मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २३ शुक्रबार २०:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सूर्य चिह्नमा केपी ओलीको नैतिक अधिकार छैन, अन्त्यका लागि नारायणहिटी पुगे : योगेश भट्टराई

Read Time : < 1 मिनेट
२०७७ माघ २३ शुक्रबार २०:४७:००

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले सूर्य चिह्नमा प्रधानमन्त्री केपी ओलीको नैतिक अधिकार नभएको बताएका छन् । धादिङमा शुक्रबार भएको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले सत्ता र शक्तिको पछि लागेर पार्टी एकताबाट भाग्नेहरूलाई सूर्य चिह्न र नेकपा दाबी गर्ने नैतिक अधिकार नभएको बताएका हुन् । 

‘केन्द्रीय कमिटीमा चार सय ११ जना छन्,’ उनले भने, ‘तीन सयजना भनेको कति हो ? तपाईंले सामान्य हिसाब गर्न जान्नुभएको छ भने हिसाब निकाल्नुहोला । त्यो दुईतिहाइ बहुमतभन्दा पनि बढी हो । त्यसैले केपी शर्मा ओलीले सूर्य चिह्नमा आँखा लगाउने कुनै पनि अधिकार छैन । सूर्य चिह्न नेकपाको हो । नेकपा हामी हौँ ।’

ओली सत्ता र शक्तिको पछि लागेकै कारण सत्यको बाटो हिँड्न आफूले ओलीको साथ छाडेको उनले दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीजी तपाईंको मन्त्री लैजानुहोस् भनेर फर्काइदियौँ । शक्तिको उन्मादमा संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्ने अधिकार कसले दियो ? भोलि इतिहासलाई के जवाफ दिने ?’ 

ओलीको यो गल्तीलाई इतिहासमा कहिल्यै माफी नगर्ने उनले बताए । शुक्रबार ओली समूहले नारायणहिटीअगाडि गरेको जनसभालाई इंगित गर्दै भट्टराईले भने, ‘राजा जसरी नै केपी शर्मा ओलीको इतिहास पनि नारायणहिटीबाटै सकिने भयो । अन्त्यका लागि नै ओली नारायणहिटी पुगे ।’  

नेकपा प्रचण्ड–माधव समूहले सडकको बीचमै मञ्च बनाएर विरोध सभा गरेको थियो । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ भन्ने नारासहित भएको सभामा जिल्लाभरबाट नेता तथा कार्यकर्ता र शुभेच्छुक सहभागी भएका थिए ।