भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले मध्यावधि निर्वाचन सरकारको चाहना नभई बाध्यता भएको बताएका छन् । ओखलढुंगाको रामपुरमा आयोजित नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले समयअगावै निर्वाचनमा जानुपर्ने बाध्यता आइलागेको बताएका हुन् ।
दुई ठूला कम्युनिस्ट पार्टीले अघिल्लो निर्वाचनमा गरेको गठबन्धनलाई एकताको रूपमा बुझेर जनताले मुलुकको अभिभारा सुम्पिए पनि पूरा गर्न नसकेको उनको भनाइ छ । ‘जनताले ठूलो अभिभारा दिएर बहुमतसहितको भोट दिएर पठाए, तर पार्टीभित्रको आन्तरिक झमेलाले जनताको अभिभारा पूरा गर्न सकिएन । अनि फेरि जनताकै बीचमा जाने निर्णय गरेर प्रतिनिधिसभा विघटन गरिएको हो,’ उनले भने, ‘पार्टीकै शीर्ष नेताहरूले प्रधानमन्त्रीलाई घेरामा पारेर काम गर्न नदिएपछि फेरि जनतामा जानुको विकल्प भएन । मध्यावधि सरकारको रहर होइन, बाध्यता हो ।’
उनले प्रतिनिधिसभा पुनस्र्थापना नहुने जिकिर पनि गरे । वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको उनको दाबी छ । सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको उनको जिकिर छ ।
कार्यक्रममा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको चौतर्फी विकासको नेतृत्व आफूले गरिरहेको बताए । विगतमा सांसद मात्रै हुँदा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भए पनि राज्यमन्त्री भएपछि समग्र जिल्लाको विकासमा लागिपरेको उनको भनाइ छ ।
संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलले गाउँ र सहरको सम्बन्ध प्रगाढ बनाउन गाउँको उत्पादन सहरमा पुग्ने वातावरण बन्नुपर्ने बताए । ‘जबसम्म सहरको बिस्कुटसँग गाउँको स्कुस साट्ने अवस्था आउँदैन तबसम्म जनताले सोचेको र चाहेको जस्तो समृद्धि आउँदैन,’ ढुंगेलले भने, ‘प्रचण्ड नेतृत्वमा सडक आन्दोलन गरिरहेको नेकपाको एउटा समूह विकास र समृद्धिको बाधक बनिरहेको छ । ओली सरकारलाई अहिले काम गर्न दिऊँ बाँकी काम चुनावपछि गर्ने गरी ओलीकै नेतृत्वलाई स्वीकार गरौँ ।’