मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण १४ शुक्रबार ०६:४६:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना महामारी : ६ सातायता विश्वमै संक्रमणदर घट्दो

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो ६ सातादेखि विश्वमा नयाँ संक्रमणदर र तीन सातायता मृत्युदरमा गिरावट

Read Time : > 5 मिनेट
२०७७ फाल्गुण १४ शुक्रबार ०६:४६:००

 

कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रभाव विश्वभर अझै जारी छ । महामारी रोक्न सिंगो विश्वले सर्वसाधारणलाई भ्याक्सिन लगाउनेदेखि नियन्त्रणका अन्य उपाय गरे पनि अपेक्षाकृत रूपमा नियन्त्रणमा आएको छैन । योबीचमा केही खुसीको संकेत भने देखिएको छ ।

केही देशमा निरन्तर संक्रमण बढिरहे पनि विश्वव्यापी रूपमा संक्रमण र मृत्युदर भने घट्दो अवस्थामा देखिएकोे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा पछिल्लो ६ सातादेखि नयाँ संक्रमणदर निरन्तर घट्दो अवस्थामा छ । यस्तै, पछिल्लो तीन सातादेखि मृत्यु दर पनि घट्दो क्रममा छ । गत साता विश्वभरि नै २४ लाख नयाँ संक्रमण देखिएकोमा यो साता उक्त संख्यामा ११ प्रतिशतले कमी आएको डब्लुएचओको तथ्यांक छ । यस्तै, गत साता ६६ हजारको हाराहारीमा मृत्यु हुँदा यो साता उक्त संख्यामा २० प्रतिशतले कमी आएको छ ।

डब्लुएचओले विश्वलाई ६ क्षेत्र (रिजन)मा बाँडेर काम गर्ने गरेको छ । उसको ६ मध्ये चार क्षेत्रमा संक्रमणदर निरन्तर घटिरहेको देखिएको हो । दक्षिण पूर्वी एसिया र पूर्वी मेडिटेरानियन क्षेत्रमा भने संक्रमण दर अझै बढ्दो अवस्थामा देखिएको छ । दक्षिण पूर्वी एसियामा दुई र मेडिटेरानियन क्षेत्रमा सात प्रतिशतले मृत्युदर वृद्धि भएको डब्लुएचओले जनाएको छ । 

अमेरिकी क्षेत्रमा संक्रमण ठूलो संख्यामा घटेको देखिएको छ । यो क्षेत्रमा मृत्युदर पनि घट्दो क्रममा छ । यो साता अमेरिका, ब्राजिल, फ्रान्स, रुस र भारत गरी पाँच देशमा संक्रमितको संख्या केही धेरै देखिएको छ । अमेरिकामा चार लाख ८० हजार चार सय ६७ नयाँ संक्रमित फेला परेका छन् । यद्यपि, यो अघिल्लो साताको तुलनामा २९ प्रतिशतले कम हो । 

यस्तै, ब्राजिलमा तीन लाख १६ हजार दुई सय २१ नयाँ संक्रमित फेला परेका छन् । जुन अघिल्लो साताको तुलनामा एक प्रतिशतले कम हो । फ्रान्समा एक लाख ३१ हजार एक सय ७९, रुसमा ९२ हजार आठ सय ४३ र भारतमा ८६ हजार सात सय ११ नयाँ संक्रमित फेला परेका छन् । गत साताको तुलनामा फ्रान्समा यो संख्या तीन प्रतिशत, रुसमा ११ प्रतिशत र भारतमा १० प्रतिशतले घटेको हो ।

अफ्रिकी क्षेत्र
अफ्रिकी क्षेत्रमा यो साता ६६ हजार चार सयभन्दा बढी संक्रमणका केस भेटिएको छ । यस्तै, दुई हजारजनाको मृत्यु भएको छ । अघिल्लो साताको तुलनामा संक्रमणमा दुई प्रतिशत र मृत्युदरमा २० प्रतिशतले घटेको हो । अफ्रिकी क्षेत्रमा पछिल्लो ६ सातादेखि नयाँ संक्रमण र मृत्युदरमा निरन्तर कमी आएको देखिएको हो । यो साता अफ्रिकी क्षेत्रमध्ये सबैभन्दा बढी संक्रमण दक्षिण अफ्रिकामा देखिएको छ । दक्षिण अफ्रिकामा १२ हजार तीन सय चार नयाँ संक्रमित देखिएका छन् । यद्यपि, यो अघिल्लो साताको तुलनामा २५ प्रतिशतले कम हो । 

मोजाम्बिकमा ६ हजार तीन सय ८० नयाँ संक्रमित देखिएका छन्, यो अघिल्लो साताको तुलनामा ४२ प्रतिशतले कमी हो । अफ्रिकी क्षेत्रमा यो साता सबैभन्दा बढी मृत्यु संख्या पनि दक्षिण अफ्रिकामै देखिएको थियो । दक्षिण अफ्रिकामा यो साता एक हजार एक सय १९ जनाको मृत्यु भएको थियो । यो संख्या पनि अघिल्लो साताको तुलनामा ३२ प्रतिशतले कम हो । 

अमेरिकी क्षेत्र
यो साता अमेरिकी क्षेत्रमा १० लाखभन्दा बढी नयाँ संक्रमित र ३४ हजार तीन सयजनाको मृत्यु भएको तथ्यांक छ । यद्यपि, अघिल्लो साताको तुलनामा यो क्रमशः १९ प्रतिशत र २३ प्रतिशतले घटेको हो । यो क्षेत्रमा सबैभन्दा बढी संक्रमण अमेरिकामा चार लाख ८० हजार चार सय ६७ जनामा देखिएको छ । अमेरिकामा अघिल्लो साताको तुलनामा यो संख्या २९ प्रतिशतले कम हो । त्यसपछि ब्राजिलमा तीन लाख १६ हजार दुई सय २१ नयाँ संक्रमित देखिएका छन्, जुन गत साताको तुलनामा २२ प्रतिशत घटेको हो । 

यो क्षेत्रमा कोरोना भाइरसबाट गत साता सबैभन्दा बढी मृत्यु पनि अमेरिका र ब्राजिलमै भएको छ । अमेरिकामा १४ हजार सात सय ४७ र ब्राजिलमा सात हजार दुई सय ७६ को मृत्यु भएको छ । मृत्यु दर अमेरिकामा अघिल्लो साताको तुलनामा ३१ प्रतिशत र ब्राजिलमा दुई प्रतिशतले कमी देखिएको हो । यस्तै, मेक्सिकोमा ६ हजार चार सय आठजनाको मृत्यु भएको छ, जुन अघिल्लो साताको तुलनामा २२ प्रतिशत कम हो ।

इस्टर्न मेडिटेरानियन क्षेत्र
यो साता इस्टर्न मेडिटेरानियन क्षेत्रमा एक लाख ८१ हजारभन्दा बढी नयाँ संक्रमणका केस देखिएको छ । यो गत साताको भन्दा सात प्रतिशतले बढी हो । यो क्षेत्रमा दुई हजार चार सयजनाभन्दा बढीको मृत्यु भएको छ, जुन तीन प्रतिशतले वृद्धि हो । 

यो साता ठूलो संख्यामा संक्रमण बढ्ने तीन देशहरू इरान, इराक र संयुक्त अरब इमिरेट्स (युएई) रहे । इरानमा ५५ हजार दुई सय आठ नयाँ संक्रमित देखिएका छन्, जुन गत साताको तुलनामा सात प्रतिशतले वृद्धि हो । इराकमा २३ हजार एक सय २२ जना नयाँ संक्रमित देखिएको छ, जुन ६३ प्रतिशतले वृद्धि हो । युएईमा २२ हजार पाँच सय ७० नयाँ संक्रमणका केस देखिएको छ, जुन दुई प्रतिशतले वृद्धि हो ।

यस क्षेत्रमा सबैभन्दा बढी मृत्यु संख्या पनि इरानमै देखिएको छ । यो साता इरानमा पाँच सय २६ जनाको मृत्यु भएको छ, जुन १२ प्रतिशतले बढी हो । त्यसपछि इजिप्टमा तीन सय ६३ जनाको मृत्यु भएको देखिएको छ, जुन १० प्रतिशतको वृद्धि हो । यस्तै, लेबनानमा तीन सय ३६ जनाको मृत्यु भएको छ, जुन १६ प्रतिशतले कमी हो । 

युरोपियन क्षेत्र
यो क्षेत्रमा यो साता ९३ हजार नौ सय नयाँ संक्रमित भेटिएको छ भने संक्रमणबाट २४ हजारको मृत्यु भएको छ । यद्यपि, यो संख्या गत साताको तुलनामा क्रमशः सात र १९ प्रतिशतले कम हो । यो क्षेत्रमा यस साता ठूलो संख्यामा संक्रमित फेला परेका तीन देश फ्रान्स, रुस र इटाली हुन् ।

फ्रान्समा सबैभन्दा बढी एक लाख ३१ हजार एक सय ७९ जनामा नयाँ संक्रमण देखिएको छ । यद्यपि, गत साताको तुलनामा यो तीन प्रतिशतले कमी हो । त्यसपछि रुसमा ९२ हजार आठ सय ४३ नयाँ संक्रमित देखिएका छन्, जुन ११ प्रतिशतले कम हो ।

यस्तै, इटालीमा ८४ हजार नौ सय ७७ जनामा नयाँ संक्रमण देखिएको छ, जुन एक प्रतिशतले कमी हो । यो साता कोरोना संक्रमणका कारण युरोपियन क्षेत्रमा सबैभन्दा बढी बेलायतमा मृत्यु भएको छ । बेलायतमा भाइरस संक्रमणबाट तीन हजार चार सय ५७ जनाको मृत्यु भएको छ । गत साताको तुलनामा यो २८ प्रतिशतले कमी हो । यस्तै, रुसमा तीन हजार एक सय ६७ र जर्मनीमा दुई हजार आठ सय ८१ जनाको मृत्यु भएको छ । रुसमा मृत्युदर ९ र जर्मनीमा १६ प्रतिशतले कमी आएको हो । 

दक्षिण–पूर्वी एसिया क्षेत्र
यो क्षेत्रमा नयाँ संक्रमण दरमा वृद्धि भएको छ । यद्यपि, मृत्युदरमा भने कमी आएको छ । गत साता एक लाख ५७ हजार नयाँ संक्रमित देखिएको यो क्षेत्रमा यस साता दुई प्रतिशतले बढेको हो । यस्तै, दुई हजार एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जुन गत साताको तुलनामा ६ प्रतिशतले कम हो ।

यस क्षेत्रमा सबैभन्दा बढी भारतमा ८६ हजार सात सय ११ जनामा संक्रमण देखिएको छ, जुन गत साताको तुलनामा १० प्रतिशतले बढी हो । त्यसपछि इन्डोनेसियामा ६० हजार ६ सय ५० जनामाप्राथमिकतासंक्रमण देखिएको छ, जुन पाँच प्रतिशतले कमी हो ।

श्रीलंकामा चार हजार ६ सय २८ जनामा संक्रमण देखिएको छ, जुन २६ प्रतिशतले कम हो । यो क्षेत्रमा सबैभन्दा बढी मृत्यु इन्डोनेसियामा भएको छ । यो साता इन्डोनेसियामा एक हजार तीन सय ८० जनाको मृत्यु भएको छ, जुन गत साताको तुलनामा ११ प्रतिशतले कमी हो । त्यसपछि भारतमा ६ सय ६० र बंगलादेशमा ७६ जनाको मृत्यु भएको छ । भारतमा गत साताको तुलनामा दुई प्रतिशतले वृद्धि हो भने बंगलादेशमा कुनै परिवर्तन देखिएन ।

वेस्टर्न प्यासिफिक क्षेत्र
यो क्षेत्रमा नयाँ संक्रमणदरमा कमी देखिएको छ भने मृत्युदरमा वृद्धि भएको छ । यो साता झन्डै ४५ हजार नयाँ संक्रमित देखिएका छन्, जुन गत साताको तुलनामा ९ प्रतिशतले कम हो । यस्तै, यो क्षेत्रमा एक हजार दुई सयजनाको मृत्यु भएको छ, जुन ६ प्रतिशतले वृद्धि हो ।

यो साता वेस्टर्न प्यासिफिक क्षेत्रका तीन देशमा ठूलो संख्यामा संक्रमित देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी मलेसियामा १८ हजार चार सय ६७ जनामा संक्रमण देखिएको छ, जुन २० प्रतिशतले कमी हो । त्यसपछि फिलिपिन्समा १२ हजार ३३ र जापानमा १० हजार ३५ जनामा संक्रमण भेटिएको छ ।

फिलिपिन्सको यो संख्या दुई प्रतिशतले बढी हो भने जापानको नौ प्रतिशतले कम हो । यो क्षेत्रमा सबैभन्दा बढी मृत्यु फिलिपिन्समा भएको छ । फिलिपिन्समा यो साता पाँच सय ६१ जनाको मृत्यु भएको छ, जुन १२ प्रतिशतले कमी हो । 

डब्लुएचओको भ्याक्सिन निर्देशिका

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको कोरोना भाइरस निक्कै छिटो विश्वव्यापी बन्यो । त्यससँगै संक्रमण रोक्ने प्रयासस्वरूप गत वर्षदेखि नै विश्वका धेरै देश र औषधि उद्योगहरूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गर्न सुरु गरे । न्युयोर्क टाइम्सका अनुसार कोरोना भाइरसविरुद्धका ७१ भ्याक्सिन अहिले मानव शरीरमाथिको क्लिनिकल परीक्षणमा छन् ।

२० वटा भ्याक्सिन परीक्षणको अन्तिम चरणमा छन् भने कम्तीमा ७८ वटा भ्याक्सिन जनावरमाथिको परीक्षणको चरणमा छन् । झन्डै दर्जन भ्याक्सिनले धेरै देशमा आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय निकाय डब्लुएचओले प्रमाणित गरेपछि मात्रै यस्ता भ्याक्सिन विश्वभर प्रयोगमा ल्याइने गरिन्छ ।

कुनै पनि भ्याक्सिन निर्माणका लागि वर्षौंको अवधि र धेरै चरणको परीक्षण आवश्यक पर्छ । त्यसैले कोरोना भाइरसविरुद्धको कुनै पनि भ्याक्सिनलाई डब्लुएचओले पूर्ण रूपमा मान्यता दिइसकेको छैन । यद्यपि, डब्लुएचओले अहिले तीन फरक भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि सिफारिस गरेको छ । त्यसमा फाइजर बायोन्टेक, मोडर्ना भ्याक्सिन र एस्ट्रोजेनेका–अक्स्फोर्ड भ्याक्सिन रहेका छन् । डब्लुएचओले यी भ्याक्सिन प्रयोगका लागि विभिन्न मापदण्ड पनि तोकेको छ ।