Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १८ मंगलबार १७:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतको फैसलाको मूल्यांकन आगामी राजनीतिक परिणामले गर्छ : प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १८ मंगलबार १७:२९:००

प्रधानमन्त्री केपी ओलीले अदालतले गरेको फैसलाको मूल्यांकन आगामी राजनीतिक परिणामले गर्ने बताएका छन् । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै उनले संसद् पुनर्स्थापनाको मूल्यांकन प्रतिनिधिसभाको आगामी गतिविधि र देशको राजनीतिले गर्ने बताएका हुन् ।

‘अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्‍याे । गर्‍याे त के भने ? म केही पनि बोल्दिनँ । मेरो काम त प्रधानमन्त्रीको रूपमा अदालतको फैसलालाई मान्ने हो । त्यसलाई कार्यान्वयन गर्ने हो । तर, अब बस्ने प्रतिनिधिसभा कसरी अघि बढ्छ । देशको राजनीति अब कसरी अघि बढ्छ । अदालतको फैसलाको मूल्यांकन परिणामले गर्छ,’ उनले भने, ‘२३ गते संसद् अधिवेशन बोलाइदिएको छु । राम्ररी संसद् बैठक चलाउन मेरो भूमिका रहन्छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन सहज नभएको बताए । ‘मलाई हटाउन सहज छैन । हटाएर देखाउनुस् । हटाउन सक्ने भने हटाउनुहोस् । खुसीका साथ हट्छु । म मुद्दा हाल्न गएको छैन । राजनीति गर्ने मान्छे हुँ । मुद्दा हाल्न जाँदा नेपाली जनताकहाँ जान्छु । मलाई अन्याय भयो भनेर न्याय माग्छु,’ उनले भने, ‘अहिले हटाए पनि दुई वर्षपछि त चुनाव हुन्छ नि ! दुईतिहाइका साथ सिंहदरबार फर्कन्छु ।’

प्रधानमन्त्री ओलीले आफूले मात्र देश विकास गर्ने र देशलाई अलमलमा पर्न नदिने बताए । ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध बनाउँछौँ । अर्काका लागि कन्फर्टेबल हाेइन । नेपाली जनताका लागि सहज हुने सरकार बनाउँछौँ,’ उनले भने, ‘सबैसँग सहकार्य गर्छौँ । तर, अरूलाई खुसी पार्ने हाेइनऽ नेपाली जनतालाई  खुसी पार्ने काम गर्छौँ ।’ प्रधानमन्त्री ओलीले आफ्नो कर्तव्यप्रति निष्ठाका साथ अघि बढ्ने बताए । उनले आफ्नो सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

आफू नेतृत्वको सरकारले तीन वर्षमा विकास र समृद्धिले फड्को मारेको ओलीले बताए । ‘पहिला वर्षमा दश किलोमिटर सडक पक्की हुन्थ्यो । अहिले दिनमा ५ दशमलव ७ किलोमिटर सडक कालोपत्रे हुन्छ,’ उनले भने, ‘पुलहरू त्यही मात्रामा बनेका छन् । हामी युगान्तकारी काम गर्दै छौँ । नयाँ युगको सुरुवात गर्दै छौँ ।’