मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १३ मंगलबार
  • Friday, 22 November, 2024
किरण दहाल काठमाडौं
दिपेश शाही काठमाडौं
नवीन प्यासी काठमाडौं
२o७७ माघ १३ मंगलबार o१:५२:oo
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनमत कुल्चिएर पशुपतिको पाउमा

Read Time : > 8 मिनेट
किरण दहाल, काठमाडौं
दिपेश शाही, काठमाडौं
नवीन प्यासी, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १३ मंगलबार o१:५२:oo

जनताको अमूल्य मतबाट निर्वाचित संसद् विघटन गरेका प्रधानमन्त्री ओलीले देश, जनता र चराचर जगत्को शान्तिका लागि भन्दै पशुपतिनाथमा पूजा गरेका छन् । एक लाख २५ हजार बत्ती बालेर उनले अर्चना गरेको केही घन्टामा शान्तिपूर्ण मार्चमा निस्किएका नागरिक अभियन्तालाई लाठी र पानीको फोहोरा हानेर घाइते बनाइएको छ ।

......

जनताको अमूल्य मतबाट निर्वाचित प्रतिनिधिहरूको सभा नै विघटन नै गरेका प्रधानमन्त्री केपी ओलीको सरकार नागरिकमाथि दमनमा उत्रिएको छ । प्रतिगमनविरुद्ध ‘बालुवाटार मार्च’मा निस्किएका अभियन्ताहरूमाथि लाठी र पानीको फोहोरा हानेर प्रहरीले कैयौँलाई घाइते बनाएको छ । 

सोमबार दिउँसो २ बजे बृहत् नागरिक समाजको अगुवाइमा ‘फ्लास मोब’का अभियन्ता, कमलपोखरी बचाऊ अभियान अगुवा कमलपोखरीमा जम्मा भएका थिए । पोखरीको पुरातात्विक पहिचान मासेर क्रंकिटको बनाउन लागिएको विरोधमा उनीहरूले कमलपोखरीको माटो उठाएर टीका लगाएका थिए । 

सयौँको संख्यामा उपस्थित अभियन्ताले माटोको टीका लगाएर प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउँदै मार्चपास सुरु गरेका थिए । नक्साल हुँदै अघि बढेका उनीहरूको गन्तव्य थियो बालुवाटार । प्रधानमन्त्रीनिवासअगाडि सडकमा धर्ना दिने उनीहरूको योजना थियो । तर, हातमा लाठी बोकेका प्रहरी पनि सँगै गइरहेका थिए । अभियन्ता भने नारा लगाउँदै संयमित रूपम अघि बढिरहेका थिए । 

भाटभटेनीअगाडि पुुगेपछि मात्र अभियन्ताहरूलाई थाहा भयो, प्रहरीले ‘ब्यारिकेड’ लगाएर बालुवाटारतर्फको सडक अवरोध गरिसकेको थियो । नागरिक समाजले भाटभटेनीको पीपलबोटमा कोणसभा ग¥यो । ‘फ्लास मोब’का किशोरीहरूले केही क्षण नारा लगाए, गायक प्रदीप देवानले गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन एकपटक आउँछ...’ बोलको गीत प्रस्तुत गरे । शिल्पी थिएटरले सडकनाटक प्रस्तुत गरेको थियो भने प्रणिका कोयूले कविता वाचन गरिन् । 

कोणसभामा बोल्दै मानव अधिकारकर्मी मोहना अन्सारीले सुरुमै प्र्रश्न गरिन्, ‘हामीलाई बालुवाटारको गेट हेर्नेसमेत अनुमति किन छैन ?’

संविधानको रक्षा नागरिकले गर्ने र नागरिकको रक्षा प्रहरीले गर्नुपर्ने भन्दै उनले सुरक्षाकर्मीलाई सोधिन्, ‘हामी कमलपोखरीबाट बालुवाटारसम्मको मार्चमा आएका हौँ । हामी शान्तिपूर्ण प्रदर्शनमा छौँ । तर, नागरिक अधिकारको रक्षा गर्न तपाईंहरूले सडक बन्द गर्नुभएको हो ? प्र्रहरी साथीहरूले जति छेकेर बसे पनि बालुवाटार जनताको हो, जनता त्यहाँ पुग्छन् ।’

अभियन्ता डा. गोविन्द केसीले सडककै भाषाले ०४६ साल, ०६२÷६३ सालको परिवर्तन सम्भव भएकाले तानाशाही प्रवृत्ति नदेखाउन कामचलाउ प्रधानमन्त्रीलाई चेतावनी दिए । उनले भने, ‘जनताले ज्यानको आहुती दिएर ल्याएको संविधानलाई कुल्चिएर केपी ओली श्री ७ महाराज बने । ऊनी (ओली) सडकको भाषा सुन्दैनन् । तर, उनलाई सुन्ने बनाइन्छ,’ डा. केसीको भनाइ थियो । 

साहित्यकार खगेन्द्र संग्रौलाले न्याय र सत्यको यात्रा सधैँ कठिन हुने, तर प्राप्ति मिठो हुने बताउँदै भने, ‘नेपाली जनताले श्री ३, श्री ५ दासता अस्वीकार गरे । खड्गप्रसाद कत्रो ठूलो महाराज हो ?’

नागरिक समाजका अभियन्ता नारायण वाग्लेले अविश्वासको प्रस्ताव आउन लाग्यो भनेर प्रधानमन्त्री ओलीले संसद् नै विघटन गरिदिएको बताए । ‘अविश्वासको प्रस्ताव ल्याउन थाले, मलाई हटाउन खोजे । अझ खाली खुट्टा हिँडाएर बालकोट पठाउन खोजे भन्ने टिप्पणी सुनियो,’ वाग्लेले सोधे, ‘हिजोको शासक नारायणहिटीबाट नागार्जुन जान हुने, आजका ओली बालुवाटारबाट बालकोट जान नहुने ?’

वाग्ले ‘शान्तिपूर्ण तरिकाले बालुवाटार घेराउ गर्न जाऔँ’ भनेपछि मार्च अघि बढ्यो । तर, रोक्न प्रहरी तम्तयार थियो । प्रहरीले रोक्न खोज्यो । तर, नागरिक रोकिएनन् । 

मार्च थप ५० मिटर अगाडि मात्र के पुगेको थियो, प्रहरीले लाठीचार्ज सुरु ग¥यो । प्रहरीले बर्साएको लाठीले वाग्ले, अन्सारी, सिएन थारू, रमेश भट्टराई, निर्घराज जैसी, संघर्ष दाहाल, कुमार बर्तौला, स्वर्णिम दिनेश, नरेन्द्र श्रेष्ठ, राजेन्द्र महर्जन, प्र्रकृति भट्टराईलगात अभियन्ताहरू त्यहीँ लडे । अन्य आन्दोलनकर्मीमाथि पनि प्रहरीको लाठी बर्सिरह्यो । घाइतेहरूलाई अन्य अभियन्ताले उठाएर छेउमा ल्याए । 

अभियन्ताहरू फेरि सम्हालिएर अघि बढ्न थाले । तर, त्यतिन्जेलमा पानीको फोहोरा फाल्ने ‘वाटर–क्यानन’ ल्याइसकिएको थियो । अघि बढ्न खोज्दा वाग्ले, सञ्जीव उप्रेती, युग पाठक, संगीत स्रोतालगायतलाई सीधा ताकेर पानीको फोहोरा हानियो । वाग्ले फेरि त्यहीँ ढले । 

नारा लगाइरहेका नवराज गुरुङ, अरुणदेव जोशी, बच्चु हिमांशुलगायत पनि पानीको फोहोराले ढले । तर, प्रहरीको ज्यादती रोकिएन । आन्दोलनकर्मीलाई लखेटेर उनीहरूले भाटभटेनीसम्म ल्याए । त्यहीँ फेरि कोणसभा भयो, जहाँ वाग्लेले भने, ‘यो दमन हो, ज्यादती हो । यही बिन्दुबाट तेस्रो जनआन्दोलन सुरु भएको छ ।’ उनले सरकारको दमनप्रति खेद प्रकट गर्दै घाइतेहरूको उपचार सरकारले होइन, नागरिक आफैँले गर्ने घोषणा पनि गरे । 

निर्घराज जैसी गम्भीर घाइते छन् । शिक्षण अस्पतालमा उपचाररत उनलाई राति १० बजे मात्र उनको होस आएको छ । अरू घाइते भने उपचारपछि घर फर्किएका छन् । जनक ढुंगाना, सुरज तामाङ, कुलदीप शर्मा, सुनील श्रेष्ठ र गोविन्द भण्डारीको शिक्षण अस्पतालमै सामान्य उपचार भएको छ । संघर्ष दाहाल, कुमार बर्तौला, स्वर्णिम दिनेश, राम नरेश यादवलगायतको उपचारका लागि मोडेल अस्पताल बागबजारमा लगिएको थियो । 

प्राध्यापक रमेश भट्टराई हेल्पिङ ह्यान्ड अस्पताल चाबहिलमा सामान्य उपचारपछि घर फिरेका छन् । तराई–मधेस राष्ट्रिय परिषद्का सदस्य सिएन थारू र फोटोग्राफर नरेन्द्र श्रेष्ठको हिमाल अस्पतालमा उपचार भयो ।

लाठीचार्ज र पानीको फोहोरा हानेर नागरिकलाई निराश बनाउने ओली सरकारको नियत भए पनि आफूहरू पछि नहट्ने थारूको भनाइ छ । ‘नागरिकको आवाजलाई सरकारले चुनौतीका रूपमा लिएको छ, यसको मतलब ओलीले आफूबाट गल्ती भएको महसुस गरेका छन्,’ थारूले नयाँ पत्रिकालाई भने, ‘दमनले नागरिक रोकिँदैनन्, डटेर प्रतिरोध गर्छन् ।’

प्रहरीले टाउकोमा लाठी हान्दा निर्घराज जैसी गम्भीर घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा मास्टर्स अध्ययनरत जैसी घटनास्थलमै बेहोस भएपछि शिक्षण अस्पताल लगिएको थियो, अबेर राति मात्र उनको होस आएको छ । ‘सिटी स्क्यानमा आन्तरिक रक्तस्राव देखिएको छ, ढाडमा भित्री चोट लागेको छ,’ स्वास्थकर्मीको भनाइ छ । तस्बिर सौजन्य : हिमांशु घिमिरे

नागरिक आन्दोलनलाई चुप लगाएपछि मनमौजी गर्न पाइने भएकाले सरकार दमनमा उत्रिएको अभियन्ता प्रकृति भट्टराईको भनाइ छ । ‘नागरिक आन्दोलनका अगुवाहरूलाई छानीछानी लाठी र फोहोरा बर्साइएको छ । यसरी दमन गरेर सत्तामा आफूलाई टिकाइराख्न चाहन्छ ओली सरकार । तर, जति दमन भयो, हामी उति उठ्नेछौँ,’ उनले भनिन् । 

प्रहरीले गरेको व्यवहारलाई ओलीको अत्याचार भन्छन् नागरिक आन्दोलनका संयोजक युग पाठक । शान्तिपूर्ण रूपमा बालुवाटारलाई चुनौती दिन खोज्दा राज्यले षड्यन्त्रपूर्वक आक्रमण गरेको पाठकको दाबी छ । ‘एक निरंकुश शासकले जे मन लाग्यो त्यही गर्ने, लोकतन्त्र र जनताको अधिकारमाथि हस्तक्षेप गर्ने, यो सह्य छैन भनेर बालुवाटार मार्च राखेका हौँ,’ उनले भने, ‘यो मार्च निरंकुशता र प्रतिगमनको प्रतीक बालुवाटारलाई चुनौती हो । आफँै श्रीपेच लगाएका ओेलीले शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमन गरे, तर आन्दोलन रोकिँदैन ।’

त्यस्तै, बृहत् नागरिक आन्दोलनका तर्फबाट सोमबार साँझ विज्ञप्ति जारी गर्दै नागरिक अगुवाहरूले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेका छन् । ‘नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको छ । सरकारी रबैयाको बृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ,’ आन्दोलनले भनेको छ, ‘सबैखाले राजनीतिक एवं सांस्कृतिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ ।’

......

प्रधानमन्त्रीले बालुवाटार दरबारलाई घेरेर बस्न सक्नुहुन्छ, तर नागरिकको मार्च रोक्न पाउनुहुन्न

प्रतिगमनविरुद्ध बालुवाटार मार्चको क्रममा नागरिकमाथि लाठीचार्ज भयो, पानीको फोहोरा हानियो, तपाईंमाथि पनि लाठी प्रहार भयो । पानीको फोहोरा तपाईंलाई पनि लाग्यो । तपाईंको स्थिति के छ ? त्यहाँ अरूको स्थिति कस्तो थियो ?

त्यतिवेला त घर पुग्न सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो । पानीको फोहोराले लागेको र लाठी पनि प्रहार भएकाले एकदमै गाह्रो भएको थियो । अहिले त ठिकै छ । त्यहाँ एकजना वृृद्ध लड्नुभएको थियो । लडेको वृद्ध मान्छेलाई बेस्सरी कुटिँदै थियो । उहाँलाई उठाउने वेला मलाई पनि पछाडिबाट कुटे । आन्दोलनमा जानुभएकामध्ये त्यहाँ धेरैजना घाइते हुनुभएको थियो । हामी त सामान्य नागरिक शान्तिपूर्ण रूपमा हिँडिरहेका थियौँ । आफ्नै देशको बालुवाटारमा हिँड्न पनि नपाउने ? किन रोक्न खोजिएको थियो, थाहा थिएन । तर, शान्तिपूर्ण आन्दोलनमाथि प्रहार हुँदा धेरैजना घाइते हुनुभयो । त्यहाँ धेरैजना बोल्न पनि सक्नुभएन । हामी कतिजनाको त कपडा पनि च्यातियो । पछि, हामी हिँडेरै कमलपोखरी फर्कियौँ । 

नागरिकको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले किन यस्तो दमन गरेको होला ? निहत्था नागरिकको प्रदर्शनसँग सरकार डराउनुपर्ने कारण के छ ?

एउटा कुरा के हो भने प्रधानमन्त्री निरंकुशतातिर उन्मुख हुनुहुन्छ । निरंकुश शासक र पद्धतिले नागरिकसँग जहिल्यै पनि भयभीत महसुस गर्छ । धेरैजना साक्षी छन्, हामी कमलपोखरीबाट शान्तिपूर्ण रूपमा अघि बढेका थियौँ । त्यहाँ प्रहरी लगाएर हामीलाई ‘स्कर्टिङ’ गर्नुपर्ने आवश्यकता नै थिएन । बरु, ट्राफिक व्यवस्थापनसम्म गरिदिएको भए हुन्थ्यो । त्यो पनि जरुरी थिएन । हाम्रै साथीले ट्राफिक व्यवस्थापन गरिरहनुभएको थियो । हामीलाई प्रहरी लगाएर, घेरामा राखेर त्यहाँसम्म जान दिइयो । त्यो आवश्यक नै थिएन । विश्वका धेरै मुलुकमा त्यस्ता प्रदर्शन हुन्छन्, जहाँ मानिसहरू शान्तिपूर्ण रूपमा हिँड्छन् । प्रहरीलाई हिँड्नै जरुरी थियो भने पछाडि वा साइड लागेर हिँडेको भए भइहाल्थ्यो । तर, हाम्रो अगाडि बाटो रोक्दैरोक्दै त्यहाँसम्म पुग्न दिइयो ।

अर्को पनि प्रश्न उठेको छ, बालुवाटारमा प्रधानमन्त्री बस्छन्, प्रधानमन्त्रीको निवासअगाडि सडकमा समेत नागरिकले धर्ना दिन नपाइने हो ?

यो त मौलिक हक र संविधानले दिएको अधिकार हो । बालुवाटारसम्म जानै नपाइने, त्यो कुनै पनि कानुनमा लेखिएको छैन । सामान्य नागरिक जोसँग केही पनि छैन, उनीहरू मार्चपास गरेर बालुवाटारसम्म जान्छन् भने प्रधानमन्त्रीलाई किन आपत्ति ? त्यो त नागरिकले शान्तिपूर्ण रूपमा हिँड्न पाउने बाटो हो । उहाँले आफ्नो बालुवाटार दरबारलाई घेरा हालेर बस्नुहुन्छ भने त्यो उहाँको स्वेच्छा हो, तर हामी त्यहाँ हिँड्न पाउनुपर्छ ।

अब यो देशमा शान्तिपूर्ण आन्दोलन गर्न पनि नपाइने अवस्था आयो ? 

हामीले गरेको शान्तिपूर्ण आन्दोलन नै थियो । हामीसँग प्लेकार्ड पनि थिएन, पेपर थियो । प्लेकार्डमा लाठी हुन्छ, हामीसँग लाठी पनि थिएन । त्यो एकदमै शान्तिपूर्ण हिँडाइ थियो ।

नागरिक अभियन्ताले आफैँ खर्च उठाएर आन्दोलन गरिरहको देखिन्छ, यसको सन्देश के हो ?

आन्दोलनमा स्वस्फुर्त रूपमा मानिस आइरहनुभएको छ । नेपालको संविधान २०७२ जारी भइसकेपछि एक किसिमको फरक अनुभूति सबैले गरिरहेका थिए, विभिन्न असन्तुष्टिका बाबजुद पनि । मानिसहरू निर्वाचनमा होमिएका थिए । अब नयाँ व्यवस्था हुन्छ, संविधान संशोधन गरेर भए पनि असन्तुष्टि बिस्तारै सम्बोधन हुँदै जान्छन् भन्ने थियो । तर, एउटा जनादेश प्राप्त निर्वाचित संस्थाले एउटा ‘पिर्यड’ त पार गर्छ नि ! हामीले सुन्यौँ, सांसदहरू जागिर खान आएका होइनन् । हो, जागिर खान आएका होइनन् तर मतादेश लिएर आएका हुन् । सांसदलाई त्यसरी उडाउन मिल्दैन । सांसदको पनि गरिमा हुन्छ । कम्तीमा पनि एउटा व्यवस्था चलाउन पाँच वर्ष त टिक्नुप¥यो नि ! त्यहीँभित्र तपाईंको संघर्ष हुनुपथ्र्याे । 

यतिवेला नागरिक पनि आक्रान्त भएका छन् । कोभिड– १९ को समय छ । भ्याक्सिन किन्नुपर्छ । बजेट खर्च हुन नसकेको एउटा पाटो छँदै छ । नागरिक अनेक समस्यामा छन् । धेरैले रोजगारी गुमाएका छन् । वैदेशिक रोजगारीको अवस्था त्यस्तै विकराल छ । माफिया बसेर शासन व्यवस्था चलिरहेको छ । द्वन्द्वपीडितको नाममा राजनीति भइरहेको छ । यस्तै, कुराबाट आक्रान्त भएका छन् जनता । जति पनि संवैधानिक निकाय छन्, तिनलाई ध्वस्त पारिँदै छ । संविधानभित्र यस्ता प्रक्रिया लेखिएका छन् ? यही कुरा चाहेको हो जनताले ? त्यसकारण, प्रधानमन्त्रीले जुन प्रक्रिया अवलम्बन गरिरहनुभएको छ, त्यो पूर्ण रूपमा गलत हो ।

नागरिकले पटक–पटक आन्दोलन गर्ने, व्यवस्था परिवर्तन हुने, पात्र परिवर्तन हुने तर चरित्र उस्तै रहने यो अवस्था छ नि, यो किन भइरहेको छ ?

मलाई लाग्छ, नागरिक आन्दोलन सधैँ हुनुपर्छ । हरेक दिन नागरिक आन्दोलन हुनुपर्छ । नागरिक आन्दोलन आजका लागि हो, भोलिका लागि होइन भन्ने हुँदैन । आफ्नै जनप्रतिनिधिलाई जवाफदेही र जिम्मेवार बनाउन पनि त्यो आवश्यक छ । लोकतन्त्रमा जवाफदेहिता सबैभन्दा ठूलो कुरा हो । लोकतन्त्रलाई जनताको शासन पनि भनिन्छ नि ! जनताप्रति जवाफदेही त हुनैपर्छ । त्यसकारण नागरिकको खबरदारी, आन्दोलन भनेको यो समय र त्यो समयका लागि भन्ने होइन, हुँदैन ।

नागरिकले हरेक दिन नेतृत्वमाथि खबरदारी गरिरहनुपर्छ भन्नुभएको ?

हो, हरेक दिन खबरदारी चाहिन्छ । एक दिन मात्रै होइन, तीन सय ६५ दिन नै खबरदारी गर्नुपर्छ । आज खबरदारी गरेपछि भोलि गर्नुपर्दैन भन्ने होइन । म नागरिकलाई जवाफ दिन्नँ, पारदर्शी हुँदिनँ भन्न सरकारले पाउँदैन । 

आजै यता प्रहरीले नागरिकमाथि लाठी प्रहार गर्नुअघि प्रधानमन्त्री भने पशुपतिनाथमा पूजाअर्चना गर्दै हुनुहुन्थ्यो, नागरिकको आवाज कुल्चने र देउताको अर्चना गर्ने प्रधानमन्त्रीले के सन्देश दिन खोज्नुभएको होला ? 

प्रधानमन्त्री नकारात्मक सन्देश दिँदै हुनुहुन्छ । आज उहाँको सुरुवात भयो । केही–केहीलाई खुसी बनाउनका लागि उहाँले यस्ताखाले सन्देश दिनुभएको हो कि जस्तो लाग्छ । आफू खुसी हुन उहाँ जे–जे मन लाग्छ त्यही–त्यही गर्दै हिँड्नुभएको छ । योचाहिँ गलत हो ।

धेरैपटक दोहोरिएको अर्को एउटा चिन्ता छ, त्यो के भने, ओलीले संसद् विघटन गरे, उनका विरुद्ध आन्दोलन गरेर भोलि संसद् पुनस्र्थापना भयो भने पनि सत्तामा आउने त यिनै प्रचण्ड, माधव वा देउवा त हुन् नि भन्ने तर्क छ, त्यसो भन्ने नागरिकलाई तपाईं के भन्नुहुन्छ ?

जोसुकै आओस्, तर उसले यो प्रवृत्ति अपनाउनुभएन, जुन प्रवृत्ति अहिलेका प्रधानमन्त्रीले अपनाउनुभएको छ । देउवा, प्रचण्ड, माधव नेपाल वा अरू कोही आउनुहोस्, तर यो अहिलेको प्रवृत्ति आउनुभएन । यो खबरदारी अहिलेका प्रधानमन्त्रीलाई मात्रै होइन, आगामी दिन आउने जुनसुकै प्रधानमन्त्रीका लागि पनि हो । तपाईंले मतादेश प्राप्त गरेर आइसकेपछि त्यसअनुसारको एउटा व्यवस्था त टिक्नुपर्छ । एउटा ‘फेज’ टिक्नुपर्छ । यो सबैका लागि खबरदारी हो । लुकेर देउवाले सहमति गर्न मिल्दैन । अथवा, लुकेर प्रचण्डले पनि सहमति गर्न मिल्दैन । जनताले हरेकको जवाफ खोज्छन् भविष्यमा ।

आन्दोलनबाटै नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गर्नुभयो । तपाईं पनि सुरुदेखि नै आन्दोलनमा हिँडिरहनुभएको छ । यो जनआन्दोलनको एजेन्डा के हो, त्यसको शक्ति के हो ?

यसको शक्ति भनेको नागरिक हो । नागरिकले आफूले चाहेको कुरा प्राप्तिका लागि आधार तय गर्ने भनेको त्यही ‘प्लेटफर्म’ नै हो । जनआन्दोलन– ३ को आवश्यकता नेपालमा सायद छ जस्तो मलाई लागिरहेको छ । हामीले धेरैवटा आन्दोलन देख्यौँ, तर धेरैलाई हामीले अहिले पनि असन्तुष्ट राखेका छौँ । ती व्यक्तिहरूले खोज्ने सन्तुष्टिको ‘फोरम’ पनि त्यही हो । सम्भावनाकै कुरा गर्ने हो भने यही आन्दोलन पनि तेस्रो जनआन्दोलनको रूपमा विकसित हुन सक्छ ।

......

देश, जनता र चराचर जगत्को शान्तिका लागि प्रधानमन्त्री ओलीबाट पशुपतिमा पञ्चामृत पूजा 

देश, जनता र चराचर जगत्को सुख र शान्तिको कामना गर्दै प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेका छन् । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा पहिलोपटक भएको हो । 

पूजाका निम्ति प्रधानमन्त्री ओली बिहान ८ः४० मा पशुपतिनाथ पुगेका थिए । ‘मन्दिर परिसर दर्शनपछि ९ः१० पूजा सुरु भयो । करिब आधा घन्टा पूजा कार्यक्रम चल्यो । यस क्रममा उहाँले चराचर जगत् र राष्ट्रशान्तिको कामना गर्नुभयो,’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नयाँ पत्रिकासँग भने । 

प्रधानमन्त्री ओलीले एक लाख २५ हजार दीप पनि प्रज्ज्वलन गरेका थिए । ‘यस्तो पूजा गर्दा कोषले सर्वसाधारणका लागि २५ हजारदेखि ५२ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । तर, प्रधानमन्त्री कोषका संरक्षक हुनुहुन्छ, त्यसैले उहाँका लागि सम्पूर्ण पूजासेवा निःशुल्क उपलब्ध गराइएको हो,’ कार्यकारी निर्देशक डा. खतिवडाले भने । 

पूजामा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, पर्यटन, नागरिक उड्ययन तथा संस्कृतिमन्त्री भनुभक्त ढकाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई पनि सहभागी थिए ।

......

बालुवाटार मार्चको क्रममा भएको दमनको प्रचण्ड–नेपाल समूहद्वारा भत्र्सना

नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध बृहत् नागरिक समाजले गरेको बालुवाटार मार्चको क्रममा भएको दमनको भत्र्सना गरेको छ । पार्टी प्रवक्ता नाराणणकाजी श्रेष्ठले सोमबार अबेर विज्ञप्ति जारी गर्दै नागरिक समाजले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

‘लोकतन्त्रको स्थापना र संविधानको निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविष्मरणीय छ । नागरिक समाजका तिनै अगुवाहरू आज संविधान र लोकतन्त्रको रक्षाका निम्ति संघर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदांगो भएको छ,’ प्रवक्ता श्रेष्ठको विज्ञप्तिमा छ, ‘यसबाट संघर्षको आवश्यकता र औचित्य झन् बढेर गएको स्पष्ट छ । तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गर्न, प्रतिगामी षड्यन्त्रलाई पूर्ण रूपमा असफल पार्न र संविधान एवं लोकतन्त्रलाई रक्षा गर्न सम्पूर्ण राजनीतिक पार्टीहरू, नागरिक समाज र आमजनसमुदायलाई एकताबद्ध भएर संघर्षलाई अझ सशक्त रूपमा अगाडि बढाउन अपिल गर्दछ ।’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रहरी दमनबाट घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।