१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार १६:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सभ्य समाज निर्माण अबको राजनीतिक एजेन्डा : प्रवक्ता शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार १६:२५:००

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक विकास र सभ्य समाज निर्माण अबको राजनीतिक एजेन्डा हुनुपर्ने बताएका छन् । ‘यति बाटो बन्यो । यतिवटा पुल बने । यति भवन ठडिए भन्नु मात्रै विकास होइन । अब समाज कति सभ्य बन्यो भन्ने मूल्यांकन पनि राजनीतिक एजेन्डाभित्र पर्नुपर्छ,’ प्रवक्ता शर्माले भने । 

उनले राजनीतिक र भौतिक विकासका लागि मात्रै नेपालीले लामो संघर्ष गर्नुपरेका कारण सामाजिक विकासका एजेन्डाहरू छुटिरहेका बताए ।  कांग्रेसको आदिवासी जनजाति केन्द्रीय विभागले गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता शर्माले कांग्रेसको आगामी महाधिवेशनले कांग्रेसलाई अझै समावेशी पार्टीका रूपमा स्थापित गर्ने बताए । 

उनले संविधानको मर्म र भावनाअनुसार पार्टीका सबै संरचनामा समावेशी समानुपातिक सिद्धान्त अपनाएको बताए । ‘कांग्रेसको केन्द्रीय समितिमा मात्रै होइन, पदाधिकारीमा पनि समावेशी सहभागिताकोे व्यवस्था छ, अरू कुनै पार्टीले पनि यस्तो व्यवस्था गरेका छैनन्, यो हाम्रो पार्टीमा मात्रै छ,’ उनले भने, ‘त्यसैले कांग्रेस सधैँ समावेशी व्यवस्थाको पक्षमा छ ।’ 

हाल टेलिभिजन स्क्रिनमा ऐना कार्यक्रममार्फत प्रस्तुत भइरहेका प्रवक्ता शर्माले नेपाली समाजमा व्याप्त समस्याहरूको उठान गरेर तिनको समाधानका लागि त्यो अभियानको थालनी गर्ने प्रयास गरिरहेको बताए । 

कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य तथा आदिवासी जनजाति विभागकी प्रमुख सीता गुरुङले कांग्रेसले सबै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्ने बताइन् । ‘संविधानले समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ, त्यहीअनुसार कांग्रेसले आफ्नो नयाँ विधानमा समावेशी सहभागिताको कुरा सुनिश्चित गरेको छ, कांग्रेस सबै जातजाति, वर्ग, क्षेत्र र लिंगको समानुपातिक विकासमा विश्वास गर्छ,’ उनले भनिन् । 

कार्यक्रममा प्राध्यापक डा. कृष्ण खनालले नेपालको संविधान र कानुनमा आदिवासी जनजातिको व्यवस्थाका विषयमा प्रशिक्षण गरेका थिए । यस्तै, कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहालले कांग्रेसको दृृष्टिकोणमा समाजवाद र साम्यवाद, अधिवक्ता रामजी कोङरेलले नेपाली कांग्रेसको विधान र प्राध्यापक बालकृष्ण माबुहाङले आदिवासी जनजातिको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासका विषयमा प्रशिक्षण गरेका थिए । विभागले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको विभागकी प्रमुख गुरुङले जानकारी दिइन् ।