१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ माघ १० शनिबार १०:००:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

दलित बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद सजाय 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ माघ १० शनिबार १०:००:००

दलित बालिका बलात्कार गर्ने चारजना अभियुक्तलाई जिल्ला अदालत धनकुटाले जनही एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसहित १८ वर्ष कैद सजाय सुनाएको छ । धनकुटा नगरपालिका– ६ चानुवाका ५० वर्षीय मदन अधिकारी, ५२ वर्षीय गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका ५५ वर्षीय भक्तबहादुर मगरलाई अदालतले क्षतिपूर्तिसहित १८ वर्ष कैद सजाय सुनाएको हो । 

उनीहरू सुस्तमनस्थिति भएकी १४ वर्षीया दलित बालिकाको सामूहिक बलात्कार गरेको अभियोगमा थुनमा छन् । जिल्ला न्यायाधीश फणिन्द्र नेपालको इजलासले मुलुकी अपराध संहिताको दफा २१९ अनुसार यस्तो फैसला गरेको हो । 

अदालतले शिक्षक पेसामा रहेका अधिकारीलाई थप ६ महिना कैद र थप ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । अधिकारी धनकुटा गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । पीडित बालिका उनकै विद्यालयमा कक्षा ८ मा अध्ययन गर्थिन् । सजाय पाएका श्रेष्ठ धनकुटाको सिरानबजारमा खाजा पसल सञ्चालक हुन् । अत्री स्थानीय व्यवसायी र मगर नगरपालिकाका पूर्वकर्मचारी हुन् । अधिकारी अखिल नेपाल शिक्षक संघ प्रदेश १ का पूर्वमहासचिवसमेत हुन् । घटनालगत्तै फरार भएका अधिकारीले चौतर्फी दबाबपछि प्रहरीमा आत्मसमर्पण गरेका थिए । 

आमा नभएकी, बाबुले पनि कान्छी श्रीमती ल्याएकी र आर्थिक अवस्था दयनीय भएकी ती बालिका विद्यालय जानबाट वञ्चित हुँदै आएकी थिइन् । उनलाई चारैजनाले ललाइफकाइ तथा डर–धम्की दिएर यौनशोषण गर्दै आएका थिए । बालिका पाँच महिनाको गर्भवती भएपछि घटना बाहिर आएको थियो । घटना सार्वजनिक भएपछि बालिकालाई तीन लाख रुपैयाँ दिएर मिलापत्र गराई बलात्कारीलाई जोगाउन खोजिएको थियो ।

तर, नैन विश्वकर्मा, कोपिला शंकर, अमर बराइलीलगायत दलित र महिला अधिकारकर्मीले दोषीलाई सजाय दिलाउन संघर्ष गरेका थिए । उनीहरूकै पहलपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । गत २१ जेठमा सरकारी वकिलको कार्यालय धनकुटाले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । 

पीडित बालिका छोरीसँगै संरक्षणगृहमा 
दलित बालिका बलात्कार गर्ने चारजनालाई धनकुटा जिल्ला अदालतले दिएको सजाय न्यायपूर्ण भएको अधिकारकर्मीले बताएका छन । अधिकारकर्मी कोपिला शंकरले प्रहरी, न्यायाधिवक्ता र न्यायाधीश सबैले गरिब दलित बालिकाको पक्षमा न्याय गरेको अनुभूति भएको बताइन् ।

आफूलाई पढाउने शिक्षक र बाबुसमानका अगुवाबाट यौनशोषणमा परेकी बालिकाको गर्भबाट जन्मिएकी छोरी स्याहार गरेर संरक्षणगृहमा बसिरहेकी छिन् । उनले गत भदौमा जटिल शल्यक्रियापछि सात महिनाको गर्भबाट कोशी अस्पताल विराटनगरमा छोरी जन्माएकी थिइन् ।

अदालतमा प्रतिवादी कानुन व्यवसायीले छोरी र आरोपितको डिएनए परीक्षण गर्नुपर्ने र जोसँग डिएनए मेल खान्छ उसलाई मुख्य बलात्कारी मानेर सजाय गर्नुपर्ने माग दाबी गरेका थिए ।