मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १५ बिहीबार १६:५२:००
Read Time : > 1 मिनेट
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : आर्मी लगातार चौथोपटक फाइनलमा

Read Time : > 1 मिनेट
२०७७ माघ १५ बिहीबार १६:५२:००

विभागीय टोली त्रिभुवन आर्मी क्लब लगातार चौथोपटक प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो । 

आर्मी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको चारै संस्करणको फाइनलमा पुग्ने एक्लो टोली बनेको छ । वर्षाका कारण फाइनल खेल पूरा हुन नपाउँदा आर्मीले पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाढेको थियो । त्यसपछिका दुई फाइनलमा भने आर्मी पराजित भएको छ । 

दोस्रो फाइनलमा एपिएफसँग पराजित भएको आर्मी तेस्रो फाइनलमा पुलिससँग पराजित भएको थियो । यसपटक आर्मीलाई एक्लो विजेता बन्ने अवसर हुनेछ । यसपटकको उपाधि भिडन्त पनि यसअघिका संस्करणजस्तै विभागीय डर्बी हुनेछ ।

उपाधिका लागि आर्मीले शनिबार हुने फाइनल खेलमा एपिएफसँग खेल्नेछ । एपिएफ बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई पराजित गर्दै उपाधिनजिक पुगिसकेको छ । 

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २९ रनको योगफल तय गरेको थियो । जवाफमा आएको बागमती ४०.२ ओभरमा एक सय ३५ रनमै रोकियो । 

आर्मीविरुद्ध बागमतीले फिल्डिङ र ब्याटिङमा कमजोर प्रदर्शन गऱ्याे । तीनभन्दा बढी महत्वपूर्ण क्याच छुटाएको बागमतीले खेलको पहिलो ओभरबाटै विकेट गुमाउन सुरु गरेको थियो । पहिलो ओभरको तेस्रो बलमै आकाश थापा विनाकुनै रन आउट भएका थिए । बागमतीले त्यसपछि निरन्तर विकेट गुमायो । 

आर्मीका तीन बलर विक्रम सोब, जितेन्द्र मुखिया र सुसन भारीले मिलेर बागमतीको नियमित विकेट लिए । यी तीन बलरले कुनै पनि समय बागमतीको खेलाडीबीच साझेदारी बन्न दिएनन् । आकाशपछि आदिल खान (१०), पृथ्यु बाँस्कोटा (१) र बिभत्सु थपा (४) सहजै आउट भए । 

त्यसपछि ब्याटिङका लागि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्ल (४७) र विपिन आचार्यले (२३) ले छैटौँ विकेटका लागि ५८ रनको साझेदारी गर्दै बागमतीको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । यद्यपि, शुसनको बलमा अगाडि सरेर प्रहार गर्ने प्रयास गर्दा विपिन विकेट किपर विनोद भण्डारीद्वारा स्टम्पिङ भए । ज्ञानेन्द्र पनि सुसनकै बलमा एलबिडब्ल्यु आउट भए । नन्दन यादव २२ रन जोडेर अविजित रहे । 

बागमतीलाई लक्ष्यसम्म पुग्नअघि नै रोक्न आर्मीका जितेन्द्रले चार तथा विक्रम र सुसनले तीन–तीन विकेट लिए । टोलीको जितमा अलराउन्ड प्रदर्शन गरेका विक्रमले ब्याटिङतर्फ ३५ रन पनि जोडे । 

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रनको योगदान दिए । राजेशले आफ्नो इनिङमा दुई छक्का र चार चौका प्रहार गरे । यस्तै, भिक सार्कीले ४०, लोकेश बमले २३, सुसन भारीले १६ र कप्तान विनोदले १० रनको योगदान दिए । 

बागमतीका गौतम केसी एक्लैले पाँच विकेट लिए । १० ओभरमा एक मेडन निकालेका उनले ६१ रन खर्चिए । रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिनले थप एक–एक विकेट लिए ।