१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार ०९:४६:००
Read Time : > 2 मिनेट
सेयर बजार

बिक्री चाप बढ्दै, ओभरसोल्ड जोनमा आरएसआई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार ०९:४६:००

फागुन महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ६३ प्रतिशत घटेर बन्द भएको छ । निरन्तरजसो ओरालो लागेपछि बजारमा सेयर बिक्री गर्ने लगानीकर्ता बढेको एक ब्रोकरले बताए । पछिल्ला दुई कारोबार दिनदेखि नेप्सेको १४ दिने आरएसआई पनि ओभरसोल्ड जोनमा रहेको छ । यसले पनि बजारमा खरिद चापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ । बजार ओरालो लागे पनि अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम सामान्य बढेको छ । बजार खुलेको १ घन्टासम्म नेप्से उकालो लागेको थियो । त्यसपछिको समयमा ओरालो लागेको नेप्से मध्याह्नमा बढ्न खोजे पनि अधिक बिक्री चापका कारण बढ्न सकेन । 

 प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन २६ दशमलव शून्य ६ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चाप बढिरहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २८ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ७४ कम्पनीमध्ये ३२ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय १५ कम्पनीको सेयरमूल्य घटेको छ । 

बुधबार नेप्सेको पिभट बिन्दु १ हजार १ सय २४ दशमलव ६५ रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा, बिहीबार बजार ओरालो लागे १ हजार १ सय १६ दशमलव ९१ बिन्दुमा पहिलो टेवा र १ हजार १ सय १२ दशमलव ७५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी बजार उकालो लागे १ हजार १ सय २८ दशमलव ८१ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ३६ दशमलव ५५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

 नागरिक लगानी कोष र नेपाल बैंकको कारोबार बढी
कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । कोषको यस दिन १ करोड ३२ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ भने नेपाल बैंकको १ करोड २४ लाखबराबरको सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । त्यसैगरी, कारोबार संख्याका आधारमा अपर तामाकोसी अगाडि रहेको छ । अपरको यस दिन ७ सय २८ पटक सेयर किनबेच भएको छ । 

२ कम्पनीको सेयरमूल्यमा सर्किट ब्रेक
यस दिन २ कम्पनीको सेयरमूल्यमा सर्किट ब्रेक लागेको छ । कारोबारमा आएको चौतारी लघुवित्तको सेयरमूल्य यस दिन १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो भने नयाँ नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशत घटेर सर्किट लागेको हो । युनिलिभर नेपालको सेयरमूल्य यस दिन ५ दशलमव ९९ प्रतिशत बढेको छ । जेबिल्स फाइनान्सको सेयरमूल्य भने यस दिन ५ दशमलव ६७ प्रतिशत घटेको छ । 

 १० समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये १० समूहको परिसूचक घटेको छ । कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचक मात्र यस दिन २ दशमलव ३७ प्रतिशत बढेको छ । युनिलिभर नेपालको सेयरमूल्य बढेपछि यस समूहको परिसूचक बढेको हो । जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ६८ प्रतिशत बढेको छ । 

त्यसैगरी, व्यापार समूहको परिसूचक १ दशमलव शून्य ६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ९२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ८४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६९ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ४९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४४ प्रतिशत, अन्य समूहको शून्य दशमलव २५ प्रतिशत र होटल समूहको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

प्यान डेस्क स्थापना गर्न ब्रोकरलाई नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्थायी लेखा नम्बर (प्यान) दर्ता सहजीकरण डेस्क स्थापना गर्न ब्रोकरहरूलाई निर्देशन दिएको छ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरूले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको वेबसाइटमार्फत तोकिएको प्यान नम्बर लिन दर्ता प्रक्रियाका लागि निवेदन दिने लगानीकर्तालाई सहज हुनेगरी सो डेस्क स्थापना गर्न निर्देशन दिएको हो । नेपाल धितोपत्र बोर्डले २०७६ वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्न आवश्यक पूर्वतयारी गर्न नेप्सेलाई निर्देशन दिएको थियो । 

बजार सारांशः नेप्से परिसूचक यस दिन ७ दशमलव ११ अंक घटेर १ हजार १ सय २१ दशमलव शून्य ८ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ७६ अंक घटेर २ सय ३८ दशमलव ४४ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५९ अंक घटेको छ । यस दिन १ सय ७४ कम्पनीको ४ हजार ९ सय २८ पटकको कारोबारमा २३ करोड ८८ लाख ३६ हजार ८ सय ३८ रुपैयाँबराबरको ८ लाख १२ हजार ३ सय ८७ कित्ता सेयर खरिदबिक्री भएको छ ।