१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार १८:३०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लकडाउनपछि उपत्यकामा मोटरसाइकल चोरीका घटना बढे

चोरिएका मोटरसाइकलमध्ये २५ प्रतिशत मात्रै फेला, चोरको निसानामा पल्सर मोटरसाइकल, काठमाडौंमा चोरी गर्ने, बाहिरी जिल्लामा लगेर चलाउने

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार १८:३०:००

गत २ माघमा चेकजाँचको क्रममा शंका लागेपछि मोटरसाइकलसहित नुवाकोट तादी गाउँपालिका– ५ बस्ने २८ वर्षीय अनिल तामाङलाई महानगरीय ट्राफिक प्रहरीले बालाजुबाट पक्राउ ग¥यो । प्रहरीका अनुसार उनले बा.६३प २६६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै आएका थिए । उनले नम्बर प्लेट परिवर्तन गरेर बा.६५प २३६६ राखेका थिए । तामाङलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाइयो । 
ट्राफिक प्रहरीले २८ पुसमा चोरीको पल्सर मोटरसाइकलसहित नागढुंगाबाट विजय तामाङलाई पक्राउ ग¥यो । धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय तामाङलाई नम्बर प्लेट परिवर्तन गरेर मोटरसाइकल चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले पक्राउ गरेको हो । 


गत २६ पुसमा ट्राफिक प्रहरीको चेकजाँचको क्रममा बालाजुमा चोरीको मोटरसाइकलसहित धादिङ गल्छीका भीमसेन खड्का पक्राउ परे । उनले काठमाडौंमा चोरी भएको प्रदेश–३ ०२०१४ प०३३९ को मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी प्रदेश–३ ०२,०१५ प१७७३ बनाएर चलाइरहेको पाइयो । ट्राफिक महाशाखाले आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर पठायो । 

अनुसन्धानका क्रममा चोरी भएकामध्ये एकदमै कम मोटरसाइकल मात्रै उपत्यकामा भेटिएका छन् । बाहिरी जिल्लामा लगेर चलाउने गरिएको पाइएको छ । पछिल्लो समय काठमाडौंमा चोरीका उजुरी बढ्न थालेपछि ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेर मोटरसाइकल पत्ता लगाई सवारीधनीलाई बुझाइरहेको छ । अपराध महाशाखा र जिल्ला प्रहरी परिसरले चोरीका घटना नियन्त्रणका लागि विभिन्न अभियान सुरु गरेका छन् । जसले गर्दा पछिल्लो समय पक्राउ पर्नेको संख्या पनि बढेको छ ।
प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, प्रवक्ता, ट्राफिक प्रहरी महाशाखा


गत २२ पुसमा मोटरसाइकल चोरीको आरोपमा बाइसधारा, बालाजुबाट दुईजना पक्राउ परे । वास्तविक नम्बर प्लेट परिवर्तन गरी पल्सर मोटरसाइकल चलाइरहेका धादिङ नीलकण्ठका २६ वर्षीय राजन मगर र धादिङ थाक्रेका २१ वर्षीय राजन तामाङलाई पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले पक्राउ गरेको हो । सो मोटरसाइकल सोह्रखुट्टेबाट हराएकाले खोजी गराइपाऊँ भनी ट्राफिक महाशाखामा उजुरी परेको थियो । चोरीमा संलग्न दुईजनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइयो । 

गत ४ माघमा २२० सिसीको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका रुद्रबहादुर श्रेष्ठ पक्राउ परे । ८ माघमा नुवाकोटका बहादुर तामाङ, रसुवाका सोमान गदान तामाङ र सिन्धुपाल्चोकका साङतेन तामाङ लामालाई ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएका प्रहरीले चोरीको मोटरसाइकलसहित चालकलाई पक्राउ ग¥यो । ट्राफिक प्रहरीको विशेष अप्रेसनबाट १२ माघमा २४ वटा चोरीका मोटरसाइकल र २७ माघमा २५ वटा मोटरसाइकल नियन्त्रणमा लिई सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको छ । मोटरसाइकल चोरीका उजुरी बढ्दै गएपछि महाशाखाले विशेष अप्रेसन सुरु गरेर खोजी थालेको छ । 

चोरीसम्बन्धी दैनिक पाँचवटा उजुरी
माथि उल्लिखित घटना पछिल्लो समय ट्राफिक प्रहरी महाशाखाले उजुरीका आधारमा अनुसन्धान गरी पक्राउ गरेर सार्वजनिक गरेका प्रतिनिधि घटना हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकामा दैनिक मोटरसाइकल चोरीका चारदेखि पाँचवटा उजुरी पर्ने गर्छन् । तर, तथ्यांक हेर्दा यो वर्ष चोरीका संख्या बढी देखिएको छ । ट्राफिक प्रहरीको पछिल्लो तथ्यांकअनुसार लकडाउनपछि काठमाडौं उपत्यकामा मात्रै करिब पाँच सय मोटरसाइकल चोरी भएको भन्दै उजुरी परेका छन् । असोजमा १७६, कात्तिकमा ११६, मंसिरमा १२१, पुसमा १९८ र माघमा १७८ वटा मोटरसाइकल चोरी भएको ट्राफिक महाशाखाको तथ्यांकले देखाउँछ । माघमा मात्र ६८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जसमध्ये ६ वटा मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई चोरीसम्बन्धी मुद्दा चलाउन पठाएको महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाका अनुसार अत्यधिक मोटरसाइकल पार्किङ गरिएका क्षेत्रबाट चोरी हुने गरेका छन् । जसमध्ये सडकमा पार्किङ गरिएका, डिपार्टमेन्ट स्टोर, मलहरूका पार्किङ, अस्पतालका पार्किङ र केही घरको कम्पाउन्डबाटै चोरी हुने गरेका छन् । 

चोरीमा संलग्न अधिकांश जेलबाट छुटेका व्यक्ति
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मोटरसाइकल चोरीमा अधिकांश गिरोह सहभागी हुने गरेका छन् । पक्राउ परेकामध्ये धेरै यसअघि गाडी र मोटरसाइकल चोरी पेसामै संलग्न हुने गरेका व्यक्ति पाइएको उनको भनाइ छ । अधिकारीका अनुसार उपत्यकामा मोटरसाइकल

चोरीमा व्यक्ति मात्र नभई समूह नै संलग्न हुने गरेका छन् । उनीहरूले अधिकांश मोटरसाइकल मोडिफाइड गरेर बेच्ने गरेका छन् । 
‘अनुसन्धानका क्रममा चोरी भएकामध्ये एकदमै कम मोटरसाइकल मात्रै उपत्यकामा भेटिएका छन् । पछिल्लो समय काठमाडौंमा चोरीका उजुरी बढ्न थालेपछि ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेर मोटरसाइकल पत्ता लगाई सवारीधनीलाई बुझाइरहेको छ,’ अधिकारी भन्छन्, ‘अपराध महाशाखा र जिल्ला प्रहरी परिसरले चोरीका घटना नियन्त्रणका लागि विभिन्न अभियान सुरु गरेका छन् । जसले गर्दा पछिल्लो समय पक्राउ पर्नेको संख्या पनि बढेको छ ।’

मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरेर ट्राफिक प्रहरीले थप कारबाहीका लागि अपराध महाशाखालाई बुझाउने गर्छ । अदालतको प्रमाणको आधारमा मोटरसाइकलको जानकारी लिएर प्रहरीले सवारीधनीलाई बुझाउँदै आएको छ । पक्राउ परेका व्यक्तिमाथि चोरीको आरोपमा कारबाही गरिए पनि जेलबाट छुटेपछि अधिकांश पुनः चोरीमा संलग्न हुने गरेको महाशाखाको तथ्यांकले पुष्टि गर्छ । ‘गिरोहमा चोरीमै पेसागत रूपमा संलग्न हुनेहरू पटकपटक पक्राउ पर्ने गरेका थुप्रै घटना छन् । हामीले जेलबाट छुट्ने समय हेरेर उनीहरूलाई फलो गरिरहेका हुन्छौँ, जसले गर्दासमेत पक्राउ पर्नेहरूको संख्यामा वृद्धि भइरहेको छ,’ अधिकारीले भने ।

बजाज कम्पनीका पल्सर मोटरसाइकल धेरै चोरिने गरेका छन् । बजारमा सजिलै बिक्री हुने, कच्ची सडकमा चलाउन सजिलो हुने, पाटपुर्जाहरू महँगोमा बिक्री हुने, चोरीको समयमा चाबी सजिलै खोल्न सकिनेजस्ता विभिन्न कारणले गर्दा पल्सर मोटरसाइकल चोरी हुने गरेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार बजारमा पल्सर मोटरसाइकल बढी हुने भएकाले बेच्न सजिलो हुुनु यसको मुख्य कारण हो । 

चोरी भएकामध्ये २५ प्रतिशत मात्र मोटरसाइकल फेला 
यो वर्ष चोरीसम्बन्धी उजुरी परेको संख्याको २५ प्रतिशत मोटरसाइकल प्रहरीले फेला पारेर सवारीधनीलाई बुझाएको छ । प्रहरीको तथ्यांकअनुसार उजुरीका घटना दैनिक आउने भए पनि उपत्यकामा एकदमै कम मोटरसाइकल भेटिने गरेका छन् । चोरीका घटना हेर्दै आएका ट्राफिक महाशाखाका प्रवक्ता अधिकारी भन्छन्, ‘महानगरीय ट्राफिक महाशाखामा उजुरी दिनेहरू पत्ता लागेपछि कुनै जानकारी दिँदैनन्, जसमध्ये कतिपय अन्य प्रयोजनका लागि चोरीको घटना दर्ता गर्ने घटना पनि भेटिने गर्छन् । महाशाखाले उपत्यकामा मात्रै हेर्ने भएकाले पनि फेला पर्ने संख्या निकै कम भएको हो ।’

अधिकारीले काठमाडौंबाहिरका जिल्लामा पनि अभियान सुरु गर्ने योजना बनाएको जानकारी दिए । ‘पछिल्लो समय चोरीका मोटरसाइकल सिन्धुली, नुवाकोट, धादिङ, काभ्रेका भित्री क्षेत्रमा बढी रहेको जानकारी पाएका छौँ, यसबारे अनुसन्धान भइरहेको छ । मोटरसाइकलका पाटपुर्जा निकालेर बिक्री गरिने भएकाले समेत मोटरसाइकल फेला पार्न गाह्रो भइरहेको छ ।’