मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १६ आइतबार
  • Sunday, 28 February, 2021
फुटबल खेलाडी गीता राना
२०७७ फाल्गुण ११ मंगलबार ०९:३६:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पातलो शरीर हेभी बाइक

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण ११ मंगलबार ०९:३६:००

पातलो शरीर । उस्तै पातलो हातले बाइकको ह्यान्डल थाम्न सक्लाजस्तै देखिन्न । तर, करिब चार वर्षदेखि एपिएफ र नेपाली महिला राष्ट्रिय फुटबल टोलीको रक्षापंक्ति सम्हाल्दै आइरहेकी गीता रानाको यही पातलो शरीरले काठमाडौंको सडकमा क्रसफायर (एसियन बिस्ट २५०) दौडाउन थालेकै दुई वर्षभन्दा बढी भइसक्यो । 

यी बाइकवाली नेपाली महिला फुटबलले पाएको उत्कृष्टमध्येकी प्रतिभा हुन् । उनकै कारण नेपाली महिला फुटबलको रक्षापंक्ति मजबुद छ । मैदानमा विपक्षी स्ट्राइकरलाई सहजै रोक्ने उनको कलाले मात्रै होइन, मैदानमा प्रदर्शन गर्ने समन्वयकारी भूमिकाले पनि उनको प्रशंसा हुने गर्छ । त्यसैले त एपिएफदेखि राष्ट्रिय टोलीको रक्षापंक्तिमा उनी ‘डेब्यु’देखि नै अपरिवर्तित (चोटग्रस्त हुँदा बाहेक) छिन् ।

मैदानभित्रको जस्तै उनले मैदानबाहिर पनि क्षमता वा फरकपन बनाएकी छिन् । त्यसकै उदाहरण हो, उनको बाइक रोजाइ । उनलाई क्रस फायरमा देख्नेहरू अचम्मित हुन्छन् । सडकमा उनलाई मान्छेहरू अचम्म मान्दै हेर्छन् । हेल्मेटको भाइजरका रूपमा कालो ग्लास प्रयोग गर्ने उनी मान्छेहरूका ती अनौठा प्रतिक्रिया राम्रोसँग नियाल्छिन् । 

कालो ग्लासका कारण उनले हेरेको थाहा नपाउनेहरू उनी पर पुग्दासम्म हेरी नै रहन्छन् । उनी सुनाउँछिन्, ‘कतिपटक त बसभित्र रहेका मान्छेहरूले पनि औँलाले देखाएर केटीले त्यत्रो बाइक चलाएको हेर् त भनेको देखेकी छु ।’ यस्ता प्रतिक्रिया अस्वाभाविक पनि होइनन् । सुरक्षा र सहजताका लागि धेरै पुरुषले नै पनि पछिल्लो समय स्कुटर बढी प्रयोग गर्ने गरेको देखिएको छ । पुरुषहरूले नै कमै मात्र आँट गर्ने यस्ता अग्ला र हेभी खालका बाइक महिलाका लागि प्रायःको कल्पनाभन्दा बाहिरको कुरा हो । यसमा उनलाई अपवाद नै मान्नुपर्छ ।

बाइक उनको सपना थियो । बाइक चढ्छु भन्ने उनको इच्छा सानै उमेरदेखिको हो । फुटबलकै कारण काठमाडौं प्रवेश गरेपछि र एपिएफमा जागिर सुरु भएपछि उनले स्कुटर त चढ्न थालिन्, तर बाइकको सपना अझै लम्बियो ।नेपाली महिला टोलीले एक वर्षअघि विराटनगरमा भएको साफ च्याम्पियनसिपमा दोस्रो स्थान हात पार्दा नगद पुरस्कार प्राप्त गरेको थियो । टोलीकी महत्वपूर्ण सदस्य उनले पनि पुरस्कार पाइन् । उनीसँग जागिर र अरू प्रतियोगिता जित्दा प्राप्त पुरस्कारबाट पनि केही रकम थपिएको थियो । बाइक किन्न पुग्ने पर्याप्त रकम भने अझै जम्मा भइसकेको थिएन ।

प्रशिक्षक भगवती थापा (उनी एपिएफकी प्रशिक्षक होइनन्) उनकी धर्मआमा हुन् । छोरीको बाइक चढ्ने सपना पूरा गर्न आमा भगवतीले पनि सहयोग गरिन् । त्यसपछि चार लाख ६० हजार खर्च गरेर उनले किनिन्, एसियन विष्ट २५०, क्रस फायर । ‘यही किन्छु भन्ने त थिएन, साथीहरूले राम्रो छ भन्ने सुझाब दिएपछि किनेकी हुँ’, उनी भन्छिन्, ‘बाइक चढ्ने सपना पूरा हुँदा साच्चिकै खुसी भएकी थिएँ ।’

त्यसयता बाइक उनको दैनिक यात्राको साथी बनेको छ । झन्डै महिना दिन चलेको राष्ट्रिय महिला लिगअन्तर्गत एपिएफको खेलका लागि उनी यही बाइकमा सातदोबाटोस्थित एन्फा मैदान पुगिन् । शुक्रबार भएको लिगको अन्तिम खेलका लागि पनि उनी बाइकमै रंगशाला पुगेकी थिइन् ।

काठमाडौंबाहिरको लामो यात्रामा पनि उनी एसियन विष्टमै पुगेको बताउँछिन् । उनी एसियन विष्टबाटै ६ सय पाँच किलोमिटरभन्दा लामो दूरीको यात्रा गरी काठमाडौंदेखि सुर्खेतस्थित घरसम्म पुगेकी छिन् । आफ्नो बाबालाई सँगै राखेर काठमाडौंदेखि गोरखासम्मको एक सय ४२ किलोमिटरभन्दा लामो दूरीको यात्रा यसमै तय गरेको उनी बताउँछिन् ।

उनी यो आँटले आफूभित्र थप आत्मबल बढेको महसुस गरेको सुनाउँछिन् । ‘धेरैले केटीहरूले सक्दैन भन्छन् । त्यस्तो काम गरेर देखाउँदा आत्मबल बढेको महसुस गरेको छु,’ उनी भन्छिन्, ‘सायद, यसले मेरो खेल करिअरमा पनि मद्दत पु¥याएको छ ।’

पार्वतीको बुलेट सपना 
तेक्वान्दो खेलाडी पार्वती गुरुङ अपवादकी अर्की खेलाडी हुन्, जो बुलेट दौडाउँछिन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा एक स्वर्ण र एक रजत पदक जितेकी पार्वती पछिल्लो डेढ वर्षदेखि (रोयल एन्डफिल्ड) बुलेट प्रयोग गर्छिन् । नेपाली खेलकुदले पाएको यी अर्की प्रतिभावान् खेलाडीका लागि पनि बुलेट एक सपना थियो । लमजुङमा जन्मिएर चितवनमा हुर्किएकी पार्वती पहिलेबाटै बाइक चढ्थिन् । सानै उमेरमा साइकल चढ्न सिकेकी उनले ७–८ कक्षा पढ्दा नै बाबाको होन्डा साइन बाइक चलाउन सिकिन् । 

एसएलसी परीक्षापछि बाबालाई भनेर उनले पल्सर २२० किनिन् । पल्सरसँग उनको यात्रा लामै चल्यो । बुलेट चढ्ने सपना अझै पूरा भएको थिएन । १३औँ सागले उनको त्यो सपना पूरा गरिदियो । सरकारले १३औँ सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही नौ लाख र टिममा रजत जित्ने खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिएको थियो ।

पार्वतीले पुम्सेतर्फ २४ देखि २९ वर्षमुनिको इन्डिभिजुअलमा स्वर्ण र पेयरमा रजत पदक जितेकी थिइन् । त्यसमार्फत उनले अन्य खेलाडीले जस्तै पुरस्कारस्वरूप सरकारबाट ११ लाख पाएकी थिइन् । यही रकम खर्चेर उनले बुलेट किनिन् । १३औँ सागमा स्वर्णसहित दुई पदक जित्दा उनी जति खुसी थिइन्, बुलेट चढ्ने बाल्यकालदेखिको सपना पूरा हुँदा उत्ति नै खुसी देखिएकी थिइन् ।

 बुलेट किनेपछि उनले चितवन पुर्‍याएर आफ्नो साथीलाई समेत देखाइन् । ‘सानैदेखि बाइक चढ्ने सोख थियो । बाइकमा पनि बुलेट सपना थियो,’ उनी भन्छिन्, ‘बुलेट चढ्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्यो । किनेपछि कतिवेला साथीहरूलाई देखाउँ जस्तो भयो । पछि चितवन पुर्‍याएर साथीहरूलाई पनि देखाए ।

सागमा स्वर्ण जित्दा जत्तिकै खुसी थिएँ ।’ उनलाई बुलेटमा देख्दा धेरैले अचम्म मानेर हेर्छन् । धेरैले ‘सक्छौ ? मुस्किल हुन्न...’ भनेर सोध्छन् । त्यसमा उनको रमाइलो जवाफ छ । ‘बुलेट चढ्ने हो । बोक्ने होइन नि । बोक्नु पर्ने हो भने पो मुस्किल हुन्छ त,’ उनी जवाफ फर्काउँछिन्, ‘चलाउँदा पनि मुस्किल नहुने त होइन । हेभी भएका कारण कहिलेकाहीँ त्यसलाई थेग्न गाह्रो हुन्छ । तर, अरूले भनेको जस्तो मुस्किलचाहिँ हुँदैन ।’

खेलकुदसँगै राइडिङमा पनि सोख राख्ने उनी बुलेट लिएपछि पटकपटक लामो दूरीको टुरमा गएकी छिन् । उनी बुलेटमै पोखरा, चितवनदेखि रौतहटसम्म पुगेकी छिन् । बुलेटमै मनाङ, मुस्ताङसम्म पुग्ने इच्छा रहेको उनी सुनाउँछिन् । ‘कहिलेकाहीँ भ्लगहरू हेर्छु । मान्छेहरूले स्टन्ट गरेको देख्छु । मलाई तिनीहरू सामान्य लाग्छन्,’ आँटिली पार्वती भन्छिन्, ‘अहिलेसम्म प्रयास गरेको त छैन, तर गरेँ भने सक्छु जस्तो लाग्छ । स्टन्टमा भन्दा पनि बढी लामो दूरीको राइडिङमा जाने इच्छा छ । मनाङ, मुस्ताङचाहिँ बुलेटमै पुग्ने रहर छ ।’

उनी पनि बुलेट चढ्ने आँटले आत्मबल बढेको महसुस भएको सुनाउँछिन् । ‘अरूले केटी मान्छेले सक्दैन भन्छन् । अरूले सक्दैन भनेको काम गर्दा आत्मबल उच्च हुँदो रहेछ,’ पार्वती अनुभव सुनाउँछिन्, ‘यसले मेरो खेलमा पनि मद्दत पुगेको छ । प्रतिस्पर्धाकै समयमा पनि सक्छु भन्ने आँट आउँदो रहेछ ।’