मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ माघ १८ आइतबार ०८:४६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्दोलनको धम्कीपछि पेट्रोलपम्प सञ्चालकको कमिसन वृद्धि, तेलको उपभोक्ता मूल्य बढ्ने

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ माघ १८ आइतबार ०८:४६:००

कमिसन नबढाए बढी मूल्यमा पेट्रोल र डिजेल बिक्री गर्ने चेतावनी दिएपछि आयल निगमले पेट्रोलपम्प व्यवसायीको कमिसन दर वृद्धि हुने भएको छ । व्यवसायीहरूले मूल्यवृद्धि गरेर तेल बेच्ने र त्यसमा असहयोग भए सबै पम्प बन्द गरेर आन्दोलनमा जाने धम्कीपूर्ण भाषा प्रयोग गर्दै १२ माघमा निगमलाई पत्र पठाएका थिए । पत्रमा शनिबारसम्म माग पूरा नभए निगमले तोकेको मूल्यमा प्रतिलिटर ५० पैसा बढाएर आइतबारबाट पेट्रोल, डिजेल बिक्री गर्ने चेतावनी दिएका थिए । 

त्यसपछि व्यवसायीसँग निरन्तर छलफल गरेर कमिसन वृद्धि गर्ने निर्णयमा निगम पुगेको हो । निगम सञ्चालक समितिको आगामी बैठकले निर्णय गरेपछि वृद्धि भएको कमिसनदर व्यवसायीले पाउन सहमति भएको छ । निगम प्रवक्ता विनीतमणि उपाध्यायले शनिबार विज्ञप्ति जारी गर्दै साबिकको कमिसन दरमा पेट्रोलमा ०.३९५ प्रतिशत बिन्दु र डिजेलमा ०.४७ प्रतिशत बिन्दु कमिसन बढाएको जानकारी दिएका छन् । उनका अनुसार यसअघि पेट्रोलमा ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिइँदै आएको थियो ।

‘कमिसन दर वृद्धि गर्ने निर्णयपछि व्यवसायीले अबका दिनमा पेट्रोलमा ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन पाउनेछन्,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पम्प सञ्चालकलाई दिइँदै आएको कमिसनबापतको रकम उपभोक्ता मूल्यमा जोडिँदै आएको छ । यसपटक गरिएको व्यवसायीको कमिसन वृद्धिले उपभोक्ता मूल्यमा चाप बढेको छ । निगमका अनुसार हाल गरिएको कमिसन वृद्धिले पेट्रोल र डिजेलको उपभोक्ता मूल्यमा औसतमा ०.३६ प्रतिशतले बढ्नेछ ।

देशभरका १५ सयभन्दा बढी पम्पले हाल औसतमा दैनिक ४८ लाख लिटर डिजेल र १५ लाख लिटर पेट्रोल बिक्री गर्दै आएका छन् । पछिल्लो समय भएको कमिसन वृद्धिले दैनिक डिजेलमा २२ लाख ५६ हजार र पेट्रोलमा ६ लाख ५१ हजारभन्दा बढी रकम उपभोक्ताबाट पम्प सञ्चालकले उठाउनेछन् । यसरी सानो अंकमा भएको कमिसन वृद्धिले पनि दैनिक २९ लाख रुपैयाँभन्दा बढी रकम उपभोक्ताबाट पम्प व्यवसायीले उठाउनेछन् ।

यसबीच पम्प व्यवसायीले ट्यांकरबाट पम्पको अन्डरट्यांकीमा तेल खसाउँदा हुन सक्ने चुहावटबापत पेट्रोलमा प्रति ४ हजार लिटर (एक चेम्बर) मा १० लिटर र डिजेलमा प्रति ४ हजार (एक चेम्बर) लिटरमा ३ लिटर थपेर पाउने सुविधा भने खारेज भएको छ । पम्प व्यवसायीको संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले आफूहरूको मागअनुसार कमिसन दर वृद्धि नभए पनि तत्काललाई स्वीकार गरेको बताए । ‘हाम्रा धेरै माग सम्बोधन भएका छैनन् । कमिसन दर वृद्धिको कुरा पनि मागअनुसार भएन,’ उनले भने, ‘यद्यपि, तत्कालका लागि भएको सम्बोधन ठीकै छ ।’

पम्प सञ्चालकले यसअघि १ माघबाट कमिसन वृद्धि नभए आफूखुसी मूल्यवृद्धि गरेर तेल बेच्ने निर्णय गरेका थिए । तर, छलफलका माध्यमबाट कमिसन वृद्धिका लागि पहल थाल्ने निगमको आश्वासनपछि उनीहरूले १८ माघदेखि मूल्य बढाएर तेल बेच्ने निष्कर्षमा पुगेका थिए । १ माघको निर्णय फिर्ता लिएपछि व्यवसायीले ७ माघमा राष्ट्रिय भेला गरेका थिए ।

पम्पमा तेल लैजाने ट्यांकरमा आधुनिक लकिङ जडान गरिने
आयल निगमले तीन वर्षअघि भारतीय आयल कर्पोरेसन (आइओसी) को विभिन्न डिपोबाट निगमको डिपोसम्म तेल ओसार्ने ट्यांकरमा आधुनिक लकिङ जडान गरेर चुहावट नियन्त्रणको प्रयास सुरु गरेको थियो । यद्यपि, यो प्रविधि पूर्ण सफल भएको छैन । ट्यांकरचालकले विभिन्न उपाय लगाएर तेल चोरी जारी राखेका छन् ।

यो प्रविधि प्रयोग गरी निगमको डिपोबाट पेट्रोलपम्पसम्म तेल ओसार्ने ट्यांकरमा लकिङ जडान भएको छैन । पम्प व्यवसायीले बारम्बार पम्पसम्म तेल ओसार्ने ट्यांकरमा पनि लकिङ जडान गर्न आग्रह गर्दै आएका थिए । यसपटक पनि उनीहरूले यो माग राखेकोमा निगमले सम्बोधन गरेको छ ।

निगमका प्रवक्ता उपाध्यायका अनुसार डिपोदेखि पम्पसम्म तेल बोक्ने ट्यांकरमा आधुनिक लकिङ जडान थाल्ने निर्णय भएको छ । त्यस्तै, व्यवसायीको मागअनुसार पेट्रोलियम पदार्थ विक्रेता विनियमावलीसमेत संशोधन हुने भएको छ । यो विनियमावलीले देशभरका पम्प सञ्चालकलाई नियमन गर्दै आएको छ ।