मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ५ बुधबार
  • Monday, 09 December, 2024
२o७७ फाल्गुण ५ बुधबार o६:३८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यालय भवनमा वडा कार्यालय

आर्थिक अभाव झेलिरहेको विद्यालयलाई वडा कार्यालयले दिन्छु भनेको भाडा पनि दिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण ५ बुधबार o६:३८:oo

कानुनतः सामुदायिक विद्यालयले आफ्नो भवन कसैलाई भाडामा दिन मिल्दैन । तर, धादिङको खनियाँबास गाउँपालिका–१ मा रहेको सिंगलादेवी माविले वडा कार्यालयलाई भवन भाडामा दिएको छ । आर्थिक अभाव झेल्दै आएको विद्यालयले भाडा आउने भएपछि वडा कार्यालय सञ्चालनका लागि भवन दिएको हो । तर, विद्यालयले एक वर्षयता वडा कार्यालयबाट भाडासमेत पाएको छैन । भाडा नतिरे पनि वडा कार्यालय विद्यालय भवनबाटै सञ्चालन हुँदै आएको छ । 

वडाध्यक्ष बुद्धि तामाङले वडा कार्यालयको भवन अभाव भएकाले विद्यालयको भवनबाट कार्यालय चलाइएको बताए । ‘विद्यालयको भवन खाली थियो । गाउँमा छलफल गरेर विद्यालय भवन भाडामा लिएर वडा कार्यालय राखेका हौँ,’ वडाध्यक्ष तामाङले भने, ‘विद्यालयलाई आम्दानीको स्रोत बन्ने भएकाले पनि यस्तो निर्णय भएको हो ।’ 

आर्थिक अभावले विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकलाई १० महिनादेखि तलब भत्ता दिन नसकेको सिंगलादेवी माविका प्रधानाध्यापक विमल लामा लोप्चनले जानकारी दिए । ‘नियमले दिन मिल्दैन भन्ने थाहा थियो । तर, दश महिनादेखि शिक्षकहरूलाई तलब दिन नसकेको हुँदा भाडाबापत आउने रकमले सहयोग पुग्ने ठानेर दियौँ,’ प्रअ लोप्चनले भने । 

विद्यालय भवनमै वडा कार्यालय चलाएपछि विद्यार्थीको पठनपाठनमा असर गरिरहेको अभिभावकहरूले गुनासो गरेका छन् । ‘विद्यालय भवनमै वडा कार्यालय सञ्चालन हुँदा विद्यार्थीको पढाइमा धेरै असर परेको छ,’ एक अभिभावकले भने, ‘एकचित्त भएर पढ्नुपर्ने विद्यार्थीले वडामा सेवा लिन आउने सेवाग्राहीको भीडभाड र चहलपहलतिर ध्यान दिएको देखिन्छ, त्यसले उनीहरूको पढाइमा असर गरेको छ ।’ कतिपय शिक्षकले पनि वडा कार्यालयको कारण विद्यार्थीको पढाइमा बाधा पुगिरहेको बताए । नजिकै होहल्ला हुने हुँदा विद्यार्थीलाई सम्हालेर राख्न मुस्किल पर्ने गरेको उनीहरूको भनाइ छ ।

 वडा कार्यालयले भाडा दिन छाड्यो
आम्दानीका लागि भवन भाडामा दिएको भनिए पनि विद्यालयले वडा कार्यालयबाट नियमित भाडा पाउन छाडेको छ । ‘वडा कार्यालयलाई विद्यालय भवन भाडामा दिएको लामो समय भए पनि एक वर्षको ३० हजार मात्र भाडा पाएका छौँ,’ प्रअ लोप्चनले थपे, ‘भाडाको पैसा बुझेर शिक्षकलाई तलब खुवाउने आशामा थियौँ, तर भाडा पाइने– नपाइने टुंगो नै लागेन ।’ 
सुरुमा भाडा दिन्छौँ भनेको वडा कार्यालयले अहिले भाडा दिन बन्द गरेको छ ।

सरकारी विद्यालयकै भवन प्रयोग गरेका कारण भाडा तिरिरहन नपर्ने वडाध्यक्ष तामाङले बताए । ‘सुरुवातका वर्षमा विद्यालयलाई भाडा दिएका थियौँ । तर, पछिल्लो समय एक सरकारी कार्यालयले अर्काे कुनै सरकारी भवन प्रयोग गरेबापत भाडा तिर्न नमिल्ने भएपछि भाडा दिन छाडिएको छ,’ तामाङले भने । वडा कार्यालयले ७५ लाख रुपैयाँको लगानीमा आफ्नै भवन बनाइरहेको छ । तीन महिनामा सो भवन सम्पन्न हुने र त्यसपछि आफ्नै कार्यालयमा सर्ने वडाध्यक्षको भनाइ छ ।