मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण ३ सोमबार १३:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग

मदन पुरस्कार विजेता बानियाँलाई पुरस्कार हस्तान्तरण 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ३ सोमबार १३:३९:००

०७६ सालको मदन पुरस्कार विजेता कृति ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँलाई पुरस्कार प्रदान गरिएको छ । २ कात्तिकमै उनलाई विजेता घोषणा गरिए पनि पाँच महिनापछि पोखरामा शनिबार आयोजित कार्यक्रममा मदन पुरस्कार गुठीले पुरस्कार समर्पण गरेको हो । 

गुठीका अध्यक्ष कुन्द दीक्षितले बानियाँलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बानियाँले पुरस्कार घोषणापछि मात्रै पाठकमाझ परिचित भएको बताए । उनी म्याग्दी जिल्लाबाट निर्वाचित पूर्वसांसदसमेत हुन् । स्वास्थ्यमा समस्या आएसँगै ०५० सालदेखि उनी गुमनामजस्तै थिए । पोखरामा बस्दै आएका बानियाँले यहीँ बसेर पुरस्कृत उपन्यास लेखेका थिए । सात वर्षदेखि पोखरामा भाडामा बस्दै आएका उनले घरको छिँडीमा बसेर महारानी लेखेको जानकारी दिए । उपन्यास पर्वतलाई केन्द्र बनाए पनि सबै लेखनी पोखरामा भएको बताए । 

म्याग्दी, पुलाको भीरमुनि जन्मेका चन्द्रप्रकाशले ‘महारानी’ उपन्यास म्याग्दीको ऐतिहासिक सन्दर्भमा पर्वत राज्यलाई आधार बनाएर लेखेका छन् । उनको पारिवारिक पृष्ठभूमिका कारण पर्वत राज्यका ऐतिहासिक दस्ताबेज, लोककथा, किंवदन्तीलगायत साम्रीमा उनको पहुँच थियो । ऐतिहासिक घटनाक्रम, पात्र र तथ्य प्रयोग गरिएकाले पुस्तक इतिहासको नजिक भएको उनको भनाइ छ ।