Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ माघ १९ सोमबार १७:१५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश सभा बैठकको माग गर्दै नाराबाजीमा उत्रिए बागमतीका सांसद (भिडियोसहित)

Read Time : > 2 मिनेट
२०७७ माघ १९ सोमबार १७:१५:००

बामगती प्रदेश सभा बैठकको माग गर्दै सांसदहरू नाराबाजीमा उत्रिएका छन् । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक १८ माघमा विशेष कारण भन्दै स्थगित गरेपछि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सत्तारुढ नेकपा प्रचण्ड–माधव समूहका सांसद प्रदेश सभा परिसरमै नाराबाजीमा उत्रिएका हुन् । 

उनीहरूले विशेष कारण देखाउँदै प्रदेश सभाको बैठक स्थगित गरेको भन्दै सभामुख सानुकुमार श्रेष्ठमाथि विरोध जनाउँदै सोमबार नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै प्रचण्ड–माधव समूहका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता भएको र प्रदेश सभामा पेस भइसकेको अवस्थामा बैठक स्थगित गरेर सभामुखले सरकारलाई सहयोग गरेको आरोप लगाएका छन् । 

सरकार अल्पमतमा रहेको अवस्थामा विश्वासको मत लिनुपर्ने वातावरण सभामुखले तयार गर्नबाट पन्छिँदै बैठक स्थगित गरेर सरकारलाई सहयोग गरेको प्रचण्ड–माधव समूहको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले आरोप लगाइन् । ‘अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भइसकेको अवस्थामा बैठक स्थगित गर्नु सभामुखको पदविपरीतको कार्य हो,’ उनले भनिन् । प्रचण्ड–माधव समूहका सांसदहरूले अल्पमतमा रहेको मुख्यमन्त्री पौडेलले राजीनामा दिनुपर्ने, तत्काल प्रदेश सभाको बैठक बोलाउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रदेश सभा सुचारु गर, अल्पमतको सरकार मुर्दावाद, असंवैधानिक प्रतिगमन मुर्दावादलगायत नारा लगाएका थिए । 

सोमबार २ बजे बोलाइएको प्रदेश सभाको बैठक आगामी ५ फागुन दिनको २ बजे बस्ने गरी प्रदेश सभा सचिवालयले सूचना जारी गरेको छ । मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको भए पनि आइतबार राति बैठक स्थगित भएको सूचना जारी गरिएको थियो । 

१० पुसमा प्रदेश सभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ९ माघमा सांसद अरुणप्रसाद नेपालले प्रदेश सभा बैठकमा पेस गरेका थिए । अविश्वासको प्रस्तावको विषयमा मतविभाजनका लागि कार्यविधि मस्यौदा निर्माण समिति गठन गरिएको छ । समितिले हालसम्म कार्यविधि तयार पारिसकेको वा बाँकी रहेकोबारे प्रदेश सभाले जानकारी दिएको छैन ।

प्रचण्ड–माधव समूहको आक्रोश- सभामुखले आफ्नो पद धरापमा पारिरहेका छन्
नेकपा प्रचण्ड–माधव समूह बागमती प्रदेश संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानुकुमार श्रेष्ठले आफ्नो पद नै धरापमा राखेर सरकारलाई सहयोग गरिरहेको आरोप लगाएकी छिन् । उनले सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक सभामुख श्रेष्ठले अल्पमतको सरकारलाई सहयोग पुग्ने गरी आइतबार राती सूचना टाँसेर स्थगित गर्नुले सभामुखले आफ्नो पद धरापमा पार्न खोजेको प्रस्ट देखिएको दाबी गरिन् ।

प्रदेश सभा सचिवालयमा दाहाल–माधव समूहले पत्रकार सम्मेलन गर्दै प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र पेस भइसकेको त्यस विषयलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको आरोप लगाएको छ । ‘सरकार अल्पमतमा छ । निरन्तर बैठक सञ्चालन गर्नुपर्ने अवस्थामा संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेश सभा नियमावलीको घोर उल्लंघन गर्दै सभामुखमा अल्पमतको सरकारको छाया देखिएको छ,’ शाक्यले भनिन्, ‘सभामुख सरकारको लाचार छाया बन्न पुगेका छन् ।’ अविश्वासको प्रस्तावकहरू र अन्य दलस“ग समेत कुनै छलफल नगरी, कार्यव्यवस्था परामर्श समितिको बैठकनै नराखी र कुनै विशेष कारण नखुलाई स्थगन गरिएको प्रदेश सभाको बैठक छिटोभन्दा छिटो सुरु गर्न प्रचण्ड–माधव समूहले माग गरेको छ । 

नेकपा संसदीय दलका उपनेता शालिकराम जमकट्टेलले पत्रकार सम्मेलनमा अल्पमतमा रहेको सरकारविरुद्ध प्रदेश सभामा प्रतिनिधत्व गर्ने सबै राजनीतिक दलहरू एकै स्थानमा उभिन आग्रह गरे । ‘अब मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मात्र होइन, सभामुखको स्वेच्छाचारिताको विरोध गर्न र संसदीय मूल्य, मान्यता र मर्यादाको पक्षमा उभिनुपर्ने समय आएको छ,’ उपनेता जमकट्टेलले पत्रकार सम्मेलनमा भने ।

१० पुसमा प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ७ माघमा प्रदेश सभाको बैठक बोलाइएको थियो । ७ र ९ माघमा सञ्चालन भएको प्रदेश सभा बैठक १९ माघसम्मका लागि स्थगित गरिएको थियो । ९ माघमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिएसँगै १९ माघसम्मका लागि बैठक स्थगित गरिएको थियो ।