मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण ६ बिहीबार ०९:४३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तिम दुई खेल अगावै एपिएफलाई महिला राष्ट्रिय लिग फुटबलको उपाधि

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण ६ बिहीबार ०९:४३:००

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएपछि एपिएफको उपाधि पक्का भएको हो । 

बुधबार नै भएको दोस्रो खेलमा एपिएफले विराटनगर महानगरपालिकालाई १–० ले पराजित गर्दै लिगमा लगातार ११औँ जित आत्मसात् ग¥यो । त्यससँगै एपिएफका खेलाडीहरूले मैदानमा उपाधिको खुसी मनाएका थिए । एपिएफलाई बुधबारको खेलबाटै उपाधि निश्चित गर्न आर्मी बराबरीमै रोकिनु पर्ने वा आफैँले तीन अंक जोड्नु पर्ने दुई समीकरण आवश्यक थियो । एपिएफले विराटनगरलाई पराजित गर्नु पहिले नै आर्मी बराबरीमा रोकिन पुग्यो । त्यससँगै एपिएफले लिगमा आफ्नो दुई खेल बाँकी छँदै उपाधि जितेको हो ।

साम्बाको अभाव  खड्कियो : प्रशिक्षक थापा
पहिलोपटक प्रशिक्षकको भूमिकामा टोलीलाई लिगको उपाधि दिलाएपछि एपिएफकी प्रशिक्षक भगवती थापाले खुसी व्यक्त गरिन् । यद्यपि, उनले विराटनगरविरुद्धको खेलमा आफ्नो टोलीको प्रदर्शनमा भने असतुष्टि जनाइन् । ‘उपाधि जित्दा खुसी लागेको छ । यो प्रतियोगिताले प्रशिक्षकको जिम्मेवारी कठिन हुने अनुभव पनि दिएको छ’, पूर्वखेलाडीसमेत रहेकी भगवतीले भनिन्, ‘यद्यपि, विराटनगरविरुद्धको खेलमा सोचेको जस्तो प्रदर्शन भएन । यो खेलमा सावित्रा भण्डारी (साम्बा)को अभाव खड्किएको छ ।’ 

सावित्रा नेपाल पुलिसविरुद्ध गत सोमबार भएको खेलमा चोटग्रस्त बनेकी छिन् । हेडिङ गर्न उफ्रिएकी उनको ल्यान्डिङ नमिल्दा घुँडामा चोट लागेको छ । डाक्टरले उनलाई करिब एक वर्ष आराम गर्नुपर्ने र शल्यक्रियासमेत गर्नुपर्ने सुझाब दिएका छन् । बुधबार एपिएफका खेलाडीहरूले उपाधिको खुसी मनाउँदा सावित्रा पनि बैसाखीको सहाराले मैदानमा उपस्थित थिइन् । जारी लिगमा एपिएफका लागि सावित्रा एक्लैले ४३ गोल गरेकी छिन् ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही शुक्रबार हुने प्रतियोगिताको अन्तिम खेलमा एपिएफ र आर्मी भिड्दै छन् । दुवै टोलीका प्रशिक्षकले लिगको अन्तिम खेललाई अविष्मरणीय बनाउने बताएका छन् । ‘लिगमा हाम्रै प्रदर्शनका कारण उपाधिबाट टाढा भयौँ ।

पुलिससँगै दुवै लिगको खेलमा बराबरीमा रोकिन पुग्यौँ । यसले हाम्रो उपाधि लक्ष्यमा ठूलो घाटा पु¥याएको छ,’ पुलिससँग बराबरी खेल्दै एपिएफलाई उपाधि सुम्पिएपछि आर्मीका प्रशिक्षक राजु तामाङले भने, ‘एपिएफसँगै अन्तिम खेल बाँकी छ । हामी उक्त खेलमा राम्रो नतिजाको अपेक्षा गरिरहेका छौँ । कम्तीमा एपिएफको जितको यात्रालाई रोक्ने प्रयास हामी गर्नेछौँ ।’

एपिएफकी प्रशिक्षक भगवतीले पनि जितकै साथ लिगमा आफ्नो यात्रा टुंग्याउने बताइन् । ‘उपाधिको छिनोफानो भइसकेको छ । कम्तीमा हामीसँग अब उपाधिको दबाब हुनेछैन,’ उनले भनिन्, ‘हामी अन्तिम खेल पनि हाम्रो र लगातार जितको यात्रालाई कायमै राख्नेछौँ ।’

आर्मीले गुमाएको अवसर
सिनियर राष्ट्रिय टोलीमा लामो समय खेलेका राजु तामाङको नेतृत्वमा लिगमा सहभागी भएको आर्मी प्रतियोगिताको उद्घाटन खेलमै नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो । बुधबार पनि पुलिससँगै १–१ गोलको बराबरीमा रोकिएपछि आर्मीले उपाधि एपिएफलाई सुम्पियो ।

बुधबार आर्मीले पुलिसलाई र विराटनगरले एपिएफलाई पराजित गरेको भए, उपाधिको टुंगो एपिएफ र आर्मीबीच हुने प्रतियोगिताको अन्तिम खेलबाटै लाग्ने थियो । यस्तो अवस्थामा अन्तिम खेलमा एपिएफलाई पराजित गर्न आर्मीले उपाधि जित्न पनि सक्थ्यो । यद्यपि, आर्मीले यो अवसर गुमाएको छ ।

सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा अमृता जैसीले पुलिसलाई १–० ले अगाडि बढाएकी थिइन् । खेलको १७औँ मिनेटमै अमृताले प्रहार गरेको बल आर्मीकी विमला बिकेलाई लागेर गोलमा परिणत भएको थियो । आर्मीका लागि खेलको ५३औँ मिनेटमा रश्मि घिसिङले बराबरी गोल गरेकी थिइन् । पुलिसले एउटा पेनाल्टी चुकाउँदा आर्मी पराजयबाट जोगिएको थियो । 

आर्मीका खेलाडीले आफ्नो डी बक्सभित्र हातले बल छोएपछि प्राप्त पेनाल्टी अवसरमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले क्रसबारबाट बाहिर प्रहार गरेकी थिइन् । ‘हामीले माथिल्लो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्ने योजना बनाएका थियौँ । यद्यपि, सम्भव भएन,’ खेलपछि पुलिसकी प्रशिक्षक सञ्जीव जोशीले भने, ‘आजकै खेलमा पनि पेनाल्टी अवसर सदुपयोग गर्न नसक्नु दुर्भाग्य बन्यो ।’

प्रतियोगितामा पहिलोपटक आफ्नो मुख्य स्ट्राइकर सावित्राविना मैदानमा उत्रिएको एपिएफले विराटनगरविरुद्ध जितका लागि ठूलो संघर्ष ग¥यो । सीमित मात्रै गोल अवसर सिर्जन गरेको एपिएफले तुलनात्मक रूपमा युवा र कम अनुभवी खेलाडीले भरिएको विराटनगरविरुद्ध दबाब व्यहोरिरहेको थियो ।

टोलीको जितमा अनिता केसीले खेलको ५५औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । सरु लिम्बूले मिलाइदिएको उत्कृष्ट पासमा अनिताले सिक्स यार्डनजिकबाट गोल गरेकी थिइन् । सावित्राविना टोलीलाई दबाब परेको एपिएफकी प्रशिक्षक भगवतीले बताइन् । ‘उनी टोलीको मुख्य खेलाडी हुन् । एक्कासि उनी नहुँदा टोलीलाई दबाब त पर्‍यो नै,’ भगवतीले भनिन्, ‘उनी नहुँदा टोलीको माहोल नै फरक बन्यो ।’