मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७७ माघ २३ शुक्रबार १८:००:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

गरिबमाथि महानगरको ज्यादती

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७७ माघ २३ शुक्रबार १८:००:००

गत २१ पुसमा सुकेधारामा तरकारी बेच्दै गर्दा मन्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाएपछि रुँदै फिर्ता गर्न आग्रह गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोबारे सामाजिक सन्जालमा थुप्रै टिप्पणी गरिए । काठमाडौं महानगरपालिकाले महानगर सुन्दर बनाउन, फुटपाथ पैदलयात्रीमैत्री बनाउन र अपांगमैत्री बनाउन भन्दै वर्षौँदेखि फुटपाथमा व्यवसाय गर्नेहरूको सामान दैनिकजसो उठाउँछ, जसमध्ये केही भिडियो भाइरल हुन्छन्, र सामाजिक सञ्जालबाटै हराउँछन् । तर कलंकी, कोटेश्वर, बागबजार, बानेश्वर, गौशाला, चक्रपथ, सुकेधारा, रत्नपार्कजस्ता सधैँ भिडभाड भइरहने क्षेत्रहरूमा फुटपाथ व्यवसायीहरूको सामान महानगर प्रहरीले दैनिकजसो जफत गर्छ, कुहिने, सड्ने र गल्ने सामान, अनधिकृत सवारी पार्किङ जरिवानासहित फिर्ता गर्छ, ठेलागाडा, कपडा, ग्यास सिलिन्डरजस्ता सामान लिलामी गर्छ । यसबारे कसैको ध्यान दिइएको पाइँदैन ।

कलंकी चोकमा साग बेच्दै आएकी मञ्जु खड्काले साग बेचेर दैनिक दुई सयदेखि तीन सय कमाउँछिन् भने कहिले साँबा मात्रै उठ्छ । दैनिक कालीमाटी तरकारी बजारबाट साग लिएर कलंकीमा बेच्दै आएकी खड्काको साग गत शुक्रबार महानगर प्रहरीले जफत ग¥यो, उनले त्यो दिन कालीमाटीबाट ३०० को साग लिएर गएकी थिइन्, नगर प्रहरीले उनीसँगै फुटपाथमा व्यवसाय गरिरहेका ठेलागाडा र सामानहरू उठाएपछि घर फर्किन् । महानगरले फुटपाथबाट सामान उठाएर कहाँ लान्छ भन्नेमा उनलाई जानकारी छैन । भन्छिन्, ‘सामान उठाएर सरकारी निकायमा जम्मा हुन्छ भन्ने थाहा छ, तर फिर्ता हुन्छ या हुन्न भन्ने केही थाहा छैन ।’ त्यो दिनदेखि नगर प्रहरी आएको थाहा पाएपछि सामान उठाएर भाग्छिन्, र प्रहरी गएपछि बेच्न बस्छिन्, उनको दैनिकी नगर प्रहरीले सामान उठाएर लाने हो कि भन्ने डरमै बितिरहेको छ । 

असन क्षेत्रमा साइकलमा राखेर फलफूल बेच्दै आएका राजेश साहले फुटपाथमै व्यवसाय गरेको लगभग १० वर्ष भयो । वीरगन्ज घर भई काठमाडौंमा फलपूmल बेच्दै आएका साहले दैनिक बल्खुबाट फलपूmल ल्याएर असन क्षेत्रमा बेच्ने गर्छन्, जसबाट दैनिक तीन सयदेखि पाँच सयजति रुपैयाँ कमाउँछन् । प्रत्येक दिन सबै सामान व्यापार हुन्छ भन्ने निश्चित हुँदैन, फुटपाथमा रहने हुँदा नगर प्रहरीले सामान उठाएर लान्छ भन्ने डर रहिरहन्छ । भन्छन्, ‘प्रहरीबाट बचेर व्यापार गर्ने हो, हालसम्म पाँचपटकसम्म नगर प्रहरीले सामान जफत गरेको छ । फलपूmल जरिवाना तिरेर फिर्ता दिन्छ, साइकल लिलाम गरिदिन्छ । फलपूmल पनि पाँच सय रुपैयाँ तिरेर मात्र दिन्छ । महानगरबाट बचाएर व्यापार गर्न सकेको दिन फाइदा नै हुन्छ ।’

बानेश्वर क्षेत्रमा ठेलागाडा राखेर फास्टफुड बेच्दै आएका दोलखाका ६० वर्षीय ललित बुढाथोकीले फुटपाथमा व्यवसाय गर्न थालेको वर्षौँ भयो । महानगरले फुटपाथमा बेलुका पाँच बजेदेखि नौ बजेसम्म व्यापार गर्न दिइरहे पनि ट्रााफिक प्रहरीले दुःख दिने गरेको उनको गुनासो छ । भन्छन्, आफ्नै राजधानीमा बसेर गरी खान नपाउने ? ‘सटर राखेर भाडा तिर्ने पैसा हामीसँग हुँदैन, फुटपाथमा सामान बेच्न महानगरले दिँदैन, काठमाडौंमा के गरेर खाने ?’ 

विनोद कार्कीले असन क्षेत्रमा फुटपाथमा कपडा राखेर बेच्न थालेको चार वर्षजति भयो । फुटपाथमै व्यापार गर्दै आएका कार्कीको सामान महानगरले सडक अतिक्रमण नियन्त्रणको क्रममा धेरैचोटी जफत गरिसकेको छ । उनी प्रत्येकपल्ट नयाँ सामान किनेर फेरि व्यापार सुरु गर्छन् । भन्छन्, ‘उनीहरूले भनेको समयभन्दा ढिला भयो भने सामान जफत गरिदिन्छन्, जरिवाना गरेर पनि फिर्ता लिन पाइँदैन । अहिलेसम्म करिब एक लाखजतिको सामान उठाइसकेको छ । सटरमा सामान राखेको जस्तो हुँदैन, महानगरले एकचोटि सामान उठाएपछि घाटा कभर गर्न नै महिनौँ लाग्छ, के गर्नु व्यापार गर्नैप¥यो ।’ 
 
यस्ता घटना महानगरभित्र दैनिक भइरहन्छन् । काठमाडौं महानगरभित्र सडकपेटी अतिक्रमण नियन्त्रणमा परेका सामानहरू लिलामी र जरिवाना गरेर महानगरले चालू आर्थिक वर्ष (कात्तिकसम्म) ५२ लाख राजस्व संकलन गरेको छ । महानगरले चालू आर्थिक वर्षको पुससम्म जरिवानाबापत मात्रै डेढ लाखभन्दा बढी संकलन गरेको छ । नगर कार्यपालिकाको तथ्यांकअनुसार, साउनमा ९४ जनालाई सामानसहित पक्राउ गरेकोमा ८९ जनालाई जरिवाना गरेर ६० हजार दुई सय रुपैयाँ राजस्व संकलन गरेको थियो । भदौमा २२ जना पक्राउ गरी पाँच हजार तीन सय, असोजमा ५७ जना पक्राउ गरी २३ हजार तीन सय, कात्तिकमा ५० जना पक्राउ गरी १६ हजार ६ सय, मंसिरमा ३७ जना पक्राउ गरी १२ हजार पाँच सय र पुसमा ९९ जनालाई फुटपाथमा व्यवसाय गरिरहेको सामानसहित पक्राउ गरेर ४८ हजार आठ सय जरिवाना उठाएको छ । विभिन्न शीर्षकमा जरिवाना उठाउँदै आएको महानगरले अनधिकृत रूपमा प्रयोग गरिरहेको सवारीलाई भने जरिवाना गरेर छोडिदिन्छ, तर ठेलागाडा र साइकल भने जरिवाना तिरेर पनि फिर्ता पाउँदैनन् ।

भण्डारणमै कुहिन्छ जफत गरेका सामान
तरकारी, सागपात र फास्टफुडमा महानगरले दुई सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना तिरेर मात्र सामान फिर्ता दिन्छ, तर बाटोमा तरकारी र साग बेच्ने साना व्यवसायीहरूको सामान जरिवानाभन्दा कम मूल्य पर्ने हुँदा अधिकांश सामान फिर्ता लिन आउँदैनन्, जुन नगर प्रहरीको भण्डारणमै कुहिन्छ । नगर प्रहरी प्रमुख नायब निरीक्षक राजनकुमार कार्कीका अनुसार, गोलभेडा, सागपात, तरकारीजस्ता सामान लिन नआउँदा कुहिएर जाने गर्छन् । उनी भन्छन्, ‘फिर्ता दिन्छ भनेर थाहा हुनेहरू जरिवाना तिरेर लिएर जान्छन्, तर जरिवाना बढी पर्ने सामानहरू भने यहीँ रहन्छ । तर, धेरैजसोले जरिवाना तिरेर लिएरै जान्छन् ।’

फुटपाथ व्यवस्थापन गर्ने भन्दै महानगरले सडकमा सागपात, फलफूल वा साना व्यवसाय गर्नेहरूको सामान जफत गरी लिलाम गर्छ, तर ठुल्ठूला मलहरूअगाडि फुटपाथ पूरै ढाक्ने गरी बेच्न दिइरहेको पाइन्छ । यस्तै, सटर राखेर व्यवसाय गरिरहेका व्यापारीहरूले समेत बेलुकाको समयमा फुटपाथमा राखेर व्यापार गरिरहेका हुन्छन् । महानगरले यसमा कुनै चासो दिएको पाइँदैन । तर, महानगरले भने फुटपाथ व्यवस्थापनका लागि फुटपाथ व्यवसाय पूर्ण रूपमा बन्द गर्न लागेको बताउँछ । नगर प्रहरी प्रमुख धनपति सापकोटा भन्छन्, ‘सडक अतिक्रमण गरेर बसेका जोसुकैलाई पनि हामीले पक्राउ गरेर जरिवाना वा लिलाम गरिरहेका छौँ । बेलुकाको समयमा अलि खुकुलो पारेका छौँ, त्यो समयमा ठूला व्यापारीले पनि सडकमा व्यापार गरेको हुन सक्छ ।’ 

काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने नीति ल्याएको दुई वर्षभन्दा बढी समय भयो, तर महानगरभित्र प्रत्येक चोक र गल्लीहरूमा फुटपाथ व्यवसायका कारण पैदलयात्रुहरू सडकमा हिँड्नुपर्ने बाध्यता देखिन्छ । फुटपाथ व्यवसायीलाई हटाउने भनिए पनि उनीहरूको व्यवस्थापनमा भने चासो दिइएको पाइँदैन । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘हामीले फुटपाथमा पसल भन्ने कन्सेप्ट नै हटाउन खोजेका हौँ । हामीले सबै फुटपाथ व्यवसायीहरूलाई व्यवस्थापन गर्न सक्दैनौँ । अधिकांशमा फुटपाथमा व्यापार गर्ने होडबाजी नै देखिन्छ । अत्यधिक भिडभाड हुने क्षेत्रमा रात्रिकालीन बजारको विकल्प सोचिरहेका छौँ, जुन कार्यान्वयनको क्रममा छ ।’

फुटपाथ व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको र व्यवस्थापनको काम भइरहेको उपमेयर हरिप्रभा खड्की बताउँछिन् । उनी भन्छिन्, ‘फुटपाथ व्यवसाय नियन्त्रणको जिम्मा नगर प्रहरीलाई दिइएको छ, उनीहरूले आफ्नो तरिकाले व्यवस्थापन गरिरहेका छन् ।’