Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १२ सोमबार १७:३१:००
Read Time : > 1 मिनेट
खेलकुद

प्रधानमन्त्री कप : सेमिफाइनल समीकरण पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १२ सोमबार १७:३१:००

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार भएको समूहगत चरणका अन्तिम खेलसँगै प्रतियोगिताको अन्तिम चारमा प्रतिस्पर्धा गर्ने टोली निश्चित भएका हुन् । 

यसअघिका प्रतियोगिताजस्तै यसपटक पनि विभागीय टोलीको वर्चश्व देखिएको छ । तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, एपिएफ र नेपाल पुलिस क्लबले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । बागमती प्रदेश शीर्ष चारमा विभागीयबाहेकको एक्लो टोली हुनेछ ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । एपिएफ समूह ‘ए’को विजेता र पुलिस समूह ‘बी’को उपविजेता टोली हो ।

यस्तै, बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशले आर्मीसँग खेल्नेछ । बागमती समूह ‘बी’को विजेता र आर्मी समूह ‘ए’को उपविजेता टोली हो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । सेमिफाइनलदेखि सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । समूहगत चरणका खेल मूलपानी मैदानमा पनि भएको थियो । 

एपिएफ समूहविजेता 
एपिएफ समूह ‘ए’को विजेता टोली बनेको छ । सोमबार भएको खेलमा अर्काे विभागीय टोली आर्मीलाई ६ रनले पराजित गर्दै एपिएफ समूहविजेता बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभर सकिनु अन्तिम दुई बलअघि सबै विकेट गुमाएर दुई सय ४० रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको आर्मीले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ३४ रन मात्रै जोड्न सक्यो ।

आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डलले ४५ रन जोड्नबाहेक अन्य खेलाडीले त्योभन्दा ठूलो योगदान गर्न सकेनन् । राजेश पुलामीले ३३, रोहित पौडेलले ३०, भीम सार्कीले २७ र लोकेश बमले २१ रनको योगदान दिए । साहब आलम २० र आकाश चन्द १६ रनमा अविजित रहे ।

त्यसअघि एपिएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ प्रहार गरेका थिए । यस्तै, प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर रौटेलाले २६, कप्तान शरद भेषावकरले २४ र वसन्त रेग्मीले २० रन जोडे । 

बलिङतर्फ आर्मीका हरि चौहानले पाँच विकेट लिए ।  ९.४ ओभरमा एक मेडन निकालेका उनले ६० रन खर्चिएका थिए । उनीबाहेक शाहब आलमले दुई विकेट लिए । यस्तै, एपिएफका कमल ऐरीले तीन र भुवन कार्कीले दुई विकेट लिए ।