मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार ०९:०२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिडका कारण १ सय ७३ श्रमिकको विदेशमै अन्त्येष्टि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार ०९:०२:००

वैदेशिक रोजगारीमा क्रममा विभिन्न कारणले निधन भएकामध्ये १ सय ७३ श्रमिकको सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गरिएको छ । कोरोना महामारीका कारण नेपाल ल्याउन कठिन भएपछि सम्बन्धित मुलुकमा नै दाहसंस्कार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

चालू आवको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै श्रममन्त्री गौरीशंकर चौधरीले ४ सय २५ श्रमिकको शव घर–ठेगानामा पुर्‍याइएको बताए । जसका लागि वैदेशिक रोजगार बोर्डले ८६ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई बोर्डले ४८ करोड ४९ लाख वितरण गरेको छ । अशक्त र अंगभंग भएका श्रमिकलाई २ करोड ७ लाख वितरण गरेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, बेखर्ची भई विभिन्न मुलुकमा अलपत्र भएका श्रमिकको निःशुल्क उद्धारका लागि १ करोड ४५ लाख रकम पेस्की पठाएको छ । मलेसिया, कतार, साउदी अरब, युएई, बहराइनलगायतका मुलुकहरूबाट पेस्कीको माग भएको थियो । उक्त रकमबाट १ सय ८७ जना कामदारको उद्धार गरिएको छ । ३९ जनाको उद्धार गर्न वैदेशिक रोजगार बोर्ड र सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासबीच सहकार्य भइरहेको छ । 

 पाँच मुलुकसँग श्रम सम्झौताको तयारी
श्रम मन्त्रालयले थप ५ मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ । हालसम्म नेपालले विभिन्न ९ मुलुकसँग श्रम सम्झौता गरेको छ । त्यस्तै, चालू आवको अर्धवार्षिक अवधिसम्ममा १ हजार ३ सय ६६ वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

 श्रम कानुनको परिपालना भए–नभएको सम्बन्धमा जम्मा ९ सय ५७ प्रतिष्ठानको निरीक्षण गरिएको छ भने ९ सय ३७ प्रतिष्ठानमा बालश्रम निरीक्षण भएको जनाएको छ । साथै, अर्धवार्षिक समीक्षा अवधिमा ५ सय ४ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जना विदेशी नागरिकको श्रम स्वीकृति नवीरकण भएको छ । 

 ४४ प्रतिशत खर्च
श्रम मन्त्रालयले चालू आर्थिक वर्ष ०७७/७८ को अर्धवार्षिक अवधिसम्ममा ४ अर्ब ८ करोड रुपैयाँ खर्च भएको बताएको छ । मन्त्रालयले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवमा विनियोजित बजेटमध्ये ४४ प्रतिशत खर्च भएको जनाएको हो । कुल खर्च रकममध्ये चालूतर्फ ४४ प्रतिशत र पुँजीगततर्फ १४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । चालू आवमा मन्त्रालयले ९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

साढे सात लाख बेरोजगार सूचीकृत
चालू आवको पहिलो ६ महिनामा ७ लाख ४३ हजार १ सय ६४ बेरोजगार सूचीकृत भएका छन् । श्रम मन्त्रालयको तथ्यांक सूचीकृत बेरोजगारमध्ये १५ हजार ६ सय ७० जना व्यक्तिहरू कामका लागि पारिश्रमिकतर्फ रोजगारीमा खटिएका छन् । त्यस्तै, श्रम प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यरत २ लाखजना श्रमिकको सामूहिक दुर्घटना बिमा गरिएको जनाएको  छ । 

श्रमिक सूचना बैंकको प्रारम्भिक अवधारणापत्र स्वीकृत भएको मन्त्रालयले जनाएको छ । बैंकको व्यवस्थापकीय र प्राविधिक कार्य अगाडि बढाइएको समेत मन्त्रालयले जानकारी दिएको छ । 

 सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड रुपैयाँ संकलन भएको छ । चालू आवको अर्धवार्षिक अवधिसम्ममा सो रकम जम्मा भएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोषमा १३ हजार २ सय ८ प्रतिष्ठान आबद्ध भएका छन् । १ लाख ८९ हजार २ सय ३४ श्रमिक आबद्ध भएका छन् भने लाभग्राहीको संख्या ८८ हजार ३ सय ५६ पुगेको छ । 

त्यस्तै, कोषमा अनौपचारिक क्षेत्रमा रहेका किसान, श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने सम्बन्धमा अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । साथै, अस्थायी तथा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रयोजनार्थ सार्वजनिक निकायमा रहेका अस्थायी र करारका कर्मचारीको विवरण मागसम्बन्धी कार्यविधि निर्माण गर्न समितिसमेत गठन भएको मन्त्रालयले जनाएको छ ।