मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण ७ शुक्रबार ०६:२०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रहरीको यातनाबाट जुम्लामा १३ वर्षीय बालकको मृत्यु

प्रदर्शनमा उत्रिएका स्थानीयमाथि पनि प्रहरी दमन

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ७ शुक्रबार ०६:२०:००

हिरासतमा प्रहरीले दिएको यातनाबाट जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटका १३ वर्षीय बालक पदम बुढाको मृत्यु भएको छ । प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि पनि प्रशासनले दमन गरेको छ, त्यसक्रममा पीडित परिवारका तीन जना घाइते भएका छन् ।   

मोबाईल चोरेको आरोपमा गत १८ माघमा प्रहरीले पदमलाई जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । जहाँ उनलाई निक्कै यातना दिइयो । प्रहरी कार्यालयबाट घर फर्किएपछि पदमको खुट्टा र शरिर सुन्निनुका साथै निलडाम देखिएपछि परिवारले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए । शरिरमा गहिरो चोटका कारण मुटु, फोक्सो र मस्तिष्कमा क्रमशः रगत जम्दै गएपछि  बुधबार उनको मृत्यु भएको थियो । 

अस्पतालकोे विरामी कार्डमा पनि पदमको पैतालामा पाईप र लठ्ठीले धेरै हानेकाले शरिर सुन्निएको उल्लेख छ । मृतक बालकका बाजे धर्मसिंह बुढाले प्रहरीबाटै नागरिक असुरक्षित भएको बताए । ‘जनताको सुरक्षा गर्ने जिम्मा बोकेको प्रहरीले नै त्यो सानो बालखलाई मार्‍यो ।

दिनदहाडै जघन्य अपराध गर्ने पुलिसमाथि अब हामीले कसरी विश्वास गर्नु ?’, उनले भने । पदमका आफन्त दानबहादुर खत्रीले प्रहरीबाटै समाज त्रसित भएको बताए । ‘नेपालको संविधान २०७२ को धारा (३९) को उपधारा (७) मा बालकलाई कुनै पनि घटनाको विषयलाई लिएर शारिरिक तथा मानसिक यातना दिन नमिल्ने व्यवस्था छ । तर, प्रहरीलेनै मर्ने गरी बालक माथि गरेको जघन्य अपराधले समाज त्रसित भएको छ,’ उनले भने । 

स्थानीय प्रशासनले पनि प्रहरीको यातनाकै कारण पदमको मृत्यु भएको भन्दै कुटपिट गर्ने प्रहरी जवान कृष्ण अधिकारीलाई बिहिबार निलम्बन गरेको छ । घटनाको छानबिन गर्न गृह मन्त्रालयबाट टोली आउन लागेको जुम्लाका सिडिओ भुपेन्द्र थापाले बताए । 

‘घटनाको प्रकृति हेर्दा मृतक बालकलाई प्रहरीले शारिरिक तथा मानसिक यातना दिएको सत्य हो । त्यसपश्चात स्वास्थ्यमा खराबी आएर मृत्यु भयो । यो घटनाको छानविनका लागि गृहमन्त्रालयबाटै टोली आउने भएको छ,’ सिडिओ थापाले भने । दोषीलाई आवश्यक कारवाही र पीडित परिवारलाई राहतका लागि प्रदेशको कानुन मन्त्रालय र संघको गृहमन्त्रालयमा पहल गर्ने निर्णय भएको उनले बताए । 

प्रहरी ज्यादतीको विरोध गर्दै बिहिबार प्रर्दशनमा उत्रेका स्थानीयमाथि प्रहरीले दमन गरेको छ । दुई पक्षबीच भएको झडपका क्रममा मृतकका तीन आफन्त र पाँच प्रहरी घाइते भएका छन् । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाई फायर गर्नुका साथै केही सेल अश्रुरग्याँस पनि प्रहार गरेको थियो ।

 प्रदर्शनकारीले एक्कासी जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडपको अवस्था सिजृना भएको प्रशासनले जनाएको छ । प्रदर्शनपछि स्थानीय प्रशासन र पीडितका आफन्तबीच भएको वार्तामा उच्च स्तरीय छानविन समिति गठन गर्ने, तत्काल पिडितलाई राहत उपलब्ध गराउन प्रदेशको आन्त्रिक मामिला मन्त्रालय र केन्द्रको गृह मन्त्रायलयमा अनुरोध गर्ने तथा दोषी प्रहरीलाई कानुन बमोजिम कारबाही गर्ने सहमति भएको मृतकका बालकका दानबहादुर खत्रीले बताए । त्यसपछि मात्रै पीडित परिवारले पोस्टमार्टम गरेर शव बुझेको छ ।