१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्वस्थ डाइटिङ कसरी गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२६:oo

डाइटिङ अर्थात् शरीरलाई आवश्यक पर्ने मात्रामा मात्रै खाद्य पदार्थ लिनु स्वास्थ्यका दृष्टिकोणले निकै राम्रो मानिन्छ । तौल व्यवस्थापन गर्न डाइटिङ अर्थात् खानाको मात्रा घटाउनु उपयुक्त विधि पनि हो । खासगरी सहरी क्षेत्रमा खानाको मात्रा घटाउने वा केही समय नखाएर डाइटिङ गर्ने ट्रेन्ड छ ।

अधिकांशमा खाना नखाएर वा व्रत बसेर तौल व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास पनि छ । पछिल्लो समय सहरी क्षेत्रमा ‘इन्टरमिटेन्ट फास्टिङ’को प्रचलन बढ्दै गएको छ । यो ट्रेन्ड जापानबाट सुरु भएको हो । जापानमा मोटोपना रोक्न फास्टिङ अर्थात् केही समय भोकै बस्ने चलन छ । 

जनस्वास्थ्यविद् अरुणा उप्रेतीका अनुसार यो चलन हाम्रो परम्परागत व्रत बस्ने चलनजस्तै हो । तर, यसमा विभिन्न विधि अपनाउने गरिन्छ । पहिलो विधि दैनिक दुईपटक आठ–आठ घन्टामा मात्र खाना खाने, दोस्रो २४ घन्टाको व्रत अर्थात् बिहान ८ बजे खाना खाएपछि अर्को दिन ८ बजे मात्रै खाने गरिन्छ । यस्तै साताको दुई दिन थोरै क्यालोरीयुक्त र बाँकी दिन सामान्य खाना खाने चलन पनि छ । यो विधि नियमित अपनाउँदा बिस्तारै क्यालोरी खपत हुन्छ । पोषणविद् उप्रेती भन्छिन्, ‘फास्टिङबारे प्रत्येक व्यक्तिमा फरकफरक धारणा रहेको छ । शरीर फिट राख्न चाहनेका लागि यस्ता अवधारणा बढी लोकप्रिय छन् ।’

यसकारण फास्टिङ आवश्यक 
चिकित्सकहरूका अनुसार, व्रत बस्दा अर्थात् फास्टिङले शरीरका कोषहरू भोकाउँछन् र भोकाएका कोषहरूले शरीरका हानिकारण कोषहरूलाई नष्ट गर्छन् । योसँगै फास्टिङ गर्दा क्यालोरी कम खाइन्छ, जसले तौल नियन्त्रणमा सहयोग पुर्‍याउँछ । तर, स्वास्थ्य अवस्था कमजोर भएका वा कुनै स्वास्थ्य समस्याको उपचार गरिरहेका व्यक्तिका लागि फास्टिङ फाइदाजनक हुँदैन । तर, तौल व्यवस्थापनका लागि अनावश्यक रूपमा डाइट गर्ने र डाइटिङप्रतिको गलत अवधारणाले आम स्वास्थ्यमा असर पनि परिरहेको पोषणविद् कविता महर्जनको भनाइ छ ।

नेपाल क्यान्सर अस्पतालमा कार्यरत पोषणविद् मर्हजन भन्छिन्, ‘अधिकांशमा कम खाना खाएर वा एक दिनभरि भोको बसेर तौल व्यवस्थापन गर्न सकिन्छ भन्ने धारणा छ । यस्तै दिनभर व्रत बसेर बेलुका टन्न खाना खाने चलन पनि छ । जसले तौल घट्नुको सट्टा झनै बढेर जान्छ ।’ खानाको मात्रा एक्कासि कम गर्दा शरीरलाई चाहिने आवश्यक मात्रा कम भएर प्रतिकूल असरसमेत परिरहेको हुन्छ । साथै नियमित खानामा शरीरलाई चाहिने आवश्यक सप्लिमेन्टहरू समावेश गरिएको हुँदैन । योसँगै फास्टिङ गर्दा शरीरमा क्यालोरीको मात्रा कम भए पनि आवश्यक प्रोटिनको कमी हुन जान्छ । दिनभरि केही नखाएर बस्नु मात्रै डाइटिङ नभएको उनको भनाइ छ । 

डाइट व्यवस्थापन 
अधिकांश डाइट प्लान तौल व्यवस्थापनमा सीमित हुन्छन् । सहरी क्षेत्रका वयस्कहरूमा तौल व्यवस्थापन चुनौतीको विषय बन्ने गरेको छ । व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायाम र शरीरिक परिश्रमको अभावका कारण अधिकांशको रोजाइमा डाइटिङ पर्ने गर्छ । तर, कतिपय अवस्थामा अस्वस्थ डाइटिङले स्वास्थ्य समस्या पनि निम्त्याइरहेको छ । दीर्घ रोग वा उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, स्ट्रोक, हृदयाघात आदि नियन्त्रणका लागि पनि डाइटिङ गर्न सकिन्छ । स्वस्थ डाइटिङका लागि स्वास्थ्य अवस्थाको आधारमा खाना खाने समय र खानामा समावेश गरिने खाद्यवस्तुमा ध्यान दिनुपर्ने हुन्छ । 
 एजेन्सीको सहयोगमा

ad
ad