१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आमहडतालले यातायात र व्यापार ठप्प : उद्योग, बैंक, बिमा र कर्पोरेट कार्यालय खुले

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१o:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालका कारण यातायात र व्यापार ठप्प भएको छ । कोराना र लामो लकडाउनले आक्रान्त भएको औद्योगिक क्षेत्रले भने थप धक्का सहन नसक्ने भएपछि बाध्य भएर हडतालको अवज्ञा गरेको छ । बन्दका वेला पनि मुलुकका प्रमुख औद्योगिक करिडोरहरू विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्जलगायत क्षेत्रमा रहेका उद्योगहरू बिहीबार सञ्चालनमा आए ।  

काठमाडौंमै बैंक, बिमा तथा अन्य कर्पोरेट कार्यालयहरू सञ्चालनमा आएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका एक वरिष्ठ अधिकारीका अनुसार यसपटकको बन्दका कारण विगतमा जस्तो व्यवसाय ठप्प भएन । बन्दले व्यवसायमा प्रभाव पर्दै नपरेको होइन, तर यसपटक भने विगतमा जस्तो व्यवसाय ठप्प नभएको उनको भनाइ छ । ‘कोरोनाका कारण लगाइएको लकडाउनका कारण छटपटिएको औद्योगिक, व्यावसायिक क्षेत्रले फेरि बन्द थेग्न सक्दैन,’ ती अधिकारीले नयाँ पत्रिकासँग भने । मुलुकभरका बैंकका शाखाहरू बिहीबार खुलेको नेपाल बैंकर्स संघका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘छिटपुट रूपमा कुनै स्थानमा बन्द भए होलान्, तर अधिकांश स्थानमा खुले,’ उनले भने । यातायातका साधन कम चलेका कारण मानिसहरूको आवतजावतमा समस्या भएकाले ग्राहकहरू भने कम आएको उनको भनाइ थियो । 

देशव्यापी आमहडतालमा पनि उद्योगहरू सञ्चालनमा खासै प्रभाव नपरेको वीरगन्जका वरिष्ठ उद्यमी अशोक वैद्यले बताए । उनी भन्छन्, ‘केही उद्योग बन्द भए होलान्, तर अधिकांश उद्योगहरू सञ्चालन भएका थिए, उद्योगबाट मालसामान लोड पनि भइरहेको थियो ।’ वीरगन्ज क्षेत्रमा साना–ठूला गरी ५ सयभन्दा बढी उद्योगहरू रहेका छन् । उद्योगहरू निर्बाध सञ्चालन भए पनि मुख्य बजार र पसलहरूमा भने बन्दको प्रभाव परेको उनले बताए ।

बुधबार निजी क्षेत्रका तीन ठूला संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ति जारी गरेर आमहडतालका कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । चौतर्फी विरोधका बाबजुद पनि बन्द–हडतालको शृंखला दोहोरिन थालेपछि हिम्मत देखाएर उद्योग–व्यवसाय खोलेको महासंघको प्रदेश–१ का प्रमुख राजेन्द्र राउतले बताए । उनका अनुसार विराटनगर क्षेत्रका उद्योगहरू बिहीबार नियमित जस्तै सञ्चालनमा छन् । ‘औद्योगिक करिडोरभित्रका धेरैजसो उद्योगहरू खुलेका थिए, बाहिरका पनि उद्योगहरू सञ्चालन भएका छन्,’ उनले भने, ‘कोभिडबाट थलिएका उद्योग–व्यवसायलाई फेरि राजनीतिक संक्रमणको चपेटामा पार्नुहुँदैन ।’ विराटनगरको मुख्य बजारमा सटरहरू बन्द अवस्थामा थिए । उद्योग सञ्चालन भए पनि यातायात ठप्प भएपछि मालसामान ढुवानी हुन सकेन । उनी भन्छन्, ‘भित्र उद्योग सञ्चालन भए पनि उत्पादित मालवस्तु बन्द–हडतालका कारण ढुवानी गर्न कठिन भएको थियो, त्यसमाथि पसलहरू पनि बन्द थिए ।’ 

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पनि औद्योगिक करिडोरभित्रका उद्योगहरू सञ्चालन भएको बताए । ‘औद्योगिक करिडोरबाहिर अलि–अलि समस्या आएको हो, तैपनि उद्योगहरू खुलेका थिए,’ उनले भने, ‘जहिल्यै उद्योग–व्यवसायलाई बन्द–हडतालको प्रभावभन्दा बाहिर राखिनुपर्छ ।’ विराटनगर क्षेत्रमा साना–ठूला गरी एक हजार उद्योगहरू रहेको बताउँदै उनले भने, ‘बन्दका कारण मालसामान ढुवानी र बिक्रीमा भने समस्या भएको थियो ।’ कोभिडले थलिएर भर्खर बामे सर्न खोजिरहेको उद्योग–व्यवसायलाई बन्द–हडताल गरेर ठप्प पारिनु गलत भएको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला–नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले बन्द–हडतालका कारण आर्थिक क्षेत्र प्रभावित भएको गुनासो पोखे । बन्द–हडताल, चक्काजाम, यातायातमा अवरोधजस्ता गतिविधिहरूले उद्योगी–व्यवसायीमा मनोवैज्ञानिक डर र त्रास सिर्जना भएको उनको भनाइ छ । ‘बन्द–हडताल घोषणा गरेपछि उद्योग–व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण हुँदैन,’ उनले भने, ‘केही उद्योगहरू सञ्चालन भएका हुन सक्छन् । तर, साना पसल तथा उद्यम–व्यवसायहरू दिनभरि नै बन्द भएका थिए ।’ बन्दले साना–ठूला सबै उद्योगहरू प्रभावित भएको उनको भनाइ छ । बन्दको समयमा कतिपय उद्योगहरू सञ्चालन भए पनि मालसामान ढुवानी भने पूरै अवरुद्ध भएको उनले बताए ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बन्द–हडतालका कारण भैरहवा क्षेत्रका उद्योगहरू प्रभावित भएको बताए । ‘कतिपय उद्योगहरू भित्रभित्रै चलाइएको हुन सक्छ, तर निर्बाध रूपमा कुनै पनि उद्योग सञ्चालन हुन सकेनन्,’ उनले भने, ‘पार्टीका कार्यकर्ताहरू चारैतिर छरिएका हुन्छन्, यस्तो वेलामा उद्योग–व्यवसाय चलाउनु जोखिमपूर्ण हुन्छ ।’ भैरहवा–बुटवलको मुख्य बजार क्षेत्र दिनभरि बन्द नै भयो । पसलका सटरहरू बन्द नै थिए । भित्रपट्टि रहेका उद्योगहरू अलि–अलि चले पनि देखिने गरी सञ्चालन नभएको उनले बताए ।

औद्योगिक क्षेत्रलाई हडतालमुक्त बनाउनुपर्छ : सतिश मोर अध्यक्ष, नेपाल उद्योग परिसंघ

यसपटकको हडतालमा तराईका औद्योगिक करिडोरमा उद्योग चलेको सुनियो । अलि–अलि उद्योग चल्दा पनि तोडफोड भएन । त्यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ । तर, केही उद्योग चले पनि बन्दले अर्थतन्त्रलाई कहिल्यै राम्रो गरेन, अब पनि गर्दैन । 

मुलुकको अर्थतन्त्र र औद्योगिक क्षेत्रलाई बन्द–हडतालमा धकेल्नु नै गलत हो । उद्योगधन्दाहरू हडतालको प्रभावभन्दा टाढा हुनुपर्छ । हामी मुलुकका कुनै पनि दलले हडताल नगरून् भन्ने चाहन्छौँ । हडतालले उद्योगधन्दा ठप्प हुन्छ, अर्थतन्त्र ठप्प हुन्छ । त्यसबाट मजदुर र तल्लो वर्गलाई नै सबैभन्दा बढी समस्या पर्छ ।

त्यसैले राजनीतिक मुद्दाबाट अर्थतन्त्रलाई अलग राख्नुपर्‍यो । बन्द–हडताल भनेको सबैभन्दा अन्तिम अस्त्र हो, जुन कुनै पनि हालतमा चलाउनुहुँदैन । अन्यत्र हडताल नै भयो भने पनि उद्योगधन्दा निर्बाध सञ्चालन हुन पाउनुपर्छ । त्यो सकारात्मक हो । हामीले बन्द–हडताल निरुत्साहित गर्दै अघि बढ्नुपर्छ । अर्थतन्त्र चलायमान गराउन पनि त्यसो गर्नुपर्छ । 

ad
ad