहरूको उपजले लामो कालखण्डमा जसरी नयाँ प्रजातिकै विकास हुन्छ, ठीक त्यस्तै किसिमले यी सांस्कृतिक एकाइ अर्थात् मिमहरू पनि एकबाट अर्को मगजमा साभार हुने क्रममा हुबहु नभई त्रुटिसहित प्रतिकृत हुने गर्छन् र फलस्वरूप रूपान्तरित हुन जान्छन् । भाषिक वा भाषिकाहरू जसरी अपभ्रंश भई नयाँ शब्द र पदावली बन्न पुग्छन्, यी मिमहरू पनि त्यसैगरी निरन्तर बदलिँदै प्रसारित हुने हुँदा यिनीहरूको विकासक्रम पनि एक न एक हिसाबमा डार्बिनियन प्रक्रिया नै मान्न सकिने कुरा डकिन्सले उक्त पुस्तकमा उल्लेख गरेका छन् ।
करिब ३.५ अर्ब वर्षअघि पृथ्वीमा जैविक प्रक्रियाको सुरुवात र क्रमशः विकास हुन जसरी अनुकूल वातावरण (पानी, सौर्य ऊर्जा र अरू आवश्यक रसायन) को प्रकृति निर्माण भयो, मानव सभ्यता र मस्तिष्कले पनि त्यसैगरी मिमहरू निर्माण हुन र प्रसारित हुन अनुकूल अवसरको सिर्जना गर्ने गर्छ । यस मानेमा एउटा सांगीतिक धुन, एउटा चाड र एउटा भाष्यलाई पनि मिमकै रूपमा लिन सकिन्छ । तार्किक र सैद्धान्तिक परिभाषामा टेकेर हेर्ने हो भने ढाका टोपी एउटा मिम हो । जापानी ओरिगामी कला एउटा मिम हो । अनि त्यसैगरी चाडबाड मनाउने तौरतरिका पनि मिम नै हुन् । उदाहरणका लागि विवाह–व्रतबन्ध नै हेरौँ, यी रीतिरिवाजमा बर्सेनि आउँदै गरेका परिवर्तनकै समीक्षा गर्ने हो भने पनि सहजै अनुमान लगाउन सकिन्छ कि आजभन्दा ५० वर्षअघि जस्तो ढाँचामा विवाह वा व्रतबन्ध गरिन्थ्यो, त्यो अहिले निकै फेरबदल भइसकेको छ । विवाहसँगै जोडिएको दाइजो प्रथा पनि एक मिम हो, जो आजकल क्रमिक रूपमा बदलिँदो छ ।
समाजमा मिमको सान्दर्भिकता
उल्लिखित सन्दर्भबाट प्रेरित भएर तर्क गर्ने हो भने कुनै एउटा धार्मिक विचार वा राजनीतिक सिद्धान्तलाई पनि मिमकै रूपमा लिन सकिन्छ । जसरी एउटा कुमालेको भाँडा बनाउने पद्धति के वर्षौंसम्म अपरिवर्तित रहिरहन सक्छ, क्रमशः परिमार्जित हुँदै नयाँ नमुनाको भाँडाको विकास हुन सक्छ ? त्यो प्रक्रिया आफँैमा एउटा डार्बिनियन क्रमिक रूपान्तरण (इभोल्युसन)सँग मेल खाने गर्छ । डार्बिनियन नजरबाट हेर्दा दाइजो प्रथा यस्तो मिम हो, जसको विकासक्रमगत स्वस्थता (इभोल्युसनरी फिटनेस) कम छ र फलस्वरूप यसको आवृत्ति बर्सेनि घट्दो क्रममा छ । पहिले पनि विवाह भइ नै रहन्थ्यो, अहिले पनि विवाह हुने नै गर्छन्, तर विवाह हुने प्रणालीमा परिवर्तन आएको छ । यसरी एउटा मिमको औसत परिधि उही रहे पनि आन्तरिक फेरबदल हुने प्रक्रिया सभ्यता रहेसम्म रहि नै रहन्छ । जसरी प्रजातिहरू रहेसम्म जिनहरू रहिरहनेछन् । एउटा अवधारणामा मिम कतिसम्म सफल रहन्छ भन्ने विषय त्यो मिमले कत्तिको छिटो, कत्तिको धेरै मस्तिष्कमा डेरा जमाउन सक्छ भन्नेले निर्धारण गर्छ ।
टिकटकजस्ता सञ्जालमा देखिने भाइरल भिडियो किन भाइरल हुन्छन् त भन्ने प्रश्नको जवाफ पनि यी मिमहरूमाथि भनिएजस्तै एकबाट अर्को मस्तिष्कमा सर्न कत्तिको सफल रहन्छन् भन्ने कुराले निर्धारण गर्छ । एउटा मानिसले कुनै मिम आफूसम्म पुगेपछि त्यसको नक्कल मात्र गर्दैन, प्रायः उसले आफूले प्रसारण गर्दा केही नयाँ कुरा थपघट गरेर फेरि अर्कोसामु पस्किन्छ र निरन्तर यसरी मिमहरू क्रमिक रूपमा रूपान्तरित हुँदै जान्छन् । इन्टरनेटको दुनियाँ बाहिर निस्केर भन्ने हो भने आमजनतामा समय–परिपेक्षअनुसार हाबी हुने विचार, धारणालाई पनि मिमकै रूपमा लिन सकिन्छ । उदाहरणका लागि गत वर्षदेखि फैलिएको कोभिड महामारी सुरु भएसँगै हाम्रा प्रधानमन्त्रीले बोलेका धेरैमध्ये एउटा कुरालाई नै हेरौँ– ‘बेसारपानीले कोरोना निको हुन्छ ।’ उनको यो भनाइ मिमका रूपमा यति सफल भयो कि अझैसम्म पनि बहुसंख्यक नेपाली बेसारपानीमा आफूलाई सुरक्षित ठान्छन् । प्रधानमन्त्रीको दाबी वैज्ञानिक र तथ्यसंगत छैन, तर नक्कलयोग्य (मिमेटिक) चाहिँ पक्कै छ । यस अर्थमा सामाजिक अध्ययनका लागि पनि मिमहरू एक सूचक बन्न सक्छन् । समाजमा के–कस्ता मिम प्रसारित र अनुसरण भइरहेका हुन्छन् भन्ने विषयले समाजको औसत चेतनाको स्तर कस्तो छ भन्ने प्रतीकात्मक सूचना दिन सक्छ ।
यसरी समाज–दर्शनको कोणबाट हेर्ने हो भने हामीले मिमको प्रवाहकका रूपमा कस्ता खाले मिमलाई प्रश्रय दिइरहेका छौँ त ? यसले हाम्रो आफ्नै सोचाइ तथा समाजको समष्टिगत दिशा पहिल्याउन मद्दत पु¥याएको छ त ? यति बुझिसकेपछि कुन विषय, कुन विचार र कुन मिमलाई भाइरल बनाउने ? कस्ता धारणालाई अवलम्बन गर्ने–नगर्ने ? निर्णय हामीमै निहित छ ।
(लेखक जैविक प्रविधि विज्ञानका अध्येता हुन्)