एक वर्षअघि सुरु भएर विश्वभर आतंक मच्चाएको कोभिड–१९ को महामारी खोप प्रयोगमा आउन थालेसँगै कमजोर हुँदै जाने आशा गरिएको छ । खोपको उत्पादन, वितरण र उपलब्धताको मात्राका कारण अहिले नै यो पूर्ण रूपमा नियन्त्रणमा आउन नसके पनि बिस्तारै सबै जोखिमयुक्त समूहमा खोप पुग्ने सम्भावना भने बढेको छ । विभिन्न अनुसन्धान संस्था र खोप उत्पादन गर्ने कम्पनीहरूको सहकार्यमा खोप उत्पादन भइरहेका छन् र सरकारहरू यसलाई जतिसक्दो छिटो आफ्ना नागरिकसम्म पुर्याउन प्रयत्नरत छन् ।
खोपहरू विवादरहित र पूर्ण सुरक्षाको प्रत्याभूति गरिसकेका छैनन्, तर ९० प्रतिशतसम्म विश्वसनीयता हासिल गरेका खोपले महामारीले होइन, मानिसहरूको प्रयत्नले जित्छ भन्नेचाहिँ प्रमाणित गरेको छ । पछिल्लो समय खोपले केवल उपचार र यसमा लाग्ने खर्चको मात्र अर्थ बोक्न भने छाडेको छ । यो कूटनीति प्रभाव विस्तारको एउटा हतियार बनेको छ । अघिल्लो साता मात्र नेपालमा भारतले उपलब्ध गराएको १० लाख मात्रा खोप आइपुगेको छ ।
आउने सातासम्ममा नेपालमा सबैभन्दा जोखिम समूहमा रहेका चार लाखजनाले खोप पाउन सक्नेछन् । स्वास्थ्यक्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीदेखि सफाइकर्मीसम्मलाई पहिलो प्राथमिकतामा राखेर सरकारले खोप वितरणको कार्यविधि बनाएको छ । यसले कोरोना संक्रमणलाई नियन्त्रण गर्न र जोखिम कम गर्न मद्दत गर्नेछ ।
बिस्तारै उच्च जोखिम समूहका अरू नागरिकले पनि खोप पाउन सक्ने गरी खरिद गर्न सरकारले भारतसँग थप कुरा गरेको जनाएको छ । भारतले नेपाललगायत दक्षिण एसियाका भुटान, बंगलादेश र माल्दिभ्सलाई पनि विभिन्न परिणाममा खोप उपलब्ध गराएको छ । आफ्नै देशका नागरिकहरूलाई खोप लगाउन पर्याप्त उत्पादन नहुँदै छिमेकमा खोप उपलब्ध गराउन भारतले गरेको प्रयास सफ्टपावर डिप्लोमेसीको महत्वपूर्ण पक्ष हो भनेर बुझ्न कठिन छैन । युरोपतिर उत्पादन गरिएको खोप खरिद गरेर नेपाल ल्याउन र वितरण गर्न जे–जति कठिनाइ थियो, त्यसलाई भारतको सहयोग र भारतमा उपलब्ध हुन सक्ने थप खोपको सम्भावनाले सहज बनाइदिएको छ ।
युरोपतिर उत्पादन गरिएको खोप खरिद गरेर नेपाल ल्याउन र वितरण गर्न जे–जति कठिनाइ थियो त्यसलाई भारतको सहयोग र भारतमा उपलब्ध हुन सक्ने थप खोपको सम्भावनाले सहज बनाइदिएको छ
भारतकै कारण नेपालजस्तो गरिब देशले पनि झन्डै पहिलो चरणमा नै खोप पाउन सकेको भन्ने सन्देश यसले प्रवाहित पनि गरेको छ । यसअघि चीनले पनि नेपाललाई आवश्यक खोप उपलब्ध गराउने भन्दै संस्थागत रूपमा धेरैपटक कुरा गरिसकेको थियो । तर, इन्डोनेसिया, फिलिपिन्स, टर्की, बहराइनलगायतका देशमा चिनियाँ खोप प्रयोगमा आइसक्दा पनि नेपालमा भने चिनियाँ खोप कहिले र कसले ल्याउँछ भन्ने टुंगो लागेको छैन । यसको अर्थ खोपमार्फत फैलाउन खोजिएको प्रभावको कूटनीतिक दाउपेचमा दक्षिण एसियामा भारतले चीनलाई मज्जाले उछिनेको भन्ने नै लाग्छ ।
चीनले पाकिस्तानलाई भने खोप उपलब्ध गराएको छ । सम्भवतः चीन नेपालमा पनि आफ्नो देशमा उत्पादित भ्याक्सिन उपलब्ध गराउने प्रयासमा छ, तर नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण नेपाल सरकारको प्राथमिकतामा चीनको भ्याक्सिन नपरेको हुन सक्छ, जसले नेपाल–चीन सम्बन्धलाई समेत कतै न कतै प्रभाव पार्न सक्छ ।
नेपालले यो भू–राजनीतिक दाउपेचमा आफूलाई अप्ठ्यारो पर्ने गरी एउटा देशतिर मात्र झुकेको देखिनुचाहिँ हुँदैन । भारतबाट पाएजति लिने, अनुदानमा भए पनि र बजारबाट खरिद गरेर भए पनि ल्याउने । चीनबाट पनि त्यो सम्भावना खुलै राख्ने र अनुदान या खरिद गरी ल्याउन सम्भव भए तत्काल पहल गर्ने र जतिसक्दो छिटो नेपाललाई कोरोना संक्रमणको भयबाट मुक्त गर्ने उपाय अपनाउनु आवश्यक छ । कमसेकम अर्थतन्त्र र समाजका सबै पक्षलाई कोरोनाबाट मुक्त गर्न पनि यो उपाय अपनाउनु आवश्यक छ ।